काठमाडौँ । मेटाका प्रमुख कार्यकारी निर्देशक मार्क जुकरबर्गले अबको १२ देखि १८ महिनाभित्र कम्पनीको लामा (Llama) प्रोजेक्टका लागि अधिकांश कोडिङको काम एआईले नै गर्ने बताएका छन् । आजको दिनमा एउटा सामान्य डेभलपरले गर्नसक्ने कोडिङ एआईले गर्नसक्ने क्षमता राख्ने उनको धारणा छ ।

चाडैँ नै अहिलेको भन्दा राम्रो कोडिङ गर्ने क्षमता एआईसँग हुने पनि उनको विश्वास छ । एक पोडकास्ट अन्तर्वार्तामा बोल्दै जुकरबर्गले आजको दिनमा एआईले कोडिङलाई अटो-कम्प्लिट गर्न सक्ने भए पनि आउँदा दिनमा एआईले टेस्ट चलाउन, बग पत्ता लगाउन र औसतमा राम्रो प्रोग्रामरभन्दा उच्च गुणस्तरको कोड लेख्न सक्षम हुने बताए ।
उनका अनुसार मेटाले अहिले कोड लेख्ने एआई एजेन्ट र रिसर्च एजेन्ट तयार गरिरहेको छ, जसले विशेषगरी एलएलएएमए (Llama) को अनुसन्धानमा सहयोग पुर्याउने छ । यसैबिच, गुगलका सीईओ सुन्दर पिचाईले पनि हाल गुगलको २५ प्रतिशत कोड एआईबाट लेखिएको जानकारी दिएका छन् ।
ओपनएआई (OpenAI) का सीईओ साम अल्टम्यानले केही कम्पनीहरूमा एआईले ५० प्रतिशतसम्म कोड लेखिरहेको दाबी गरेका छन् । प्रविधि क्षेत्रका ठूला कम्पनीहरूका यी भनाइहरूले अब निकट भविष्यमा कोडिङमा एआईको व्यापक प्रयोग र मानव इन्जिनियरहरूको भूमिकामा परिवर्तन आउने सङ्केत देखिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८२ १२:४६
सामाग्री श्रोत :
टेक पाना