काठमाडौं । सार्वजनिक सवारी साधनहरूमा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) जडान अनिवार्य गर्न कार्यविधि बन्ने भएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीलाई व्यवस्थित गरी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कार्यविधि बनाउन लागेको हो ।

विभागले आर्थिक वर्ष २०७७/७८ मा नै यो व्यवस्था लागु गर्ने योजना बनाएपनि कार्यविधि निश्चित नहुँदा कार्यान्वयनमा आउन सकेको छैन । विभागका सूचना अधिकारी गणेशमान सिंह राईका अनुसार जीपीएस कार्यान्वयन र व्यवस्थापनका लागि कार्यविधि अन्तिम चरणमा पुगेको छ ।
“जीपीएस प्रणाली कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा यातायात व्यवसायी लगायत सरोकारवालासँग छलफल भइरहेको छ,” सूचना अधिकारी राईले टेकपानासँग भने, “कस्तो प्रणाली बनाउने, कसरी कार्यान्वयन गर्ने लगायतका विषयमा छलफल भइरहेको छ । छिट्टै नै कार्यविधि मस्यौदा सार्वजनिक हुनेछ ।”
जीपीएस जडान भएपछि सवारी साधनको गति, अवस्था र स्थानको जानकारी लिन र निगरानी गर्न सहज हुने उनले बताए ।

पछिल्लो अध्यावधिक: चैत २६, २०८१ १७:५२
सामाग्री श्रोत :
टेक पाना