काठमाडौँ । नयाँ आयात करबाट बच्न एप्पलले भारत र चीनमा पहिले नै उत्पादन गरिएका उत्पादनहरूलाई तत्कालै अमेरिकामा रहेका आफ्ना गोदामहरूमा पठाएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले घोषणा गरेको १० प्रतिशत नयाँ भन्सार शुल्क ५ अप्रिलदेखि लागु हुँदैछ । सोही शुल्कबाट बच्न एप्पलले यस्तो कदम चालेको हो ।

ढिलाई गर्दा एप्पलले यी उत्पादन अमेरिका भित्र्याउन सोही अनुरूपको थप शुल्क तिर्नुपर्ने हुन्थ्यो । मार्चको अन्तिम साता उल्लिखित परिमाणमा एप्पल उत्पादन ढुवानी भएको मनि कन्ट्रोलले लेखेको छ ।
तीन दिनभित्र आईफोन र अन्य ग्याजेटहरूले भरिएका पाँच ओटा जहाज भारतबाट अमेरिकातर्फ उडेका थिए । नयाँ कर लाग्नुअघि नै सामान गोदाममा पुर्याएर स्टोर गर्न यसरी हतारमा पठाइएको हो । आफ्ना उत्पादनहरू समयमै देशमा ल्याएर, एप्पलले हालकै मूल्यमा बिक्री जारी राख्न सक्छ ।
यसले तत्काल ग्राहकलाई बिक्री गरिने उत्पादनको मूल्य वृद्धि हुनबाट बच्न पनि मद्दत गर्नेछ । एप्पलले भारत वा अन्य देशहरूमा तत्काल मूल्य बढाउने योजना बनाएको छैन । तर यदि अमेरिकाले घोषणा गरेको आयात शुल्क लामो समयसम्म रहेको खण्डमा भने अन्य क्षेत्रमा पनि आईफोन लगायतका एप्पल उत्पादनको मूल्य वृद्धि हुन सक्ने ठानिएको छ ।

भारत एप्पलका लागि विश्वकै एक ठुलो बजार हो । अमेरिकाले ९ अप्रिलदेखि २६% शुल्क थप्ने तयारी गरिरहेकाले एप्पल भारतको अझ बढी भर पर्न सक्छ । किनभने भारतबाट आउने सामानहरूमा चीनको तुलनामा कम आयात कर लाग्नेछ ।
भारतबाट आयात हुने सामानमा लाग्ने कर अमेरिकाले २६ प्रतिशत पुर्याउने घोषणा गरेको छ भने चीनमाथि यस्तो कर ५४ प्रतिशतसम्म हुने बताइएको छ । यसले भारतलाई एप्पलका उत्पादनहरू तयार पार्ने सस्तो विकल्पको रूपमा स्थापित गर्न सक्छ । हाल, एप्पलले भारतमा आईफोन र एयरपड्स बनाइरहेको छ ।
पछिल्लो अध्यावधिक: चैत २६, २०८१ १९:१७
सामाग्री श्रोत :
टेक पाना