
काठमाडौँ । विद्युतीय कार निर्माता टेस्लाले स्वचालित (सेल्फ-ड्राइभिङ) प्रविधिमा एक ऐतिहासिक सफलता हासिल गरेको छ । कम्पनीले पहिलो पटक अमेरिकाको टेक्सासस्थित आफ्नो फ्याक्ट्रीबाट चालक बिना नै कार सिधै ग्राहकको घरसम्म डेलिभरी गरेको हो ।
केही हप्ताअघि मात्र टेस्लाले टेक्सासको अस्टिनमा आम मानिसलाई चालकविहीन ट्याक्सी (रोबोट्याक्सी) को अनुभव लिन आमन्त्रण गरेको थियो । अहिले कम्पनीले फ्याक्ट्रीबाट कार डेलिभरी गरेर सबैलाई चकित पारेको छ ।
World’s first autonomous delivery of a car!
This Tesla drove itself from Gigafactory Texas to its new owner’s home ~30min away — crossing parking lots, highways & the city to reach its new owner pic.twitter.com/WFSIaEU6Oq
— Tesla (@Tesla) June 28, 2025
टेस्लाले आफ्नो सामाजिक सञ्जाल ‘एक्स’मा एक पोस्ट गर्दै लेखेको छ, “विश्वको पहिलो स्वचालित कार डेलिभरी !” कम्पनीले सार्वजनिक गरेको भिडिओ अनुसार ‘क्विकसिल्भर मोडल वाई’ कार फ्याक्ट्रीबाट निस्किएर राजमार्गमा गुड्दै करिब ३० मिनेटको यात्रापछि आफ्नो नयाँ मालिकको घरमा पुगेको थियो । यात्राका क्रममा कारले राजमार्ग, सहरी सडक, ट्राफिक, पैदलयात्री, ट्राफिक लाइट र चोक सफलतापूर्वक पार गरेको भिडिओमा देखिन्छ । कार घरको अगाडि रोकिएपछि ग्राहकले आफ्नो नयाँ गाडीको डेलिभरी लिएका थिए ।
यो सफलतापछि टेस्लाले ग्राहकको घरबाहिर डेलिभरी गरिएका केही तस्बिर पनि सार्वजनिक गरेको छ । कम्पनीका सीईओ एलन मस्कले पनि यो खबर शेयर गर्दै टेस्लाको एआई टिमलाई बधाई दिएका छन् । उनले लेखेका छन्, “टेस्ला एआई टिमका सफ्टवेयर र एआई चिप डिजाइन दुवै टिमलाई बधाई !”
The first fully autonomous delivery of a Tesla Model Y from factory to a customer home across town, including highways, was just completed a day ahead of schedule!!
Congratulations to the @Tesla_AI teams, both software & AI chip design!
— Elon Musk (@elonmusk) June 27, 2025
टेस्लाका एआई उपाध्यक्ष अशोक इल्लुस्वामीले यात्राको विवरण शेयर गर्दै कारले राजमार्गमा ७२ माइल प्रतिघण्टा (लगभग ११६ किलोमिटर प्रतिघण्टा) को अधिकतम गतिमा गुडेको जानकारी दिए । यो ऐतिहासिक क्षणभन्दा केही महिनाअघि मात्र टेस्लाका गाडी फ्याक्ट्रीभित्रै स्वचालित रूपमा पार्किङ स्थलसम्म पुग्न थालेका थिए । सोही परीक्षणको सफलतापछि कम्पनीले सार्वजनिक सडकमा चालक वा यात्रु बिना नै कारको क्षमता देखाउन यो डेलिभरी गरेको हो ।
यो घटना टेस्लाको ‘फुल सेल्फ-ड्राइभिङ’ सफ्टवेयर प्रयोग गरेर पूर्ण स्वचालित गाडी बजारमा ल्याउने योजनाको लागि एक महत्त्वपूर्ण कोशेढुङ्गा मानिएको छ । यसले कम्पनीको एआई र सेल्फ-ड्राइभिङ कारमाथिको लगानीले सार्थकता पाउन थालेको देखाएको छ ।
पछिल्लो अध्यावधिक: असार १७, २०८२ ७:४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५९ पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ १५ पैसा र बिक्रीदर १०० रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २१ पैसा र बिक्रीदर चार रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४ रुपैयाँ ४९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५२ पैसा र बिक्रीदर २१ रुपैयाँ ६२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ८१ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५१ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ६२ पैसा र विक्रीदर ३५७ रुपैयाँ १८ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । डिशहोमको रमाइलो टिभी च्यानलले चर्चित धार्मिक टेलिभिजन सिरिज ‘रामायण’ नेपाली भाषामा प्रसारण गर्ने भएको छ । यो ऐतिहासिक श्रृंखला १९ असारदेखि हरेक बिहीबार र शुक्रबार बेलुका ८ बजे प्रसारण हुनेछ ।
‘रामायण’ भारतीय संस्कृत महाकाव्य रामायणमा आधारित टेलिभिजन श्रृंखला हो । यसलाई चर्चित निर्माता, निर्देशक तथा लेखक रामानन्द सागरले निर्माण गरेका हुन् । यो सिरिज पहिलोपटक सन् १९८७ देखि १९८८ सम्म भारतको डीडी नेसनल च्यानलमा प्रसारित भएको थियो । आशोक कुमार र रामानन्द सागरद्वारा प्रस्तुत गरिएको यो श्रृंखलामा संगीत संयोजन रविन्द्र जैनले गरेका थिए ।
‘रामायण’ ले प्रसारणको समयमा भारतमा ८२ प्रतिशत दर्शक संख्या पाउँदै इतिहास रचेको बताइन्छ । बीबीसीका अनुसार यो श्रृंखलालाई ६५ करोडभन्दा बढी दर्शकले हेरेका थिए । यसको पुनः प्रसारण विश्वका १७ देशका २० भन्दा बढी च्यानलमार्फत पनि गरिएको थियो ।
कोरोना महामारीका बेला सन् २०२० मा यसको पुनः प्रसारण हुँदा एकै दिन सात करोड ७० लाख दर्शक संख्यासहित विश्वको सबैभन्दा धेरै हेरिएको टेलिभिजन कार्यक्रमको कीर्तिमान बनाएको थियो ।
डिशहोमले आफ्ना ग्राहकका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद, लोकप्रिय कार्यक्रम र मनोरञ्जनात्मक सामग्रीहरु लगातार प्रसारण गर्दै आएको छ । यसैक्रममा, अब डिशहोमका ग्राहकले यो ऐतिहासिक र धार्मिक कथा नेपाली भाषामा रमाइलो टिभीमार्फत हेर्न सक्नेछन् ।
हाल रमाइलो टिभी डिशहोमका ग्राहकका लागि मात्र उपलब्ध छ ।
पछिल्लो अध्यावधिक: असार १६, २०८२ १५:५२
सामाग्री श्रोत :
टेक पाना