काठमाडौँ । भारतको कर्नाटकमा एक अनौठो साइबर ठगी भएको छ । फेसबुकमा झुक्किएर पठाएको ‘आई लभ यु’ मेसेजको आधारमा बैंकका एक कर्मचारीले ११ लाख रुपैयाँ बढी गुमाउन पुगेका छन् ।

प्रहरीका अनुसार, ५१ वर्षीय परशिवमूर्ती एमपीले गत अक्टोबर ११ मा फेसबुकमा झुक्किएर एक व्यक्तिलाई ‘आई लभ यु’ मेसेज पठाएका थिए । त्यसको केही हप्तापछि नोभेम्बर २ मा, उनलाई पेरियापाट्नाको साइबर प्रहरी विभागबाट बोलेको भन्दै एक फोन आयो ।
फोन गर्ने व्यक्तिले उनलाई सामाजिक सञ्जालमा केटीहरूलाई दुर्व्यवहार गरेको झुटा आरोप लगाउँदै पैसा नदिए घरमै आएर पक्राउ गर्ने, छिमेकीसामु बेइज्जत गर्ने र जेल हाल्ने धम्की दिएको थियो ।
एक सहकारी बैंकमा कार्यरत परशिवमूर्तीले सुरुमा उजुरी गर्न हिचकिचाएका थिए । तर, ठगहरूले लगातार फोन गरेर मानसिक दबाब दिएपछि उनले पटक-पटक गरी उनीहरूलाई सात लाख भारु (११ लाख २० हजार नेपाली रुपैयाँ) दिए ।

अन्ततः उनले जनवरी ११ मा प्रहरीमा उजुरी दिएपछि डीएसपी पी. चन्द्रशेखरको नेतृत्वमा गठित विशेष अनुसन्धान टोलीले घटनाको अनुसन्धान अघि बढाएको थियो । सोही अनुसन्धानका आधारमा प्रहरीले कोडागुका २५ वर्षीय इब्राहिम बादशाह, मान्ड्याका १९ वर्षीय राघवेन्द्र बीएम, बेङ्गलुरुकी ३० वर्षीया संगीता (इब्राहिमकी श्रीमती), कुशलनगरका १९ वर्षीय चरण सीके र एक आपराधिक पृष्ठभूमि भएका नाबालिगलाई गएको मंगलबार पक्राउ गरेको छ ।
उनीहरूलाई अदालतमा उपस्थित गराइएको छ भने अपराधमा प्रयोग भएका चारवटा मोबाइल फोन पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
–इन्डियन एक्सप्रेसको सहयोगमा
पछिल्लो अध्यावधिक: असार १३, २०८२ ९:५४
सामाग्री श्रोत :
टेक पाना