२०८१ चैत्र ३० शनिबार
२०८१ चैत्र ३० शनिबार

८ महिनामै नेपाल भित्रिए २१ अर्ब रुपैयाँ बराबरका १४ लाख स्मार्टफोन

काठमाडौं । नेपालमा पछिल्लो आठ महिनामा १४ लाखभन्दा बढी स्मार्टफोन भित्रिएका छन् । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ को साउनदेखि फागुनसम्म २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबरका १४ लाख ७ हजार ७८ स्मार्टफोन नेपाल भित्रिएका छन् । यसबाट राज्यले चार अर्ब आठ करोड ५१ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

सोही अवधिमा नेपालमा एक लाख ३० हजार ७३५ थान स्मार्टवाच भित्रिएका छन् । २२ करोड ७२ लाख ७३ हजार रुपैयाँ बराबरको स्मार्टवाच भित्रिँदा राज्यले यसबाट छ करोड ८३ लाख १७ हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ ।

त्यस्तै नेपाल भित्रिने राउटरको सङ्ख्या पनि उल्लेख्य देखिएको छ । तथ्याङ्क अनुसार गत आठ महिनामा चार लाख ८७ हजार ३२० थान राउटर आयात भएका छन् । एक अर्ब २५ करोड ४८ लाख ७२ हजार रुपैयाँ बराबरको राउटर आयात हुँदा राज्यलाई यसबाट २३ करोड ३५ लाख ३५ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ ।

त्यस्तै आर्थिक वर्ष २०८१/८२ को साउनदेखि फागुनसम्म नेपालले १० लाख ८५ हजार १९ थान सिमकार्ड आयात गरेको छ । पाँच करोड ४४ लाख ५१ हजार रुपैयाँ बराबरको सिमकार्ड आयात हुँदा राज्यले यसबाट एक करोड ३३ लाख ४९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

त्यसैगरी पछिल्लो आठ महिनामा दुई करोड आठ लाख १९ हजार रुपैयाँ बराबरका मेमोरी कार्ड आयात भएका छन् । एक लाख ८० हजार ८६० थान मेमोरी कार्ड आयात हुँदा राज्यले ५१ लाख ७३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

नेपालमा पावर बैंकको आयात पनि उच्च देखिएको छ । पछिल्लो आठ महिनामा दुई लाख २१ हजार ९९२ थान पावर बैंक आयात भएका छन् । १२ करोड ९४ लाख ३४ हजार रुपैयाँ बराबरको पावर बैंक आयात हुँदा राज्यलाई त्यसबापत पाँच करोड ६४ लाख ४८ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ ।

 

पछिल्लो अध्यावधिक: चैत १०, २०८१ १५:३९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?