
काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सत्तापक्ष आफ्नो हठबाट पछि नहटेका कारण सोमबार पनि सदन चल्न नसकेको बताएका छन् ।
सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले प्रतिपक्ष लचिलो भएर छलफलमा बसे पनि सत्तापक्ष आफ्नो हठबाट पछि नहटेका कारण सहमति जुट्न नसेको बताएका हुन् ।
गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्नुपर्ने आफूहरुको मागको विषयलाई सत्तापक्षले बेवास्ता गरेको उनले बताए ।
दाहालले प्रतिपक्षीले उठाएका मागका बारेमा एमाले र खासगरि प्रधानमन्त्री केपी शर्मा ओली उदाशिन देखिएको आरोप लगाए ।
सहमतिका लागि प्रतिपक्षी जिम्मेवार बनेको र सबै प्रतिपक्षी दल एकै ठाउँ रहेको उनको भनाइ छ । सांसद दाहालले मंगलबार दिनभर छलफल गरेर सहमतिको अधिकतम प्रयास गर्ने जिकिर गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संघीय अस्पतालमा दुई हजारभन्दा बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिरामीको चापअनुसार लामो समयदेखि थप हुन नसकेकामा अर्थ मन्त्रालयसँगको सहमतिमा स्वास्थ्य जनशक्ति थप गर्न प्रक्रिया अघि बढाएका थिए।
यसका लागि मन्त्रालयका सहसचिव ऋषि आचार्यको नेतृत्वमा आन्तरिक कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले दुई हजार १०२ जनशक्ति थप गर्न सकिने गरी संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन दिएको छ । यसमा अस्पताल तहमा थप गर्न सकिने प्राविधिक जनशक्तिको सङ्ख्या अधिक छ।
पाँच वर्षसम्म हरेक वर्ष जनशक्ति थप्ने गरी तयार पारिएको संगठन संरचनामा देशको सबैभन्दा ठूलो वीर अस्पतालमा ७७७ जनशक्ति थप्नुपर्ने जनाइएको छ। यस्तै, वीरअन्तर्गतकै ट्रमा सेन्टरमा ९० जनशक्ति थप्न सकिने उल्लेख छ।
यसैगरी कान्ति बाल अस्पतालमा ७८, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा १७३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३१७ स्वास्थ्य जनशक्ति थपिने छन्।
यीबाहेक कोशी अस्पतालमा १७२, नारायणी अस्पतालमा ३१८ तथा भेरी अस्पतालमा १७९ जनशक्ति थप हुनेछन् । गजेन्द्रनारायण स्मृति अस्पताल राजविराजमा १४४ जनशक्ति थपिँदा चितवनको भरतपुर अस्पतालले ४६५ जनशक्ति पाउनेछ। डडेल्धुरा अस्पतालमा ५२ तथा औषधि व्यवस्था विभाग र प्रयोगशालामा गरी ४० जनशक्ति थप गर्ने गरी संगठन संरचना गरिएको छ। आज प्रतिवेदन ग्रहण गर्दै मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थामा चाप अत्यधिक भए पनि लामो समयसम्म जनशक्ति थप नहुँदा सेवा दिन कठिनाइ भइरहेको र यस कार्यले केही हदसम्म समस्या समाधान हुने विश्वास व्यक्त गरे।
जनशक्ति पूर्तिपछि विभिन्न अस्पतालमा रहँदै आएका अस्थायी र करारको दरबन्दी घटेर स्थायित्व प्राप्त गर्न मद्दत पुग्ने ठानिएको छ। विसं २०६६ मा केही जनशक्ति थप भए पनि त्यसयता विस्तृत रूपमा संगठन तथा व्यवस्थापन सर्भेक्षण हुन सकेको थिएन। यस प्रतिवेदनको कार्यान्वयनले बढ्दो चाप सामना गर्दै रिक्त जनशक्ति पूर्ति तथा रोजगारी सिर्जनामा समेत मद्दत पुग्ने अपेक्षा गरिएको छ।
सामाग्री श्रोत :
प्रविधि उद्योग वास्तवमा के हो ? के यहाँ सफल हुन कोडिङ अनिवार्य छ ? नेपालमै बसेर कस्ता अवसर छन् र ती अवसरका लागि आफूलाई कसरी तयार पार्ने ? यी प्रश्नहरू केवल सतही जिज्ञासा होइनन्, यी हजारौँ युवाको भविष्यसँग जोडिएका महत्त्वपूर्ण सवाल हुन्, जसको विस्तृत उत्तर यहाँ प्रस्तुत गरिएको छ ।
सबैभन्दा पहिले हामीले ‘टेक इन्डस्ट्री’ लाई एउटा साँघुरो परिभाषाबाट बाहिर निकालेर बुझ्न जरुरी छ । धेरैको बुझाइमा यो केवल कोड लेख्ने वा सफ्टवेयर बनाउने काममा मात्र सीमित छ । तर वास्तविकता त्योभन्दा धेरै फराकिलो छ । प्रविधि उद्योग भन्नाले प्राविधिक उत्पादन (Product) वा सेवा (Service) को विकास, वितरण र व्यवस्थापन गर्ने एक समग्र इकोसिस्टमलाई जनाउँछ । उदाहरणका लागि ‘इसेवा’ एउटा उत्पादन हो भने त्यसलाई सञ्चालन गर्न चाहिने प्राविधिक सहयोग, ग्राहक सेवा र निरन्तरको व्यवस्थापन सेवा हो ।
यस बृहत् उद्योगभित्र मुख्यतया दुई धारका भूमिकाहरू हुन्छन्- कोडिङ र नन-कोडिङ । कोडिङ भन्नाले कुनै निश्चित प्रोग्रामिङ भाषा (जस्तै; Java, Python, JavaScript) वा फ्रेमवर्क प्रयोग गरेर सफ्टवेयरको जग तयार पार्ने काम बुझिन्छ । तर, त्यो जगमाथि सुन्दर र बलियो संरचना बनाउन अन्य धेरै भूमिकाहरू आवश्यक पर्छन्, जुन नन-कोडिङ अन्तर्गत पर्दछन् । जस्तै, प्रोजेक्ट म्यानेजरले परियोजनाको योजना बनाउँछन्, क्वालिटी एसुरेन्स (क्यूए) इन्जिनियरले सफ्टवेयरको गुणस्तर परीक्षण गरेर त्रुटिहरू पत्ता लगाउँछन्, यूआई/यूएक्स डिजाइनरले प्रयोगकर्तालाई सजिलो र आकर्षक देखिने इन्टरफेस डिजाइन गर्छन्, र म जस्तै टेक रिक्रुटरले उपयुक्त प्रतिभालाई उपयुक्त स्थानमा नियुक्त गर्न मद्दत गर्छन् ।
हालसालैको एउटा तथ्याङ्कले नेपालमा नन-कोडिङ पदको माग गत वर्षको तुलनामा १५ देखि २० प्रतिशतले वृद्धि भएको देखाएको छ । यसले के देखाउँछ भने, तपाईंलाई कोडिङ मन नपरे पनि प्रविधि क्षेत्रमा अवसरहरूको कमी छैन ।
नेपालमै बसेर पनि प्रविधि क्षेत्रमा काम गर्ने अवसरहरूलाई म चार प्रमुख श्रेणीमा वर्गीकृत गर्न चाहन्छु :
१. नेपालमै आधारित कम्पनीहरू- जस्तै; एफवान सफ्ट ग्रुप, जसका उत्पादन र सेवाहरू नेपाली बजारका लागि लक्षित छन् ।
२. आउटसोर्सिङ कम्पनीहरू- जस्तै लिपफ्रग, डियरवाक, भेरिस्क, जसले विदेशी ग्राहकको प्रोजेक्ट नेपालमै बसेर सम्पन्न गराउँछन् ।
३. नेपाली प्रतिभालाई सिधै नियुक्त गर्ने अन्तर्राष्ट्रिय कम्पनीहरू- विशेषगरी रिमोट मोडेलमा, विदेशी श्रम ऐनअनुसार काम गराउने ।
४. गिग वर्क वा फ्रिल्यान्सिङ- जहाँ व्यक्ति कुनै निश्चित परियोजनाका लागि स्वतन्त्र रूपमा काम गर्छ ।
यी विभिन्न अवसरहरू देखेर प्लस टु सकेका विद्यार्थीहरूमा बीसीए, बीआईटी वा बीआईएम जस्ता कोर्सहरूमध्ये कुन छान्ने भन्ने अन्योल हुनु स्वाभाविक हो । मेरो सुझाव के छ भने कुनै पनि कोर्सको नामले मात्र तपाईंको भविष्य निर्धारण गर्दैन । कलेजमा भर्ना हुनुअघि पाठ्यक्रमबारे राम्ररी बुझ्नुहोस् । तर अन्तिममा आफूलाई मन परेको विषय छान्नुहोस् । तपाईंले जुनसुकै प्राविधिक कोर्स पढे पनि कलेजको चौंथो वा पाँचौँ सेमेस्टरसम्म पुग्दा तपाईंले आफ्नो वास्तविक रुचि पहिल्याउन थाल्नुहुन्छ । कसैलाई डिजाइनिङको रचनात्मक काममा आनन्द आउन सक्छ, कसैलाई कोडिङको तार्किक प्रक्रियामा । आफ्नो रुचि थाहा पाएपछि युडेमी, कोर्सेरा जस्ता अनलाइन प्लेटफर्मबाट अतिरिक्त ज्ञान र सीप आर्जन गर्न सकिन्छ ।
हामीले नियुक्ति गर्दा फ्रेसरको हकमा सर्टिफिकेटको प्रतिशतभन्दा उनीले कलेजमा गरेका प्रोजेक्ट, ह्याकाथनमा सहभागिता वा गिटहब प्रोफाइल जस्ता व्यवहारिक कुरालाई बढी महत्त्व दिन्छौं । जब तपाईं २-३ वर्ष अनुभवी हुनुहुन्छ, तब डिग्रीभन्दा तपाईंको कामको अनुभव र दक्षताले महत्त्व राख्छ । सिनियर पदमा त माग यति धेरै छ कि हामीले ‘हेड हन्ट’ गरेर मान्छे खोज्नुपर्ने अवस्था छ । तलबको दृष्टिकोणले यो क्षेत्र आकर्षक छ । सामान्यतया सुरुवाती चरणमा (०-२ वर्ष) २० हजारदेखि ५० हजार, २-५ वर्षको अनुभवमा ५० हजारदेखि ९० हजार र पाँच वर्षभन्दा बढी अनुभव भएपछि मासिक एक लाखदेखि दुई लाख वा सोभन्दा बढी कमाउन सकिन्छ । र यो वृद्धिदर अन्य क्षेत्रभन्दा निकै छिटो हुन्छ ।
तर, यी सबै अवसर र आकर्षणका पछाडि केही तीता यथार्थहरू पनि छन् जसलाई नजरअन्दाज गर्न मिल्दैन । नेपालमा इन्टर्नशिप पाउन अझै पनि चुनौतीपूर्ण छ । धेरै कम्पनी इन्टर्नलाई सिकाउन समय र स्रोत खर्च गर्न हिचकिचाउँछन् । यदि अवसर पाइहाल्नुभयो भने कम्पनीले सबै कुरा ‘चम्चाले खुवाएझैँ’ सिकाउँछ भन्ने भ्रममा नपर्नुहोला । तपाईं आफैँ जिज्ञासु, सक्रिय र सिक्न आतुर हुनुपर्छ; आफैँले प्रश्न सोध्ने, आफैँले अनुसन्धान गर्ने र सिनियरबाट काम माग्ने बानी बसाल्नुपर्छ । यद्यपि नेपाली प्रविधि क्षेत्रको सबैभन्दा ठुलो र गम्भीर कमजोरी ‘सफ्ट स्किल’को अभाव हो । म आफैँ व्यवस्थापनको विद्यार्थी हुँ, जहाँ हामीलाई चार वर्षसम्म आफूलाई कसरी प्रस्तुत गर्ने, व्यावसायिक रूपमा कसरी संवाद गर्ने र समूहमा कसरी काम गर्ने जस्ता कुरा सिकाइन्छ ।
तर हाम्रो प्राविधिक शिक्षामा यो पक्ष पूर्ण रूपमा छुट्छ । परिणाम स्वरूप प्राविधिक रूपमा अत्यन्तै अब्बल र ‘खतरा प्रोग्रामर’ पनि अन्तर्वार्तामा आफूलाई प्रष्ट रूपमा प्रस्तुत गर्न नसकेर असफल भएको मैले धेरै पटक देखेको छु । विशेषगरी विदेशी ग्राहकसँग सोझै संवाद गर्नुपर्ने आउटसोर्सिङ र फ्रिल्यान्सिङमा त यो सीप बिना सफल हुन असम्भव छ । फ्रिल्यान्सिङ वा गिग इकोनोमीमा जान चाहनेका लागि प्राविधिक सीपका साथै आफूलाई ‘सेल’ गर्ने कला पनि अनिवार्य छ । तपाईंले आफ्नो कामलाई आकर्षक तरिकाले प्रस्तुत गर्न सक्नुपर्छ र लिङ्क्डइन, फिभर, अपवर्क जस्ता प्लेटफर्ममा सक्रिय रहेर आफ्नो उपस्थिति बढाउनुपर्छ ।
सुरुमा अन्तर्राष्ट्रिय ग्राहकसँग काम गर्न, उनीहरूको कार्यशैली र अपेक्षा बुझ्न गाह्रो भए पनि एकपटक बजारमा स्थापित भइसकेपछि कामको अभाव हुँदैन । तर, यसका लागि संवाद कौशल, धैर्य र खुला दिमाग अनिवार्य छ । निष्कर्षमा नेपाली प्रविधि उद्योग सम्भावनाको खानी हो, तर यो केवल कोडिङको साँघुरो घेरामा मात्र सीमित छैन । यस खानीबाट सफलताको सुन निकाल्न प्राविधिक ज्ञानको औजारले मात्र पुग्दैन; यसका लागि निरन्तर सिक्ने भोक, व्यावहारिक सीप र सबैभन्दा महत्त्वपूर्ण, सफ्ट स्किलको सन्तुलित मिश्रण आवश्यक छ । अबको आवश्यकता प्राविधिक ज्ञान मात्र होइन, व्यावसायिक सीप र सिर्जनशीलताले युक्त एक समग्र जनशक्ति निर्माण गर्नु हो, जसले स्थानीय र विश्वव्यापी दुवै बजारमा आफ्नो दरिलो उपस्थिति जनाउन सकोस् ।
(गुञ्जा श्रेष्ठ मानव संसाधन विज्ञ हुन् । उनले २००६ देखि एफवन सफ्ट, डोग्मा ग्रुप, एचएलई नेपाल लगायतका कम्पनीमा काम गरेकी छिन् । हाल उनले भूमिथान नेपाल सञ्चालन गर्दै आएकी छिन् । यो लेख पूर्वशिक्षामन्त्री तथा रास्वपा सांसद सुमना श्रेष्ठले आइतबार सञ्चालन गरेको ‘आईटी करियर काउन्सिलिङ’ कार्यक्रममा गुञ्जा श्रेष्ठले व्यक्त गरेको विचारमा आधारित छ ।)
पछिल्लो अध्यावधिक: जेठ २६, २०८२ १६:४४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा आफूहरुको राखेका मागका विषयमा सत्तापक्ष गम्भीर नभएको बताएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले सदनको गतिरोध खुलाउने विषयमा पटक–पटक छलफल भए पनि सत्तापक्ष गम्भीर नभएको बताएका हुन् ।
आफूहरुले उठाएका मागका बारेमा कांग्रेसका नेताहरु असहमत भएपछि सहमतिको वातावरण बन्न नसकेको उनले बताए ।
परियारले भिजिट भिसा प्रकरण सानो घटना नभएकाले छानबिन समिति बनाउनका लागि प्रस्ताव गरे पनि सत्तापक्षले गृहमन्त्रीको राजीनामा पनि नआउने र समिति पनि नबन्ने भनेपछि संवादमा बस्नुको कुनै औचित्य नभएको जिकिर गरे ।
परियारले सत्तापक्षले प्रतिपक्षीको माग सम्बोधन गरे सबै समस्या समाधान हुने उनको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
कैलाली। नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले अर्थतन्त्रमा देखिएका समस्याहरु आगामी मौद्रिक नीतिमार्फत सुधारको प्रयास गरिने बताएका छन्।
नेपाल राष्ट्र बैंक धनगढी शाखाले आज आयोजना गरेको नेपाल उद्योग वाणिज्य महासंघ कैलाली, बैंक तथा वित्तीय संस्था, विभिन्न संघ संस्था, कृषि कर्जा लिएका ऋणि तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँगको छलफलमा उनले कोभिडलगायतका अन्य विभिन्न घटनाले अर्थतन्त्रमा केही समस्या पैदा गरेकाले समस्याको पहिचान गरेर समस्या समाधान गरिने बताए।
गर्भनर पौडेलले आफू गर्भनर भएर आएपछि जनताका समस्याका आधारमा नीति बनाउने उद्देश्य लिएको बताए। जसअन्तर्गत मध्यपहाडी लोकमार्ग हुँदै जेठ २३ गतेदेखि सरोकारवालाको गुनासो सुन्दै धनगढी आइपुगेको उनले अवगत गराए।
उनले भने, ‘सरोकारवालाका गुनासका आधारमा आगामी मौद्रिक नीति बनाउनेछु।’ गर्भनर पौडेलले आर्थिक गति चलायमान बनाउन र समस्या सामाधान गर्न बैंक तथा वित्तीय संस्था, व्यवसायी बीचको सम्बन्ध सुधारमा जोड दिए।
सामाग्री श्रोत :
जब हामी ‘टेक इन्डस्ट्री’ भन्छौँ हाम्रो दिमागमा प्रायः सफ्टवेयर डेभलपमेन्ट, कोडिङ र एप बनाउने कामको चित्र आउँछ । तर, यसको परिभाषा र दायरा त्योभन्दा धेरै फराकिलो र गहिरो छ । प्रविधि आफैमा एउटा छुट्टै र शक्तिशाली उद्योग त हो नै । तर यो अन्य सबै उद्योगको मेरुदण्ड पनि हो । स्वास्थ्य क्षेत्रमा प्रविधिको प्रयोगलाई हामी ‘हेल्थटेक’ भन्छौँ, शिक्षामा प्रयोग हुँदा ‘एडटेक’ भनिन्छ, वित्तमा ‘फिनटेक’ र कृषिमा ‘एग्रीटेक’ ।
यसरी हेर्दा प्रविधि उद्योग भनेको प्राविधिक सीप, तार्किक ज्ञान र व्यवस्थापकीय कौशलको एक सुन्दर र जटिल मिश्रण हो । यो एउटा विशाल छाता हो जसले सफ्टवेयर इन्जिनियरदेखि लिएर प्रोजेक्ट म्यानेजर, प्रोडक्ट म्यानेजर, क्वालिटी अस्योरेन्स (QA) विशेषज्ञ, बिजनेस एनालिस्ट, डेटा साइन्टिस्ट र यूआई/यूएक्स (UI/UX) डिजाइनर जस्ता अनगिन्ती भूमिकालाई ओगटेको छ ।
अझ रोचक कुरा त आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता प्रविधिको सहज पहुँचले अब उद्यमी बन्ने सपनालाई झनै यथार्थपरक बनाएको छ । आज एकै व्यक्तिले पनि कम्पनी सुरु गर्न सक्ने अवस्था छ, जसलाई हामी ‘सोलो-फाउन्डर’ भन्छौँ ।
जसरी विगतमा ‘गिग इकोनोमी’ (स्वतन्त्र रूपमा काम गर्ने संस्कृति) एउटा छुट्टै उद्योगको रूपमा स्थापित भयो, मलाई विश्वास छ भविष्यमा ‘कोडिङ इकोनोमी’ पनि एउटा जीवन्त क्षेत्रको रूपमा उदाउनेछ । त्यहाँ प्रतिभाशाली व्यक्तिले भौगोलिक सिमानाभन्दा माथि उठेर स्वतन्त्र रूपमा प्रोजेक्टमा काम गर्नेछन् ।
+२ पछि प्रविधिमा करियर: कहाँबाट सुरु गर्ने?
प्लस टु सकेपछि धेरै विद्यार्थीमा कुन बाटो रोज्ने भन्ने अन्योल हुन्छ । प्रविधि क्षेत्रमा रुचि हुनेहरूका लागि यहाँ केही प्रमुख मार्गहरू छन्:
१. यूआई/यूएक्स (UI/UX) डिजाइनिङ
म आफैँ पनि एक यूआई/यूएक्स UI/UX डिजाइनर हुँ । सरल भाषामा भन्नुपर्दा, कुनै पनि वेबसाइट वा एप बनाउँदा प्रयोगकर्तालाई चलाउन कत्तिको सजिलो, सहज र आकर्षक हुन्छ भन्ने कुराको डिजाइन गर्नु नै यूआई/यूएक्स डिजाइनिङ हो । यसमा प्रयोगकर्ताको समस्या पहिचान गर्ने र त्यसलाई डिजिटल डिजाइन (User Interface) मा उतार्ने काम गरिन्छ ।
यो एक ‘क्रस-फङ्सनल’ भूमिका हो । अर्थात् यसका लागि कुनै एउटा मात्रै शैक्षिक पृष्ठभूमि चाहिन्छ भन्ने छैन । तर, विज्ञान पढ्नुभएको छ भने तपाईंलाई केही फाइदा हुन सक्छ किनकि डिजाइनमा थोरै गणित र भौतिकशास्त्रका सिद्धान्त पनि प्रयोग हुन्छन् ।
तर यदि तपाईंको रुचि व्यवस्थापन (Management) वा व्यापार (Business) मा छ भने पनि चिन्ता लिनुपर्दैन । यूआई/यूएक्समा दुई पाटा हुन्छन्: प्रयोगकर्ताको अनुभव र व्यापारको लक्ष्य । बिजनेस पढेको व्यक्तिले व्यापारिक पाटोबाट डिजाइनलाई बलियो बनाउन सक्छ भने विज्ञान पढेको व्यक्तिले प्राविधिक पक्षबाट । दुवै मार्ग उत्तिकै सान्दर्भिक छन् ।
२. प्रोग्रामिङ र डेभलपमेन्ट:
यदि तपाईंलाई कोडिङ र इन्जिनियरिङमा रुचि छ भने प्रोग्रामिङ तपाईंको लागि सही बाटो हो । यसका लागि तपाईंले पाइथन, जाभास्क्रिप्ट, जाभा जस्ता प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्नुपर्ने हुन्छ ।
-
फुल-स्ट्याक डेभलपमेन्ट: आजको समयमा यो सबैभन्दा बढी माग भएको भूमिकामध्ये एक हो । फुल-स्ट्याक डेभलपरले वेबसाइट वा एप्लिकेसनको तीन ओटै तहमा काम गर्छ:
-
फ्रन्ट-एन्ड (Front-end): प्रयोगकर्ताले देख्ने र चलाउने भाग ।
-
ब्याक-एन्ड (Back-end): सिस्टमको पछाडि चल्ने लजिक र डेटाबेस ।
-
सर्भर/डेभअप्स (DevOps): एप्लिकेसनलाई होस्ट र मर्मत गर्ने प्रणाली ।
-
-
अहिलेको बजारमा फुल-स्ट्याक बन्नका लागि एमईआरएन (MERN) स्ट्याक (MongoDB, Express.js, React, Node.js) जुन जाभास्क्रिप्टमा आधारित छ वा पाइथन र यसको फ्रेमवर्क ज्याङ्गो (Django) सिक्नु उत्तम विकल्प हुन सक्छ । पाइथन एउटा बहुउपयोगी (versatile) ल्याङ्ग्वेज हो जसले तपाईंलाई वेब डेभलपमेन्टदेखि डेटा साइन्स र एआईसम्मका ढोका खोलिदिन्छ ।
३. नन-कोडिङ भूमिका
प्रविधिमा काम गर्न सधैँ कोडिङ नै जान्नुपर्छ भन्ने छैन । यदि तपाईंको रुचि व्यवस्थापन र रणनीतिमा छ भने निम्न भूमिका उपयुक्त हुन सक्छन्:
-
प्रोडक्ट म्यानेजमेन्ट/प्रोजेक्ट म्यानेजमेन्ट: कुनै उत्पादन वा परियोजनालाई सुरुदेखि अन्त्यसम्म डोर्याउने, टिमसँग समन्वय गर्ने र समयमै लक्ष्य पूरा गराउने काम यसमा पर्छ ।
-
क्वालिटी अस्योरेन्स (QA): सफ्टवेयर वा उत्पादनमा भएका त्रुटिहरू पत्ता लगाउने र गुणस्तर सुनिश्चित गर्ने ।
-
बिजनेस एनालिस्ट: कम्पनीको व्यापारिक आवश्यकता र प्राविधिक टिमबीच पुलको काम गर्ने ।
यी भूमिकाका लागि व्यवस्थापन संकाय (जस्तै बीबीए) पढेका विद्यार्थीहरूलाई फाइदा हुन्छ । साथै, स्क्रम मास्टर (Scrum Master) जस्ता सर्टिफिकेसनले तपाईंलाई सुरुवाती चरणमै यो क्षेत्रमा प्रवेश गर्न मद्दत गर्छन् ।
४. क्रिएटिभ भूमिका
यदि तपाईंको रुचि कला र सिर्जनशीलतामा छ भने भिडिओ एडिटिङ, अडियो एडिटिङ, एनिमेसन र ग्राफिक डिजाइनिङजस्ता क्षेत्रमा पनि प्रविधि उद्योगभित्रै रहेर काम गर्न सक्नुहुन्छ ।
औपचारिक शिक्षा: कुन विषय रोज्ने ?
नेपालका विश्वविद्यालयले प्रविधि क्षेत्रका लागि विभिन्न स्नातक तहका कार्यक्रम सञ्चालन गरेका छन् । आउनुहोस् केही प्रमुख कोर्सबारे चर्चा गरौं:
-
बीएससीसीएसआईटी (B.Sc.CSIT): यो पूर्णतया इन्जिनियरिङ र प्राविधिक विषयमा केन्द्रित कोर्स हो । यदि तपाईंको लक्ष्य विशुद्ध प्राविधिक (Core Technical) भूमिकामा जाने हो भने यो उत्तम छनोट हो ।
-
बीआईएम (BIM – Bachelor of Information Management): यो प्रविधि र व्यवस्थापनको उत्कृष्ट मिश्रण हो । यदि तपाईं भविष्यमा टेक म्यानेजमेन्टको भूमिकामा जान चाहनुहुन्छ भने बीआईएम तपाईंका लागि सही हुन सक्छ ।
-
बीसीए (BCA – Bachelor of Computer Applications): बीसीएले प्राविधिक र व्यवस्थापकीय दुवै पक्षलाई सन्तुलनमा राख्छ । यसको पाठ्यक्रमले तपाईंलाई बिजनेस एनालिस्ट वा क्यूए जस्ता भूमिकाका लागि राम्रोसँग तयार गर्छ जहाँ प्राविधिक र व्यवस्थापकीय दुवै ज्ञान आवश्यक हुन्छ ।
-
कम्प्युटर इन्जिनियरिङ (BE Computer): यो पनि सीएसआईटी जस्तै प्राविधिक ज्ञानमा केन्द्रित कोर्स हो ।
खुसीको कुरा के छ भने तपाईंले जुनसुकै फ्याकल्टी रोजे पनि प्रविधि क्षेत्रका लागि चाहिने आधारभूत (Core) ज्ञान सबैमा पाउनुहुन्छ । सी-प्रोग्रामिङ जस्ता आधारभूत विषय सबैमा अनिवार्य हुन्छन् जसले तपाईंको प्रोग्रामिङको जग बसाल्न सहयोग गर्छ । त्यसैले कुनै एउटा पढ्दा अर्को छुट्छ कि भनेर चिन्ता लिनुपर्दैन ।
आफ्नो रुचिको अतिरिक्त विषय (Elective) छान्दा ध्यान दिनुहोला । जस्तै एनिमेसनमा रुचि छ भने ‘ह्युमन कम्प्युटर इन्टरयाक्सन (HCI)’ जस्तो मोड्युल लिन सक्नुहुन्छ जुन प्रायः सबै फ्याकल्टीमा उपलब्ध हुन्छ ।
अनलाइन कोर्स र सीप विकास
स्नातक तहको पढाइले जग बसाल्छ, तर आजको प्रतिस्पर्धी बजारमा टिक्न अतिरिक्त सीप अनिवार्य छ। यसका लागि अनलाइन कोर्सहरू (MOOCs – Massive Open Online Courses) वरदान साबित भएका छन् ।
-
युडेमी (Udemy): यहाँ जो-कोही विज्ञले कोर्स बनाएर राख्न सक्ने हुनाले विकल्प धेरै छन् तर गुणस्तर र विश्वसनीयता आफैँले जाँच्नुपर्ने हुन्छ ।
-
कोर्सेरा (Coursera): यहाँ प्रायः प्रतिष्ठित विश्वविद्यालय र ठूला कम्पनीका विज्ञले कोर्सहरू बनाउने हुनाले बढी विश्वसनीय मानिन्छ । यहाँबाट तपाईंले प्रोफेसनल सर्टिफिकेट र स्पेसलाइजेसन कोर्स गर्न सक्नुहुन्छ ।
यदि तपाईंलाई मेन्टरसिपसहित प्रत्यक्ष सिक्न मन छ भने नेपालमै रहेका विभिन्न ट्रेनिङ इन्स्टिच्युटमा पनि भर्ना हुन सक्नुहुन्छ ।
इन्टर्नसिप र पहिलो जागिर: कसरी तयार हुने ?
पढाइ सकिन लाग्दा वा सकिएपछि सबैको लक्ष्य एउटा राम्रो इन्टर्नसिप वा जुनियर लेभलको जागिर पाउनु हुन्छ । यसका लागि दुई ओटा कुरामा ध्यान दिनुहोस्:
१) धेरैभन्दा धेरै प्रोजेक्टहरू बनाउनुहोस् (Build Projects): मैले आफ्नो करियरको सुरुमा इन्टर्नसिप नगरी सीधै जुनियर तहमा काम पाएको थिएँ । त्यसका लागि मैले करिब १२ वटा वेबसाइट डिजाइन गरेको थिएँ । तपाईंले गर्नुभएको कामले तपाईंको क्षमता र लगाव दुवै देखाउँछ ।
२) मानिसहरूसँग कुराकानी गर्नुहोस् (Talk to People): नेटवर्किङ एकदमै महत्त्वपूर्ण छ । तपाईंले १० जनालाई सम्पर्क गर्दा दुई जनाले मात्रै जवाफ दिन सक्छन् तर हरेस नखानुहोस् । ह्याकाथन, बुट क्याम्पजस्ता कार्यक्रममा सहभागी हुनुहोस् । यसले तपाईंलाई एक ‘प्रोएक्टिभ’ व्यक्ति भनेर चिनाउँछ ।
सफ्ट स्किल र टेक्निकल स्किलको सन्तुलन
एउटा कटु सत्य के हो भने, ‘प्राविधिक सीप (Technical Skills) ले तपाईंलाई कम्पनीभित्र छिराउँछ तर सफ्ट स्किल (Soft Skills) ले तपाईंलाई कम्पनीमा माथि चढाउँछ ।’
म आफै पनि सुरुमा अन्तर्मुखी थिएँ । तर जब मैले सिनियर भूमिका लिन थालेँ, जहाँ क्लाइन्ट र टिमसँग नियमित संवाद गर्नुपर्थ्यो, मैले सफ्ट स्किलको महत्त्व बुझेँ । मैले धेरै पटक ५-६ वर्ष अनुभव भएका सिनियरलाई पनि आफूले गरेको कामबारे स्पष्टसँग व्याख्या गर्न नसकेको देखेको छु । यस्तो अवस्थामा उनीहरूको प्राविधिक ज्ञान जतिसुकै राम्रो भए पनि अगाडि बढ्न गाह्रो हुन्छ । त्यसैले सञ्चार, प्रस्तुतीकरण र टिमवर्कजस्ता सीपमा पनि उत्तिकै ध्यान दिनुहोस् ।
आफ्नो डिजिटल प्रोफाइल (पोर्टफोलियो) कसरी बनाउने ?
आजको युगमा तपाईंको अनलाइन उपस्थिति तपाईंको बायोडाटाभन्दा महत्त्वपूर्ण छ । तपाईंले गर्नुभएको कामलाई देखाउने प्लेटफर्मलाई नै हामी पोर्टफोलियो भन्छौं ।
-
लिङ्क्डइन (LinkedIn): यो तपाईंको प्रोफेसनल सोसल नेटवर्क हो । यहाँ आफ्नो प्रोफाइल बनाउनुहोस् । एउटा छोटो तर प्रभावशाली बायो लेख्नुहोस् जसमा तपाईं के गर्नुहुन्छ, केमा रुचि राख्नुहुन्छ र कसरी योगदान दिन सक्नुहुन्छ भन्ने स्पष्ट होस् । सबैभन्दा महत्त्वपूर्ण कुरा, सक्रिय रहनुहोस् । तपाईंले आज एउटा सानो बटन बनाउन सिक्नुभयो भने पनि त्यसलाई शेयर गर्नुहोस् । तपाईंले पढेको किताबबाट नयाँ कुरा सिक्नुभयो भने पनि शेयर गर्नुहोस् । तपाईंको हरेक सिर्जना र सिकाइ तपाईंको पोर्टफोलियो हो ।
-
गिटहब (GitHub): यदि तपाईं प्रोग्रामर हो भने गिटहब तपाईंको लागि अनिवार्य छ । यहाँ तपाईंले लेखेको कोड राख्न सक्नुहुन्छ । यसले ‘भर्सन कन्ट्रोल’ को काम गर्छ, अर्थात् तपाईंले हिजो, आज र भोलि गर्नुभएको कामको प्रगति देखाउँछ । यसबाट रोजगारदाताले तपाईंको सिक्ने प्रक्रिया र कोडिङ शैलीबारे थाहा पाउँछन् ।
-
बिहान्स (Behance): ग्राफिक, वेब वा यूआई/यूएक्स डिजाइनरका लागि यो आफ्नो काम प्रदर्शन गर्ने उत्कृष्ट प्लेटफर्म हो ।
-
व्यक्तिगत ब्लग/वेबसाइट: यदि तपाईं कन्टेन्ट राइटर हुनुहुन्छ भने आफ्नो लेखहरू प्रकाशित गर्न एउटा सामान्य वेबसाइट वा ब्लग बनाउन सक्नुहुन्छ ।
नेटवर्किङका लागि नेपाली कम्युनिटी:
फेसबुकमा तपाईंले आफ्नो रुचिको क्षेत्रअनुसार विभिन्न समूहहरू भेट्टाउन सक्नुहुन्छ । जस्तै:
-
Developers Nepal (DN): कोडिङ र डेभलपमेन्टसँग सम्बन्धित समूह ।
-
WordPress Nepal, FlutterNepal: विशेष प्रविधिमा केन्द्रित समूह ।
-
IT Jobs Nepal, Pote Vancancy: जागिर खोज्नका लागि।
-
IT Entrepreneurs for Nepal: आईटी उद्यमीका लागि ।
-
Ask Buddies: आईटीका विभिन्न विषयमा छलफल गर्ने समूह ।
एआई (AI) को आगमन र भविष्यको तयारी
एआईको आगमनले प्रविधि क्षेत्रमा ठूलो परिवर्तन ल्याएको छ । कतिपयले यसलाई जागिर खाने खतराको रूपमा हेरेका छन् । तर, म यसलाई एउटा रूपान्तरणको रूपमा हेर्छु । अबको समयमा सबैका लागि एउटा नयाँ प्रोग्रामिङ भाषा सिक्नु अनिवार्य भएको छ र त्यो भाषा हो – अङ्ग्रेजी ।
मेरो मतलब तपाईंले एआईलाई सही तरिकाले निर्देशन (Instruction) दिन जान्नुपर्छ जसलाई हामी ‘प्रम्प्ट इन्जिनियरिङ’ (Prompt Engineering) भन्छौं । तपाईंले जुनियर तहबाटै एआईलाई एक सिनियर जसरी काम लगाउन सिक्नुपर्छ । एउटा प्रभावकारी प्रम्प्टमा सामान्यतया चार ओटा कुरा हुन्छन्ः
१) पर्सोना (Persona): एआईलाई कसैको भूमिकामा काम गर्न लगाउने । (जस्तै: “Act as a professional scriptwriter.”)
२) सन्दर्भ (Context): उसलाई अवस्थाबारे जानकारी दिने । (जस्तै: “…who is writing a suspense thriller.”)
३)आदेश (Command): के गर्नुपर्ने हो त्यो स्पष्ट निर्देशन दिने । (जस्तै: “Write a 5-minute scene…”)
४) ढाँचा (Format): कस्तो आउटपुट चाहिएको हो त्यसको संरचना बताउने । (जस्तै: “…in a standard screenplay format.”)
यो सीपले तपाईंको उत्पादकत्वलाई कैयौं गुणा बढाउन सक्छ । एआईले तपाईंलाई प्रतिस्थापन गर्ने होइन बरु एआई प्रयोग गर्न जान्ने व्यक्तिले तपाईंलाई प्रतिस्थापन गर्न सक्छ ।
प्रविधिको यात्रा निरन्तर सिकाइको यात्रा हो । यहाँ हरेक दिन नयाँ कुरा आउँछ । हिजोको प्रविधि आज पुरानो हुन सक्छ । त्यसैले सफल हुनका लागि प्राविधिक ज्ञान, सफ्ट स्किल, सिर्जनशीलता र नयाँ कुरा सिक्ने तीव्र इच्छाशक्ति चाहिन्छ । आफ्नो जग बलियो बनाउनुहोस्, समुदायसँग जोडिनुहोस्, आफ्नो कामलाई विश्वसामु देखाउनुहोस् र परिवर्तनलाई अँगाल्न तयार हुनुहोस् । प्रविधिको यो फराकिलो आकाशमा तपाईंको उडान अवश्य सफल हुनेछ ।
(कमलेश श्रेष्ठ प्रविधि उद्योगमा १५ वर्षभन्दा लामो अनुभव भएका एक विज्ञ हुन् । आफ्नो करियर यात्रामा उनले वेब डिजाइनर, यूआई/यूएक्स विशेषज्ञ, लेक्चरर र प्राविधिक रिक्रुटर जस्ता बहुआयामिक भूमिकामा काम गरेका छन् । हाल उनी ब्रोडवे इन्फोसिसममा यूआई/यूएक्स ट्रेनरका रूपमा सक्रिय छन् । यो लेख पूर्वशिक्षामन्त्री तथा रास्वपा सांसद सुमना श्रेष्ठले आइतबार सञ्चालन गरेको ‘आईटी करियर काउन्सिलिङ’ कार्यक्रममा कमलेश श्रेष्ठले व्यक्त गरेको विचारमा आधारित छ ।)
पछिल्लो अध्यावधिक: जेठ २६, २०८२ २०:२६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई प्रदेश सभाबाट निलम्बन गरिएको छ।
प्रदेश सभाको सोमबारको बैठकमा सभामुख भीमबहादुर भण्डारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारीउपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी आएकाले उनलाई प्रदेश सभा सदस्य पदबाट निलम्बन गरिएको बेहोरा जानकारी गराए।
प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका सोडारी निलम्बनमा परेसँगै प्रदेश सभामा अब सो पार्टी तीन प्रदेश सभा सदस्यमा सीमित भएको छ। तत्कालीन नेकपा विभाजन हुँदा नेकपा (एमाले) बाट प्रदेश सभा प्रतिनिधित्व गर्ने अधिकांश सदस्य सोडारीको नेतृत्वको पार्टीमा लागेका थिए।
सोडारीले पदको दुरूपयोग गरेर गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले विशेष अदालतमा केही दिनअघि आरोपपत्र दायर गरेको थियो।
उनले आर्जन गरेको एक करोड ९३ लाख ८९ हजार ६३७ रूपैयाँ बराबरको सम्पत्तिमध्ये ८५ लाख ५१ हजार ३३४ रूपैयाँ वैधानिक रूपमा आयआर्जन भएको देखिएको अख्तियारले जनाएको छ।
त्यसबाहेक एक करोड ८ लाख ३८ हजार ३०२ रूपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको भन्दै मुद्दा दायर भएको हो। अख्तियारले २०७४ माघ ७ गतेदेखि २०७९ फागुन १० गतेसम्मको अवधिको छानबिन गरेको थियो।
‘गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएकोले सोडारीविरूद्ध उक्त रकम बराबरको बिगो कायम गरी त्यसअनुसार कैद र बिगो बमोजिम जरिवाना गर्न मागदाबी,’ अख्तियारले भनेको छ।
गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न पनि अख्तियारले माग गरेको छ। सोडारीले वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाएर झुट्टा विवरण पेस गरेको भन्दै उनीमाथि थप कैद र जरिवाना समेत अख्तियारले माग गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त रहेको १२औं तहको अतिरिक्त सचिवमा डा केशर ढकाल र डा श्रीकृष्ण श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका तीन जनामध्ये ढकाल र श्रेष्ठलाई अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
अतिरिक्त सचिवका लागि बढुवा समितिले ढकाल र श्रेष्ठ सहित डा सुधा देवकोटाको नाम सिफारिस गरेको थियो।
स्वास्थ्य मन्त्रालयमा चार जना अतिरिक्त सचिवको दरबन्दी रहेको छ। जसमध्ये हाल दुई वटा पद रिक्त रहेका छन्।
रिक्त रहेको पदका लागि २४ जनाले आवेदन दिएका थिए। २४ जनाले आवेदन दिएकामा १ जनाले आवेदन फिर्ता लिएपछि २३ जनामध्ये बढुवा समितिले तीन जनालाई सिफारिस गरेको हो।
समितिले चैत ६ गते सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको थियो। १५ दिनको समय दिएर आवेदन माग भएको थियो।
