काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्नेहरूलाई सार्वजनिक गर्ने गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानको अभियानलाई समर्थन गरेका छन् । शनिबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उनले ‘परपीडक प्रवृत्ति’बाट समाजलाई बचाउन गायिकाद्वयले अपनाएको तरिका सही भएको बताएका हुन् ।

पछिल्लो समय गायिकाद्वय अधिकारी र चौहानले सामाजिक सञ्जालमा आफूहरूमाथि अभद्र र अपमानजनक भाषा प्रयोग गर्ने व्यक्तिहरूको नाम, फोटो र प्रोफाइलसहितको टिप्पणी सार्वजनिक गर्ने अभियान चलाइरहेका छन् । उनीहरूको यो कदमले सामाजिक सञ्जालमा हुने गालीगलौज र अभद्रतालाई निरुत्साहित गर्ने चर्चा चलिरहेको बेला प्रधानमन्त्रीको समर्थन आएको हो ।
प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, “आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ । समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो ।”
प्रधानमन्त्री ओलीले उनीहरूलाई ‘साहसी छोरीहरू’ को संज्ञा दिँदै सकारात्मक काम गर्नेहरूले गालीगलौजबाट हतोत्साहित हुन नहुनेमा जोड दिए । “समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो। राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन,” ओलीले थपे ।

गायिकाद्वयको व्यक्तिगतस्तरको अभियानमा देशको कार्यकारी प्रमुखले नै खुलेर समर्थन जनाएका हुन् । रोचक त के छ भने प्रधानमन्त्री ओली स्वयं सामाजिक सञ्जालमा सबैभन्दा बढी आलोचना र व्यङ्ग्यको सिकार हुने राजनीतिक व्यक्तित्वमध्ये पर्छन् । यस्तो पृष्ठभूमिमा उनले सामाजिक सञ्जालको अभद्रता विरुद्ध उठेको आवाजलाई समर्थन गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
सम्बन्धित समाचार:
सामाजिक सञ्जालमा गाली गर्नेलाई सार्वजनिक गर्दै सेलेब्रेटीहरू
कारबाही नहुँदा गाली गर्नेलाई सार्वजनिक गर्दै कलाकार, नेताको उजुरीमा मात्रै ब्युरोको एक्सन ?
सुरक्षा पन्तलाई ढाडस दिँदा ऋचा शर्मालाई फेसबुकमा अभद्र गाली, सार्वजनिक गरिन् स्क्रिनशट
टिकटकका पुराना भिडिओ क्लिप प्रयोग गरी समाचार बनाइएपछि गायिका एलिना चौहानको आपत्ति
पछिल्लो अध्यावधिक: असार १४, २०८२ ९:४८
सामाग्री श्रोत :
टेक पाना