काठमाडौँ । चिनियाँ प्रविधि कम्पनी ह्वावे टेक्नोलोजीले आफ्नो प्रोग्रामिङ ल्याङ्ग्वेज च्याङ्जी (Cangjie) लाई ओपन सोर्स (open-source) बनाउने भएको छ । अमेरिकी प्रतिबन्धका कारण विदेशी सफ्टवेयरमाथिको निर्भरता घटाउँदै प्राविधिक आत्मनिर्भरता हासिल गर्ने उद्देश्य अनुरूप कम्पनीले यो दूरगामी कदम चाल्ने भएको हो ।

यो प्रोग्रामिङ ल्याङ्ग्वेजको नाम चिनियाँ पौराणिक कथामा वर्णन गरिएका एक प्रख्यात व्यक्तिको नामबाट राखिएको हो, जसलाई चिनियाँ अक्षरको आविष्कारक समेत मानिन्छ । च्याङ्जीलाई फुल-सिनारियो इन्टेलिजेन्सका लागि विशेष रूपमा डिजाइन गरिएको छ ।
यसमा नेटिभ एआईका क्षमता र उच्चस्तरीय सुरक्षा सुविधा समेत समावेश छन् । जसले यसलाई विविध प्रकारका एप्लिकेसनहरूका लागि उपयुक्त बनाउँछ । यो प्रोग्रामिङ ल्याङ्ग्वेजले मुख्यतया ह्वावेको क्रस-डिभाइस अपरेटिङ सिस्टम हार्मोनी ओएस नेक्स्टमा चल्ने एपहरूका लागि सामान्य प्रोग्रामिङलाई समेत सपोर्ट गर्छ ।
जुन एन्ड्रोइडबाट पूर्णतया स्वतन्त्र छ । महत्त्वपूर्ण कुरा के छ भने, च्याङ्जीले एन्ड्रोइड र एप्पलको आईओएस दुवैमा रहेका एपहरूलाई समेत सपोर्ट गर्ने दाबी गरिएको छ । यसले एन्ड्रोइड डेभलपरहरूले अधिकांश रूपमा प्रयोग गर्ने जाभा र आईओएस डेभलपरहरूले प्रयोग गर्ने स्विफ्ट जस्ता स्थापित प्रोग्रामिङ ल्याङ्ग्वेजसँग प्रतिस्पर्धा गर्नेछ ।

लगभग पाँच वर्षको निरन्तर विकासपछि गत जुनमा च्याङ्जीको प्रिभ्यु भर्सन सार्वजनिक गरिएको थियो । सार्वजनिक भए लगत्तै यस प्रति डेभलपरहरूको तीव्र आकर्षण देखियो । फलस्वरूप केही हप्ताभित्रै यसमा १० हजारभन्दा बढी टेस्टिङ एप्लिकेसन जोडिएका थिए ।
गत अक्टोबरसम्म च्याङ्जी हार्मोनीओएसका सम्पूर्ण डेभलपरहरूका लागि उपलब्ध गराइएको थियो । त्यसयता यसलाई विभिन्न हार्मोनीओएस आधारित एपहरूको विकासमा व्यापक रूपमा अपनाइएको छ, जसमा चिनियाँ अन-डिमान्ड डेलिभरी प्लेटफर्म मेइटुआन (Meituan) र ई-कमर्स प्लेटफर्म जेडी डटकमका एपहरू पनि समावेश छन् ।
उदाहरणका लागि मेइटुआनले आफ्ना डेलिभरी राइडरका लागि एप डेभलप गर्न च्याङ्जी प्रयोग गरिरहेको छ, जुन यस वर्षको तेस्रो त्रैमासिकसम्ममा हार्मोनीओएसमा सार्वजनिक गर्ने योजना छ ।
ह्वावेले आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्सका क्रममा जुलाई ३० देखि च्याङ्जी सबै डेभलपरहरूका लागि पहुँचयोग्य हुने घोषणा गरेको थियो । ओपन-सोर्सको अवधारणाले सफ्टवेयरको सोर्स कोडमा सार्वजनिक पहुँचको अनुमति दिन्छ, जसले थर्ड-पार्टी डेभलपरहरूलाई यसको डिजाइन परिमार्जन गर्न, समस्याहरू समाधान गर्न वा यसको क्षमता विस्तार गर्न सक्षम बनाउँछ ।
यसले अमेरिकाले लगाएको कडा निर्यात प्रतिबन्धका बीचमा विदेशी सफ्टवेयर र अन्य प्रविधिहरूमा निर्भरता कम गर्ने ह्वावेको प्रयासलाई प्रतिबिम्बित गरेको छ । जारी अमेरिकी प्रतिबन्धका बीच च्याङ्जीलाई ओपन-सोर्स बनाउने ह्वावेको निर्णयले आफ्नै सफ्टवेयर इकोसिस्टम निर्माण गर्ने प्रयासलाई तीव्रता दिएको स्पष्ट सङ्केत गरेको हो ।
सोही डेभलपर कन्फ्रेन्सको अवसरमा ह्वावेले आफ्नो अपरेटिङ सिस्टमको पछिल्लो भर्सन हार्मोनीओएस ६, नयाँ एआई मोडेल र आफ्नो क्लाउडम्याट्रिक्स ३८४ एआई र्याक आर्किटेक्चर पनि प्रस्तुत गरेको थियो। ह्वावेको उपभोक्ता व्यवसाय समूहका अध्यक्ष रिचर्ड यू चेङडोङका अनुसार हार्मोनीओएस ५ हालसम्म ४० भन्दा बढी डिभाइस मोडेलहरूमा इन्स्टल भइसकेको छ ।
जसको इकोसिस्टममा ८० लाखभन्दा बढी डेभलपर दर्ता भएका छन् र ३०,००० भन्दा बढी एप तथा मिनी-प्रोग्रामहरू उपलब्ध छन् । च्याङ्जीको ओपन-सोर्सले यो बढ्दो इकोसिस्टमलाई अझ बलियो बनाउन र विश्वव्यापी सफ्टवेयर बजारमा ह्वावेको प्रभाव विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: असार २०, २०८२ १६:४७
सामाग्री श्रोत :
टेक पाना