२०८२ जेष्ठ २७ सोमबार
२०८२ जेष्ठ २७ सोमबार

फोन हराउँदा फेला पार्न सघाउने ‘फाइन्ड माइ डिभाइस’ फिचर गायब भयो ? यस्तो छ कारण

काठमाडौँ । गुगलले आफ्नो लोकप्रिय ‘फाइन्ड माइ डिभाइस’ सेवालाई नयाँ नाम र विकसित क्षमताका साथ ‘फाइन्ड हब’ को रूपमा रि-ब्रान्डिङ गरेको छ । यो महत्त्वपूर्ण परिवर्तनले प्रयोगकर्ताहरूलाई आफ्नो हराएको एन्ड्रोइड फोन, ट्याब्लेट, वेयर ओएस वाच, हेडफोन वा ट्र्याकर ट्याग भएका कुनै पनि सामानहरू थप सहजै पत्ता लगाउन, सुरक्षित गर्न र हटाउन मद्‍दत गर्नेछ ।

यो नयाँ ब्रान्डिङ गुगल प्ले सर्भिसको पछिल्लो अपडेट (भर्सन २५.२०.३७) मार्फत रोल आउट भइरहेको छ । यसबिचमा तपाईँको डिभाइसमा दुवै नाम (फाइन्ड माइ डिभाइस र फाइन्ड हब) अस्थायी रूपमा देखिन सक्छन् । एन्ड्रोइड सेटिङभित्रका सबै ‘फाइन्ड माइ डिभाइस’ उल्लेख भएका ठाउँमा ‘फाइन्ड हब’ देखिन थालेको छ । उदाहरणका लागि, सेटिङको Security & privacy/Password and security अन्तर्गतको टोगलको नाम अब ‘फाइन्ड हब’ रहन गएको छ । साथै त्यसभित्र Allow device to be located (डिभाइस पत्ता लगाउन अनुमति दिनुहोस्) भन्ने नयाँ टोगल समावेश गरिएको छ ।

फाइन्ड हबको सबैभन्दा महत्त्वपूर्ण नयाँ सुविधा भनेको अफलाइन वा पावर अफ भएका मोबाइल डिभाइस पनि पत्ता लगाउने क्षमता हो । यो फिचरले तपाईँको डिभाइस अफलाइन हुँदा वा ब्याट्री सकिएर बन्द हुँदा पनि केही घण्टासम्म (यो फिचर सपोर्ट गर्ने डिभाइसहरू, जस्तै पिक्सेल ८ सिरिजका फोन) पत्ता लगाउन मद्‍दत गर्छ ।

यो सुविधाले एन्ड्रोइड डिभाइसको क्राउडसोर्स नेटवर्क प्रयोग गर्दछ । यस नेटवर्कमा तपाईँका एन्ड्रोइड डिभाइसहरूले ब्लुटुथ प्रयोग गरी नजिकका वस्तुहरू स्क्यान गर्छन् र पत्ता लागेका स्थानहरूलाई इन्क्रिप्टेड रूपमा फाइन्ड हबमा पठाउँछन् ।

यसका लागि, तपाईँको डिभाइसमा पिन, प्याटर्न वा पासवर्ड सेट गरिएको हुनुपर्छ । अफलाइन खोज्नका लागि विभिन्न सेटिङ उपलब्ध छन् । जसमा With network in high-traffic areas only रहेको छ । डिफल्ट रूपमा उपलब्ध हुने यो सेटिङले एयरपोर्ट वा व्यस्त फुटपाथ जस्ता हाई-ट्राफिक भएका क्षेत्रहरूमा हराएको डिभाइस फेला पार्न मद्दत गर्छ ।

त्यस्तै With network in all areas सेटिङले हाई-ट्राफिक र लो-ट्राफिक दुवै क्षेत्रमा हराएको डिभाइस पत्ता लगाउन मद्दत गर्छ । यो सुविधा सक्रिय राख्नका लागि फोन बन्द हुँदाको समयमा ब्लुटुथ र लोकेसन अन रहेको हुनुपर्छ । एन्ड्रोइड ८.० वा सोभन्दा तल्ला भर्सनका डिभाइसका लागि भने Store recent location सेटिङ अन गर्नुपर्छ ।

फाइन्ड हबको सहयोगमा अब हेडफोन र ब्लुटुथ ट्र्याकर ट्यागहरू जस्ता सहायक उपकरणहरूलाई पनि ट्र्याक गर्न सघाउनेछ । फास्ट पेयर (Fast Pair) प्रयोग गरेर हेडफोनहरू जोड्न सकिन्छ । जबकि ब्लुटुथ ट्र्याकर ट्यागहरू पेयरिङ पूरा भएपछि स्वतः थपिन्छन् । ट्र्याकर ट्यागहरू चाबी, झोला, साइकल जस्ता सामानहरू ट्र्याक गर्न प्रयोग गर्न सकिन्छ ।

 

फाइन्ड हब सेट अप गर्ने तरिका

तपाईँको मोबाइल डिभाइस हराउनु अघि फाइन्ड हब तयार राख्न निम्न कामहरू गर्नुपर्ने हुन्छ:

  • गुगल अकाउन्टमा साइन इन भएको सुनिश्चित गर्नुहोस् । 

  • लोकेसन सर्भिस अन राख्नुहोस् ।

  • फाइन्ड हब (पहिलेको फाइन्ड माई डिभाइस) अन गर्नुहोस् ।

  • तपाईँको डिभाइस गुगल प्लेमा देखिने कुराको सुनिश्चित गर्नुहोस् ।

  • रिमोट्ली लक वा इरेज गर्नका लागि टु-स्टेप भेरिफिकेसन ब्याकअप कोड सिर्जना गर्नुपर्ने हुन्छ ।

हराएको डिभाइस पत्ता लगाउन र सुरक्षित गर्न:

फाइन्ड हब (फाइन्ड माई डिभाइस) को सहयोगमा आफ्नो हराएको फोन तथा अन्य एन्ड्रोइड डिभाइस फेला पार्न निम्न चरणहरू अपनाउनु पर्ने हुन्छ ।

  • android.com/find मा गएर वा फाइन्ड हब मोबाइल एप प्रयोग गरेर आफ्नो गुगल अकाउन्टमा साइन इन गर्नुहोस् । 

  • फाइन्ड हबले डिभाइसको हालको अनुमानित स्थान देखाउँछ ।

  • नजिकैको उपकरण पत्ता लगाउन Play Sound (आवाज बजाउने) विकल्प प्रयोग गर्न सकिन्छ, जसले ५ मिनेटसम्म हराएको डिभाइसमा ठुलो आवाजमा घण्टी बजाउँछ ।

  • यदि उपकरण टाढा छ वा चोरी भएको शङ्का छ भने, Secure Device (डिभाइस सुरक्षित गर्ने) विकल्प प्रयोग गरेर त्यसलाई तुरुन्तै लक गर्न सकिन्छ र लक स्क्रिनमा आफूले चाहेको मेसेज पनि थप्न सकिन्छ ।

  • अन्तिम उपायको रूपमा यदि उपकरण भेटिने सम्भावना छैन भने Erase Device ( डिभाइस मेटाउने) विकल्प प्रयोग गरेर रिमोट्ली सबै डेटा डिलिट गर्न सकिन्छ। तर, यसो गर्दा उक्त डिभाइसमा रहेका, तर ब्याकअप नगरिएका कुनै पनि डेटा सधैँका लागि गुमाउनु पर्ने हुन सक्छ । 

फाइन्ड हब बन्द गर्ने तरिका

यदि कुनै कारणले तपाईँ फाइन्ड हब सुविधा प्रयोग गर्न चाहनु हुन्न र एक्टिभ भएको अवस्थामा त्यसलाई बन्द गर्न चाहनु हुन्छ भने निम्न चरण अपनाउन सक्नु हुन्छ । 

  • सेटिङमा गएर Security मा ट्याप गर्नुहोस् ।

  • ‘फाइन्ड हब’ (वा ‘फाइन्ड माइ डिभाइस’) मा गएर टगल बन्द गर्नुहोस् ।

  • डिभाइसले आफ्नो स्थान शेयर गर्ने काम रोक्नका लागि लोकेसन ट्र्याकिङ पनि बन्द गर्नुपर्ने हुन्छ । यसका लागि सेटिङ हुँदै लोकेसनमा गएर त्यसलाई अफ गर्नुहोस् ।

गुगलको यो नयाँ फाइन्ड हबको रि-ब्रान्डिङ र यसमा आएका नयाँ सुविधाले एन्ड्रोइड प्रयोगकर्ताहरूलाई आफ्ना बहुमूल्य डिभाइसहरू हराउँदाको तनाव कम गर्न र व्यक्तिगत डेटाको सुरक्षा सुनिश्चित गर्न मद्‍दत पुर्‍याउने अपेक्षा गरिएको छ । 

 

पछिल्लो अध्यावधिक: जेठ २५, २०८२ ११:३४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट