
काठमाडौँ । डिशहोमको रमाइलो टिभी च्यानलले चर्चित धार्मिक टेलिभिजन सिरिज ‘रामायण’ नेपाली भाषामा प्रसारण गर्ने भएको छ । यो ऐतिहासिक श्रृंखला १९ असारदेखि हरेक बिहीबार र शुक्रबार बेलुका ८ बजे प्रसारण हुनेछ ।
‘रामायण’ भारतीय संस्कृत महाकाव्य रामायणमा आधारित टेलिभिजन श्रृंखला हो । यसलाई चर्चित निर्माता, निर्देशक तथा लेखक रामानन्द सागरले निर्माण गरेका हुन् । यो सिरिज पहिलोपटक सन् १९८७ देखि १९८८ सम्म भारतको डीडी नेसनल च्यानलमा प्रसारित भएको थियो । आशोक कुमार र रामानन्द सागरद्वारा प्रस्तुत गरिएको यो श्रृंखलामा संगीत संयोजन रविन्द्र जैनले गरेका थिए ।
‘रामायण’ ले प्रसारणको समयमा भारतमा ८२ प्रतिशत दर्शक संख्या पाउँदै इतिहास रचेको बताइन्छ । बीबीसीका अनुसार यो श्रृंखलालाई ६५ करोडभन्दा बढी दर्शकले हेरेका थिए । यसको पुनः प्रसारण विश्वका १७ देशका २० भन्दा बढी च्यानलमार्फत पनि गरिएको थियो ।

कोरोना महामारीका बेला सन् २०२० मा यसको पुनः प्रसारण हुँदा एकै दिन सात करोड ७० लाख दर्शक संख्यासहित विश्वको सबैभन्दा धेरै हेरिएको टेलिभिजन कार्यक्रमको कीर्तिमान बनाएको थियो ।
डिशहोमले आफ्ना ग्राहकका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद, लोकप्रिय कार्यक्रम र मनोरञ्जनात्मक सामग्रीहरु लगातार प्रसारण गर्दै आएको छ । यसैक्रममा, अब डिशहोमका ग्राहकले यो ऐतिहासिक र धार्मिक कथा नेपाली भाषामा रमाइलो टिभीमार्फत हेर्न सक्नेछन् ।
हाल रमाइलो टिभी डिशहोमका ग्राहकका लागि मात्र उपलब्ध छ ।
पछिल्लो अध्यावधिक: असार १६, २०८२ १५:५२
सामाग्री श्रोत :
टेक पाना