सामाग्री श्रोत :
swasthyakhabar
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई प्रदेशसभाबाट निलम्बन गरिएको छ।
प्रदेशसभाको आजको बैठकमा सभामुख भीमबहादुर भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीउपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी आएकाले उनलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको बेहोरा जानकारी गराए।
प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका सोडारी निलम्बनमा परेसँगै प्रदेशसभामा अब सो पार्टी तीन प्रदेशसभा सदस्यमा सीमित भएको छ। तत्कालीन नेकपा विभाजन हुँदा नेकपा (एमाले)बाट प्रदेशसभा प्रतिनिधित्व गर्ने अधिकांश सदस्य सोडारीको नेतृत्वको पार्टीमा लागेका थिए।
सोडारीलाई पदको दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै आयोगले विशेष अदालतमा केही दिनअघि आरोपपत्र दायर गरेको थियो।
सामाग्री श्रोत :
काठमाडौँ । कहिलेकाहीँ काम विशेषले साथी-भाइ, परिवारका सदस्य वा आफन्तको मोबाइल डिभाइस प्रयोग गर्नुपर्ने आवश्यकता हुन्छ । कार्यालय वा कुनै सार्वजनिक स्थानका कम्प्युटर पनि बेलाबखत हामीले प्रयोग गरिरहेका हुन सक्छौँ ।
यसरी अरूका वा अरूको पहुँचमा हुन सक्ने डिभाइसहरू प्रयोग गरिसकेपछि कतिपयले त्यसबाट आफ्नो सामाजिक सञ्जाल वा ईमेल अकाउन्ट लगआउट गर्न बिर्सिरहेका हुन्छन् । यस्तोमा तपाईँको अकाउन्टमा रहेका गोप्य तथा महत्त्वपूर्ण सामग्रीमा पहुँच पाउने व्यक्तिबाट कल्पनीय समस्या निम्तिन पनि सक्छ ।
एउटा यस्तै घटना अहिले मुद्दा मामिलाको विषय बनेको छ । यो चितवनको एक पारिवारिक कलहको कथा हो । कमला (नाम परिवर्तित पीडित नाबालिग छोरी) का बुबा र आमा बीच दिनहुँ झगडा हुने गरेको थियो । यसै कारणले गर्दा आमा-छोरी आफ्नै खुसीले घर छाडेर काठमाडौँ गएर बस्न थाले ।
कमलाले विगतमा आफ्ना बुबाको मोबाइलमा आफ्नो सिमकार्ड, गुगल आईडी, स्न्यापच्याट र अन्य सामाजिक सञ्जालका आईडीहरू लगइन गरी चलाएकी थिइन् । तर गुगल आईडी र स्न्यापच्याट आईडी लगआउट गर्न भने बिर्सिएकी थिइन् ।
यसै कारणले बुबाले उनका सम्पूर्ण तस्विरहरूमा पहुँच पाएका थिए । जसमा कमलाले आफ्नो प्रेमीसँग खिचेका गोप्य अश्लील तस्विर र भिडिओहरू पनि समावेश थिए । आमाको पक्ष लिएको देखेर उनका बुबा छोरीसँग पनि रिसाएका थिए । कमलाकी साथीले पनि पारिवारिक वातावरण राम्रो नभएको, बुबाले झगडा गरिरहने र प्रेम सम्बन्धलाई लिएर कमलालाई तनाव दिने गरेको बयान दिएकी छिन् ।
श्रीमतीसँग सम्पर्क गर्ने प्रयास गर्दा सामाजिक सञ्जाल र फोनमा ब्लक गरिएकाले कुनै माध्यम नभएको कमलाका बुबाको भनाइ छ । त्यसपछि उनले धम्की सहित आफ्नी छोरीको मेसेन्जरमा उनका अश्लील तस्विरहरू पठाए । छोरी र श्रीमती सम्पर्कमा आई कुराकानी गर्छन् कि भन्ने उद्देश्यले ती तस्वीर पठाएको बयान उनले दिएका छन् ।
तर कमलाले उक्त मेसेजको बेवास्ता गरिन् । त्यसपछि २०८२ साल वैशाख २४ गते बुबाले आफ्नै फेसबुक प्रोफाइलबाट छोरी कमलाले अश्लील गतिविधिहरू गरिरहेका भिडिओ फेसबुक स्टोरी मार्फत सार्वजनिक गरी दिए । जसमा उनले धाकधम्कीपूर्ण तथा अपमानजनक शब्दहरू पनि लेखेका थिए ।
यस किसिमको कार्य गर्नु आफ्नो गल्ती भएको कमलाका बुबाले बयानका क्रममा स्वीकार गरेका छन् । २५ वैशाखमा साइबर ब्युरोमा पीडित छोरी र उनकी आमाले दायर गरेको निवेदनमाथि अनुसन्धान गरी साइबर ब्युरोले सरकारी वकिलको कार्यालयमार्फत १९ जेठ २०८२ मा जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ ।
जसमा आफ्नै छोरीलाई यातना दिएको, अपमान र बेइज्जत गरेको साथै उनको चरित्रहत्या गर्ने कार्य गरेको आरोप बुबामाथि लगाइएको छ । अभियुक्तलाई विद्युतीय कारोबार ऐन अन्तर्गत दफा ४७ (१) अन्तर्गतको कसुरमा एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायका साथै मोबाइल जफत गरी पीडितलाई हानी नोक्सानीको क्षतिपूर्ति र राहत शुल्क दिलाउन पनि माग गरिएको छ । अदालतले यस मुद्दाको फैसला गर्दा पीडितलाई उचित क्षतिपूर्ति दिलाउनुपर्ने र अभियोग स्थापित भएकोले अभियुक्त उपर कानून बमोजिम अधिकतम सजाय हुनुपर्ने माग दाबी गरिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २६, २०८२ २०:१३
सामाग्री श्रोत :
टेक पाना