काठमाडौँ । गुगलले आफ्नो एआई टुल नोटबुकएलएम (NotebookLM) को मोबाइल एप ल्याउने भएको छ । कम्पनीले चाँडै नै नोटबुकएलएमको मोबाइल एप रिलिज गर्ने भएको हो ।

एपले प्रयोगकर्ताहरूलाई यो टुल सजिलै प्रयोग गर्ने सुविधा दिनेछ । हाल, नोटबुकएलएम वेबसाइटमा मात्र प्रयोग गर्न सकिन्छ । तर डेडिकेटेड एपको रूपमा आउने भएपछि त्यसले प्रयोगकर्ताको अनुभवलाई अझ राम्रो बनाउनेछ ।
एक्समा एक पोस्ट राख्दै गुगलको सम्बन्धित टिमले नोटबुकएलएम एप चाँडै आउने जानकारी दिएको हो । नोटबुकएलएम सुरु देखि नै वेबसाइटको रूपमा उपलब्ध छ । कम्प्युटर ब्राउजरबाट त्यसमा फाइलहरू/स्रोतहरू लोड गर्न र प्रश्नहरू सोध्न सजिलो भएकोले सामान्यतया त्यो ठिकै लाग्छ । तर केही अवस्थामा प्रयोगकर्ताहरूले यसलाई यात्राको क्रममा पनि प्रयोग गर्न चाहेका हुन सक्छन् ।
त्यसो त गुगलको वेबसाइट स्मार्टफोनमा पनि राम्रैसँग काम गर्दछ र प्रयोगकर्ताहरूले यसलाई प्रोग्रेसिभ वेब एप (PWA) को रूपमा पनि सेभ गर्न सक्छन् । तर, छुट्टै एपको रूपमा उपलब्ध हुँदा त्यसले प्रयोगकर्ताको अनुभवलाई अझ राम्रो बनाउने अपेक्षा गर्न सकिन्छ ।

नोटबुकएलएमले गुगलका एआई मोडेलहरूलाई प्रयोगकर्ता आफैँले अपलोड गरेका डकुमेन्ट तथा सोर्सहरूमा सीमित रहेर काम गर्ने सुविधा दिन्छ । यो टुल ठुला ठुला डकुमेन्टहरूको सारांश तयार पार्न, स्रोत सामग्रीको बारेमा विशेष प्रश्नहरू सोध्न, र प्रदान गरिएको जानकारीको आधारमा नयाँ विचारहरू सिर्जना गर्न उपयोगी छ ।
यो विशेष गरी विद्यार्थी, अनुसन्धानकर्ता, लेखक, र धेरै स्रोतमा रहेका जानकारीलाई गहिरो रूपमा बुझ्न र संश्लेषण गर्न चाहने जो कोहीको लागि व्यक्तिगत एआई असिस्टेन्टको रूपमा डिजाइन गरिएको हो ।
यो एप कस्तो होला भन्ने बारेमा खासै जानकारी उपलब्ध छैन । तर गुगलले जेमिनाई एप जस्तै नेटिभ एपमा काम गरिरहेको हुन सक्ने अनुमान गरिएको छ । यो चाँडै आउन सक्ने बताइएको छ । यसको अर्थ बढीमा केही महिना पनि लाग्न सक्छ ।
पछिल्लो अध्यावधिक: चैत २७, २०८१ १६:२१
सामाग्री श्रोत :
टेक पाना