काठमाडौं । भारत सरकारको सहयोगमा मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवन तथा चमेना गृह निर्माण हुने भएको छ।

सो छात्रावास भवन तथा चमेना गृहको शिलान्यास आज भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले संयुक्त रूपमा गरे।
उपप्रमुख श्रीवास्तवले वर्षौँदेखिको भारत–नेपाल विकास साझेदारीको वृद्धि, विस्तार र विविधीकरणमा खुसी व्यक्त गरे। उनले नेपाल सरकार र नेपाली जनताको प्राथमिकतामा आधारित रही साझेदारीलाई थप प्रगाढ र सुदृढ पार्ने भारत सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य सरोकारवालाले भारत सरकारको सहयोगको प्रशंसा गरे।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक कार्यकर्ता र शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको दूतावासले जनाएको छ। ‘नेपाल–भारत विकास सहयोगअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा रु तीन करोड ७६ लाख परियोजना लागतमा छात्रावास भवन तथा चमेना गृह निर्माण हुने भएको छ।
यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी)को रूपमा लिइएको छ। उक्त विद्यालय माथिल्लो मुस्ताङमा रहेको एक मात्र उच्च माध्यमिक विद्यालय हो। यस विद्यालयमा लो–घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका बालबालिका अध्ययनरत छन्।
मुस्ताङमा जारी भ्रमणका क्रममा नियोग उपप्रमुखले लोमान्थाङस्थित लोवो निफुग नामड्रोल नोर्वुलिङ्ग मोनास्टिक स्कूलको समेत भ्रमण गर्नुभएको दूतावासले जनाएको छ। यस स्कूलको छात्रावास भवन पनि भारत सरकारको रु चार करोड १४ लाख परियोजना लागतमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा निर्माण भइरहेको छ।
सन् २००३ यता भारत सरकारले नेपालमा शिक्षा, स्वास्थ्य, सडक र पुल, नदी तालिम, खानेपानी, विद्युतीकरण, कृषि, संस्कृति र समाज कल्याणलगायत विभिन्न क्षेत्रहरूमा ५७३ एचआइसीडीपी अन्तर्गत सहयोग गर्दै आएको छ। यी परियोजनाहरू सातै प्रदेशमा फैलिएका छन्। ५७३ परियोजनाहरू मध्ये ५९ वटा परियोजनाहरू गण्डकी प्रदेशमा छन् जसमध्ये मुस्ताङमा १७ वटा परियोजनाहरू छन्।
सामाग्री श्रोत :