२०८२ माघ १८ शनिबार
LATEST NEWS
२०८२ माघ १८ शनिबार

रोकियो मन्दिरा विश्वकर्माको शव नेपाल पठाउने प्रक्रिया, परिवार थप पीडामा

लिमासोल, साइप्रस

साइप्रसमा उपचारका क्रममा निधन भएकी नेपाली महिला मन्दिरा कुमारी विश्वकर्माको शव नेपाल पठाउने प्रक्रिया हालका लागि रोकिएको छ। शुक्रबार लार्नाकाबाट नेपाल पठाइने तयारी अन्तिम चरणमा पुगेको बेला अचानक प्रक्रिया स्थगित भएपछि परिवार थप पीडामा परेको छ।

शव व्यवस्थापन गर्ने फ्युनरल हाउसले केही प्रशासनिक कारण देखाउँदै ढिलाइ हुने जानकारी परिवारलाई दिएको छ। यसैबीच, उपचार तथा शव व्यवस्थापनमा लागेको खर्चको बीमा दाबी अस्वीकार भएपछि समस्या झन जटिल बनेको हो।

परिवारका अनुसार मन्दिराको मेडिकल रिपोर्टमा ‘मुटु रोगी’ उल्लेख भएकै आधारमा बीमा कम्पनीले खर्च भुक्तानी गर्न अस्वीकार गरेको छ। कम्पनीले मन्दिरा साइप्रस आउँदा पूर्ण रूपमा ‘मेडिकली फिट’ रहेको प्रमाण पेस गर्न परिवारसँग माग गरेको छ। त्यसका लागि नेपालबाट जारी गरिएको प्रारम्भिक मेडिकल रिपोर्ट आवश्यक पर्ने बताइएको छ।

बीमा कम्पनीले मागेको कागजात तत्काल जुटाउन नसक्दा शव पठाउने प्रक्रिया थप लम्बिने सम्भावना देखिएको छ। परिवार अहिले नेपाल र साइप्रस दुवैतर्फ आवश्यक कागजात संकलन गर्न दौडधुपमा लागेको छ।

अचानक आएको यस परिस्थितिले मन्दिराको परिवारमा गहिरो मानसिक, आर्थिक र भावनात्मक दबाब थपिएको छ। एकातिर प्रियजन गुमाएको पीडा, अर्कोतिर खर्च र कागजी झन्झटले परिवार निकै तनावमा परेको छ।

“हामीले शनिबार नै शव नेपाल आइपुग्ने आशा गरेका थियौं, तर प्रक्रिया रोकिँदा झनै पीडादायी बनेको छ।” परिवार का एक सदस्य ले बताए।

परिवारले नेपाली दूतावास, सम्बन्धित निकाय तथा सामाजिक संघसंस्थासँग समस्या समाधानमा सहयोगको अपेक्षा गरेको छ। छिटो प्रक्रिया पूरा गरी शव नेपाल ल्याउन वातावरण बनाउन सबै पक्षले पहल गर्नुपर्ने उनीहरूको माग छ।

यस घटनाले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको बीमा, स्वास्थ्य परीक्षण र आपतकालीन सहयोग प्रणाली अझै पनि कमजोर रहेको तथ्य पुनः उजागर गरेको छ। यस्ता संवेदनशील विषयमा सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने आवाज समुदायमा उठ्न थालेको छ।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट