२०८२ असार १३ शुक्रबार
२०८२ असार १३ शुक्रबार

नेपाली दम्पतीले अमेरिकामा सुरु गरेको वेब थ्री स्टार्टअप न्युरलले जुटायो सवा ४ अर्ब बढीको लगानी

काठमाडौँ । नेपाली दम्पती नामी बराल र नवीन बास्कोटाले अमेरिकामा स्थापना गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित फिनटेक कम्पनी न्युरल (Niural) ले तीन  करोड १० लाख अमेरिकी डलर (चार अर्ब २६ करोड रुपैयाँ बढी) को लगानी जुटाएको छ । एआई प्रविधिमा आधारित वेब थ्री स्टार्टअप कम्पनीले हालैको फन्डिङ राउन्डका क्रममा म्याराथन नामक कम्पनीको नेतृत्वका लगानीकर्ताबाट सो पुँजी सङ्कलन गरेको हो ।

प्राप्त लगानी कम्पनीको उद्देश्यलाई थप गति दिन र सीएफओ (मुख्य वित्तीय अधिकारी) सुइटका लागि एआई आधारित ‘सिस्टम अफ इन्टेलिजेन्स’ निर्माण गर्न प्रयोग गरिने उल्लेख छ ।

न्युरलले व्यवसायहरूको संवेदनशील सञ्चालन व्यवस्थापनलाई सहज तुल्याउन पेरोल नामक सिस्टम विकास पारेको छ । कम्पनीले त्यसलाई ग्लोबल कम्प्लायन्स र भुक्तानीका लागि आफ्नै बलियो पूर्वाधारको रूपमा निर्माण गरेको छ । एड्भान्स एआई प्रविधि जोडेर यसलाई ‘सिस्टम अफ रेकर्ड’ बाट ‘सिस्टम अफ इन्टेलिजेन्स’ मा रूपान्तरण गरिएको कम्पनीको भनाइ छ।

न्युरलको प्रोप्राइटरी पूर्वाधारको रूपमा रहेको यो प्लेटफर्ममा एआई एकीकृत गरीएको छ । कम्पनीको स्वामित्वमा रहेको एम्मा (EMMA) सुपरएजेन्टले भर्टिकल एआई एजेन्टहरूलाई नियन्त्रण गर्छ, जसले पेरोल, कम्प्लायन्स, खर्चको स्वीकृति जस्ता जटिल कार्यहरू तुरुन्तै र सही रूपमा सञ्चालन गर्न सक्छ ।

न्युरलले सोझै ग्लोबल बैङ्किङ नेटवर्कहरूसँग इन्टिग्रेट गरिएको पेमेन्ट इन्जिन समेत तयार पारेको छ, जसले स्टेबलकोइन (stablecoin) पेमेन्ट रेल्सलाई समेत सपोर्ट गर्छ ।

नवीन बास्कोटाका अनुसार, न्युरलको एउटा मुख्य उत्पादन यूएसडीसी स्टेबलकोइनमा आधारित पेरोल प्रणाली हो, जुन क्रिप्टोमा आधारित छ । यसलाई विश्वभरका कम्पनीहरूले विश्वभरका मानिसहरूलाई रोजगार दिन सक्ने गरी विकसित गरिएको छ । न्युरलको मुख्य उद्देश्य मध्यस्थकर्ता बिना नै एक पक्षबाट अर्को पक्षमा ‘रियल टाइम’ भुक्तानी सेवा प्रदान गर्नु हो, जसको लागि ब्लकचेन प्रविधिको प्रयोग गरिन्छ ।

न्युरलले पछिल्लो एक वर्षमा उल्लेखनीय वृद्धि हासिल गरेको छ । कम्पनीको वर्ष-प्रति-वर्ष वृद्धि ७००% रहेको छ भने यसको नेट रेभिन्यु रिटेन्सन रेट १८०% भन्दा बढी छ । यो वृद्धि मुख्यतया ग्राहक र साझेदार रेफरलहरूबाट भएको हो ।

टेन्सर ल्याब्समा अपरेसन्स भीपी रहेका फिल ज्याकोब्सनले न्युरललाई ‘साझेदार’ र आफ्नो टिमको विस्तारको रूपमा उल्लेख गरेका छन् । कराते डटकमका जनरल काउन्सिल डेभिड कनले पनि आफूहरू न्युरलको सम्पूर्ण उत्पादन सुइटमा निर्भर रहेको र यसले धेरैजसो सहायक कम्पनी, जटिल भुक्तानीहरू र व्यापक कम्प्लायन्स आवश्यकताहरू सहजै व्यवस्थापन गर्ने बताएका छन् ।

