काठमाडौँ । अब डिजिटल वालेट खल्तीका प्रयोगकर्ताहरूले बिना धितो इन्स्योरेन्स प्रिमियमकै आधारमा कर्जा लिन सक्ने भएका छन् । सूर्य ज्योति लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा कम्पनीले यो नयाँ सुविधा सार्वजनिक गरेको हो ।

यससँगै सूर्य ज्योती लाइफ इन्स्योरेन्सको प्रिमियम भएका ग्राहकले घरैबाट तुरुन्तै आफ्नो खल्ती वालेटमा ५० हजार रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्नेछन् । बीमा पोलिसीमा उल्लिखित नम्बर र खल्ती अकाउन्ट खोलिएको नम्बर मिलेमा प्रयोगकर्ताहरू यस किसिमको ई-कर्जाका लागि योग्य हुने बताइएको छ ।
कागजी प्रक्रियाको झन्झट र लाइन बस्नुपर्ने बाध्यता बिना अनि अनावश्यक समय बर्बाद नगरिकनै कर्जा प्राप्त गर्न सकिने बताइएको छ । सूर्य ज्योति लाइफ इन्स्योरेन्सको प्रणालीमा खल्ती प्रत्यक्ष रूपमा जडान भएकाले कर्जाको योग्यता र विवरण खल्ती एपबाटै मापन हुने सुविधा रहेको छ ।
आपत पर्दा अनलाइनबाटै सजिलै र तुरुन्तै निकाल्न सकिने ई-कर्जा लिन ३ वर्ष पूरा भएर ३ वर्षको बीमा शुल्क तिरेको हुनुपर्ने बताइएको छ । सरेन्डर भ्यालुको ९० प्रतिशत वा अधिकतम ५० हजार रुपैयाँसम्मको कर्जा लिन सकिने छ ।

त्यसका लागि केवाईसी अपडेट हुनुपर्ने र कम्पनीले निर्धारण गरेको ब्याजदर लागु हुने लगायतका सर्तहरू लागु हुने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: चैत २७, २०८१ १२:५८
सामाग्री श्रोत :
टेक पाना