काठमाडौँ । पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले करिअर काउन्सिलिङको दोस्रो सत्रमा सहभागी हुन अनुरोध गरेकी छिन् । आइतबार फेसबुक लाइभमार्फत उनले कक्षा १२ को परीक्षा दिएर बसेका, स्नातक तह पढेर करिअर अन्तै मोड्ने विचार गरेका विद्यार्थी तथा अभिभावकलाई फेसबुक लाइभमा जोडिन अनुरोध गरेकी हुन् ।

उनका अनुसार आज (आइतबार) आज साँझ ७:३० बाट जुम मिटिङ र “सुमना श्रेष्ठ सचिवलय”को फेसबुक लाइभमार्फत सूचना प्रविधि (आईटी) क्षेत्रमा करिअरको सम्भावनाका विषयमा काउन्सिलिङ दिन लागिएको हो ।
यस विषयमा आईटी क्षेत्रमा लामो समयदेखि काम गरेका तथा स्टार्टअप कम्पनीका लागि कर्मचारी नियुक्त गर्दै आएका व्यक्तिले विद्यार्थीलाई करिअरसँग सम्बन्धित जानकारी प्रदान गर्नेछन् । सत्रमा स्वयम् सुमना श्रेष्ठसँगै भूमिथान नेपालका सहसंस्थापक तथा ह्युमन रिसोर्स प्रोफेसनल गुञ्जा श्रेष्ठ, प्रविधि शिक्षक, उद्यमी तथा करियर रणनीतिकार कमलेश श्रेष्ठ वक्ताको रूपमा रहने छन् ।
उनले भनिन्, “दुई हप्ता अघि नै हामीले छलफलमा सहभागी हुन फाराम खुला गरेका थियौँ । फारम भर्नेहरूलाई जुम मिटिङको लिङ्क पठाउँछौँ । तपाईँहरू फेसबुक लाइभबाट पनि जोडिन सक्नु हुनेछ ।” यस क्रममा आईटी क्षेत्रमा भविष्य कस्तो छ, आईटी कम्पनीहरूमा कस्ता कर्मचारी नियुक्त गरिन्छ, करियरका विकल्पहरू केके छन्, आवश्यक सीपहरू र कसरी सुरुवात गर्ने लगायतका विषयमा छलफल गरिनेछ । उक्त छलफलले विद्यार्थीलाई कस्तो करिअर रोज्ने भनेर मार्गदर्शन गर्ने उनको विश्वास छ ।

श्रेष्ठका अनुसार यसअघि गत हप्ता करिअर काउन्सिलिङको पहिलो सत्र सञ्चालन गरिएको थियो । उक्त सत्रमा “करिअर भनेको के हो?” लगायतका विषयमा आधारभूत जानकारी दिइएको थियो । यस्तै, आगामी दिनमा पनि विभिन्न करिअरका विषयमा छलफलका कार्यक्रम सञ्चालन गरिने उनले बताएकी छिन् ।
अपडेटः हेर्नुहोस् लाइभ भिडिओ
पछिल्लो अध्यावधिक: जेठ २५, २०८२ २०:४३
सामाग्री श्रोत :
टेक पाना