२०८२ बैशाख ७ आईतवार
२०८२ बैशाख ७ आईतवार

२ लाखभन्दा बढी पर्ने ल्यापटप ६५ हजारमा भन्दै स्क्यामरले दराज मार्केटप्लेसबाटै ठग्न खोजेपछि…

काठमाडौं । ललितपुरका रोनिश महर्जनले केही दिनअघि ई-कमर्स प्लेटफर्म दराजमा बजार मूल्यभन्दा निकै सस्तोमा ल्यापटप बिक्रीका लागि राखिएको देखे । पेशाले कम्प्युटर इन्जिनियर रहेका महर्जनलाई बजारमा उपलब्ध ल्यापटपका विशेषता र मूल्यबारे चासो रहन्छ । दराजमा वास्तविक मूल्यभन्दा तीन गुणा सस्तोमा ल्यापटप राखिएको देखेपछि उनले शंका गरे।

इजीटूड्रप (Easy2Drop) नामक विक्रेताले गेमिङ ल्यापटप (Asus ROG Strix G16 ) ६५ हजार २३५ रुपैयाँमा बिक्रीका लागि राखेको थियो । बजारमा दुई लाखभन्दा बढी मूल्य पर्ने ल्यापटप अत्यन्तै सस्तो मूल्यमा देखेपछि महर्जनले क्यास अन डेलिभरी (सीओडी) विकल्पमा अर्डर गरे ।

अर्डर दिएको भोलिपल्ट उनले दराजको च्याट बक्समार्फत डेलिभरी मितिबारे जानकारी मागे । जवाफमा तोकिएको रकम पहिला भुक्तानी गर्नुपर्ने, त्यसपछि एक-दुई दिनभित्र ल्यापटप डेलिभर हुने भनियो ।

महर्जनले आफूले सीओडी अर्डर गरेको बताएपछि विक्रेताले आफ्नो पसलको नियमअनुसार अग्रिम भुक्तानी गरेपछि मात्रै डेलिभरी हुने बताए । उनले शंका गर्दै च्याटमा थप जानकारी लिन थाले । त्यसपछि विक्रेताले इसेवाको क्यूआर कोड पठाउँदै ६५ हजार ३१० रुपैयाँ भुक्तानी गर्न अनुरोध गरे । तर, महर्जन दराजको आधिकारिक भुक्तानी प्रणालीबाहेक अन्य माध्यमबाट रकम भुक्तानी गर्दा ठगीमा पर्ने जोखिम हुनेबारे सचेत थिए ।

त्यसैले उनले विक्रेतासँग ल्यापटप नयाँ हो वा होइन भन्नेबारे थप जिज्ञासा राखे । विक्रेताले सिल गरिएको बक्सको फोटो पठाउँदै ल्यापटप देखाउन नसकिने बताए । कुराकानीका क्रममा विक्रेताले दराजबाहेक अन्य डेलिभरी सेवा प्रयोग गरेर ल्यापटप पठाइदिने प्रस्ताव पनि राखे ।

महर्जनले इसेवा नचलाउने बताएपछि विक्रेताले मोबाइल बैंकिङबाट इसेवामा रकम लोड गर्ने तरिका सिकाउन थाले । यसै क्रममा ह्वाट्सएपमार्फत पनि सम्पर्क गर्ने प्रयास गरियो ।

अन्ततः महर्जनले नगद लिएर पसलमै आएर ल्यापटप किन्ने प्रस्ताव गरे, तर विक्रेताले आफ्नो पसलको लोकेसन दिन अस्वीकार गरे । विक्रेताले मात्र अनलाइन डेलिभरी गर्ने बताएपछि महर्जनको अर्डर क्यान्सिल गरियो। केही समयपछि दराजमा उक्त ल्यापटपको सूची नै हटाइयो ।

महर्जन दराजमार्फत लामो समयदेखि किनमेल गर्दै आएका थिए । तर यसपालि उनले लगातार दुई पटक यस्तै ठगी प्रयासको सामना गरे । उनले मंगलबार एचपी भिक्टस ल्यापटप ५५ हजार २१४ रुपैयाँमा बिक्रीका लागि राखिएको देखे । जसको बजार मूल्य एक लाखभन्दा बढी छ । उनले च्याटमार्फत जानकारी माग्दा ल्यापटप उपलब्ध रहेको भन्दै अर्डर गर्न भनियो ।

तर, अर्डर दिएपछि विक्रेताले बैंक खाता पठाउँदै त्यसमा रकम ट्रान्सफर गरेपछि मात्र ल्यापटप पठाइने बताए । महर्जनले दराजको नियमअनुसार त्यस्तो भुक्तानी मान्य नहुने भन्दै रकम पठाएनन् । त्यसपछि उनले दराजमा उक्त विक्रेताविरुद्ध उजुरी गरे ।

शुक्रबार उनका सहकर्मीले पनि ल्यापटप अर्डर गर्न खोज्दा विक्रेताले छुट्टै खातामा रकम पठाउन अनुरोध गरेका थिए । महर्जनले आफूले देखेको विक्रेताको पसल पुतलीसडकमा रहेको सम्झेर गुगलमा खोजी गरी सोही पसलमा सम्पर्क गरे । तर, ती व्यवसायीले दराजमा आफ्नो अकाउन्ट ६-७ महिना पहिले नै बन्द गरिसकेको बताएका थिए ।

महर्जनलाई इजीटूड्रप विक्रेताले पठाएको इसेवा खाताबारे अनुसन्धान गर्दा उक्त आईडी एक हार्डवेयर पसलको नाममा दर्ता रहेको पाइयो । इसेवाले शंकास्पद कारोबार देखिएपछि उक्त खाता ब्लक गरिसकेको थियो ।

इसेवाका बिजनेस म्यानेजर सुमेन्द्र रानाका अनुसार कुनै आईडीको कारोबार शंकास्पद देखिएमा वा केवाईसी विवरण गलत पाइएमा खाताहरू ब्लक गरिन्छ । साथै, कुनै प्रयोगकर्ताले गल्तीले अन्य खातामा रकम पठाएमा प्रमाणीकरणका लागि पनि अस्थायी रूपमा आईडी ब्लक हुन सक्छ ।

दराजका कस्टमर केयर प्रतिनिधि रुपेश भट्टराईका अनुसार दराजमा दर्ता भएका विक्रेताका अकाउन्ट ह्याक गरेर ठगी गरिन सक्ने भएकाले ग्राहकहरूले सतर्क रहनु आवश्यक छ । यस्ता समस्या आएमा दराजले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई जानकारी दिने गरेको छ ।

उनले दराजको च्याट बक्समार्फत व्यक्तिगत जानकारी वा भुक्तानीसम्बन्धी विवरण नदिन आग्रह गरे । साथै, अग्रिम भुक्तानी गर्नुपर्ने अवस्थामा दराजको आधिकारिक प्रणालीमार्फत मात्र भुक्तानी गर्नुपर्ने र सामान डेलिभर नभएमा रकम स्वचालित रूपमा फिर्ता हुने जानकारी दिए ।

उनका अनुसार यदि विक्रेताले च्याटमार्फत बैंक खाता वा मोबाइल वालेटमा रकम पठाउन आग्रह गरेमा ठगीको सम्भावना अत्यधिक रहनेछ ।

पछिल्लो अध्यावधिक: चैत १५, २०८१ १९:१३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट