काठमाडौँ । कलाकार दीपक राज गिरीले सामाजिक सञ्जालमा सेलिब्रेटीहरूमाथि भइरहेको चरित्रहत्या र गालीगलौजको पछाडि प्रतिस्पर्धीहरूको समेत हात रहेको आरोप लगाएका छन् । शुक्रबार फेसबुकमा एक स्टाटस पोस्ट गर्दै गिरीले सामाजिक सञ्जाललाई अपमान र गालीको बजारजस्तो बनाइएको टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, “एउटै पेशामा रहेका प्रतिस्पर्धीहरूकै संलग्नतामा पनि यस्ता गाली किन्ने र बेच्ने काम भइरहेको अवस्था छ !”
उनले सामाजिक सञ्जालमा कलाकार, पेशाकर्मी र नाम कमाएका व्यक्तिहरूमाथि अन्धाधुन्ध लाञ्छना लगाउने प्रवृत्ति मौलाएको उल्लेख गरेका छन् । समाज र राष्ट्रका लागि कुनै योगदान नगर्ने मानिसहरू नै अरूलाई नैतिकताको पाठ पढाउने, चरित्रहत्या गर्ने र गाली गर्ने काममा सक्रिय देखिएको उनले टिप्पणी गरे ।
पछिल्लो समय चर्चामा रहेकी गायिका समीक्षा अधिकारीको उदाहरण दिँदै उनले लेखेका छन्, “सानो उमेरमा नै उनीमाथि जुन बज्रपात पर्यो, त्यो ठाउँमा जो भए पनि टिक्न सक्दैनथ्यो होला । तर, उनले परिस्थितिसँग घुँडा टेकिनन् र लड्दै आइन् र त्यसकै फलस्वरूप आज यहाँ पुगिन् ।”

उनले प्रतिस्पर्धीहरूले काम र क्षमताले जित्न नसकेपछि गाली गरेर भए पनि प्रतिद्वन्द्वीलाई हतोत्साहित बनाउन खोज्ने प्रवृत्ति रहेको बताएका छन् । “यो ठाउँमा जसले जति गाली गर्न सक्यो, त्यो हिरो । चुपचाप आफ्नो काम गरेर खाने पात्रहरू चाहिँ खलनायक,” उनले स्टाटसमा लेखेका छन् ।
साइबर अपराध नियन्त्रणमा कमजोर कानुन रहेको भन्दै उनले असन्तुष्टि पनि व्यक्त गरेका छन् । “ठुला नेतालाई गाली गर्यो भने समातेर तु कारबाही सुरु गरिहाल्ने, तर अन्य मानिसहरूलाई गरिएको गालीगलौजको त रिपोर्ट भए पनि कसले सुन्ने ? सुने पनि बर्षौँ लाग्ने, त्यसकै पछि लागिरहने फुर्सद कहाँ पाउनु फेरि ?” गिरीको गुनासो छ ।
सामाजिक सञ्जालमा गाली गर्ने र लाञ्छना लगाउनेहरूमाथि आफैं खनिएर प्रतिकार गर्ने अभियानलाई उनले प्रशंसा गर्दै त्यसलाई निरन्तरता दिन शुभकामना दिएका छन् ।
सम्बन्धित समाचार:
सामाजिक सञ्जालमा गाली गर्नेलाई सार्वजनिक गर्दै सेलेब्रेटीहरू
कारबाही नहुँदा गाली गर्नेलाई सार्वजनिक गर्दै कलाकार, नेताको उजुरीमा मात्रै ब्युरोको एक्सन ?
सुरक्षा पन्तलाई ढाडस दिँदा ऋचा शर्मालाई फेसबुकमा अभद्र गाली, सार्वजनिक गरिन् स्क्रिनशट
टिकटकका पुराना भिडिओ क्लिप प्रयोग गरी समाचार बनाइएपछि गायिका एलिना चौहानको आपत्ति
पछिल्लो अध्यावधिक: असार १३, २०८२ १२:४३
सामाग्री श्रोत :
टेक पाना