यस लगानी राउन्डबाट म्याराथन म्यानेजमेन्ट पार्टनर न्युरलको रणनीतिक साझेदारको रूपमा जोडिएको छ । यसमा म्याराथनको तर्फबाट गोकुल राजाराम र चेज प्याकार्ड संलग्न हुनेछन् । गोकुल राजारामसँग अल्फाबेट, मेटा र डोरड्याश जस्ता कम्पनीहरूमा उत्पादनको नेतृत्व गरिसकेको अनुभव छ । चेज प्याकार्डले भने कोट्यु (Coatue) मा पार्टनरको रूपमा फिनटेक र लगानीमा गहिरो विशेषज्ञता हासिल गरेका छन् ।

चेज प्याकार्डका अनुसार न्युरलले वित्तीय पूर्वाधार र सफ्टवेयर प्लेटफर्म दुवैको समस्यालाई बुझेको र सुरुदेखि नै पूर्ण सुविधा सहितको मल्टी-प्रोडक्ट अनुभव प्रदान गरेको बताएका छन् । यस अघिका लगानीकर्ताहरू एम१३, इन्स्पायर्ड क्यापिटल, न्युफर्म क्यापिटल, हस्टल फन्ड, अलायन्स लगायतले पनि न्युरलमा आफ्नो विश्वास कायम राखेका छन् ।

इन्स्पायर्ड क्यापिटलकी अलेक्सा भोन टोबेलले सन् २०२२ मा न्युरलमा पहिलो लगानी गर्दा नै नामी र नवीनमा एआई प्रयोग गरी पुरानो पूर्वाधारलाई ‘इन्टेलिजेन्ट सिस्टम’ मा रूपान्तरण गर्ने दूरदृष्टि स्पष्ट रहेको बताएकी छन् ।

न्यरलका संस्थापकद्वय नामी बराल र नवीन बास्कोटा दम्पती हुन् । दुवैको पृष्ठभूमि वित्तीय प्रविधि र उद्यमशीलतासँग जोडिएको छ । नामीले हार्वर्ड विश्वविद्यालयमा अर्थशास्त्र र गणित अध्ययन गरेकी थिइन् । उनले आफ्नो पहिलो जागिर वालस्ट्रिटमा लगानी बैङ्करको रूपमा सुरु गरेकी थिइन् ।

त्यसपछि उनले एउटा स्टार्टअपमा काम गरिन्, जसलाई पछि ट्वीटरले अधिग्रहण गर्‍यो र उनले ट्वीटरमा ‘रेभिन्यु पार्टनर’ विभागको प्रमुखको रूपमा करिब चार वर्ष काम गरिन् । ट्वीटर छोडेपछि सन् २०१८ मा उनले ‘हार्भेस्ट प्लेटफर्म’ नामक एआई आधारित वित्तीय स्टार्टअप स्थापना गरिन्, जसले विद्यार्थीहरूलाई बैङ्कमा रहेको ऋण व्यवस्थापनमा सहयोग गर्थ्यो । यो कम्पनीलाई सन् २०२१ को फेब्रुअरीमा अमेरिकाकै ठुलो फिनटेक कम्पनी एक्रोन्सले अधिग्रहण गर्‍यो ।

अर्कोतर्फ बास्कोटाले सुरुमा कम्प्युटर इन्जिनियरिङ अध्ययन गरे पनि पछि अर्थशास्त्रमा मोडिए । वालस्ट्रिटमा इन्टर्नशिपको मौका पाएका उनले केपीएमजी (KPMG) तथा जेपी मोर्गन (JP Morgan) जस्ता कम्पनीहरूमा वित्तीय जिम्मेवारीमा काम गरे, जहाँ उनले बैङ्किङ र वित्तीय प्रणालीबारे १३ वर्ष लामो अनुभव हासिल गरे । यहाँ क्लिक गरेर न्युरलबारे टेकपानाले तयार पारेको पूरा स्टोरी पढ्न सक्नु हुनेछ ।

नामी र नवीनको भेट सन् २०११ मा नेपाली समुदायको एउटा कार्यक्रममा भयो र उनीहरू सन् २०१५ मा विवाह बन्धनमा बाँधिए । उनीहरूले मे २०२२ मा न्युरलको अवधारणा ल्याए ।

न्युरल नाम एआईको अवधारणाबाट प्रेरित भएको नामी बताउँछिन्, किनकि एआईले मानव मस्तिष्कमा आधारित विभिन्न न्युरोनहरूको नेटवर्क जस्तै काम गर्छ । यो दम्पतीको लक्ष्य भनेको नेपाललाई विश्वका ठुला कम्पनीहरूको मुख्य कार्यालय स्थापना गर्ने थलो बनाउनु हो र नेपाली प्रतिभालाई विश्वस्तरमा पुर्‍याउनु हो ।

नवीनका अनुसार, भविष्यमा न्युरलको मुख्य कार्यालय नेपालमै हुनेछ र कम्पनीले नेपालीहरूलाई काम मात्र नदिई तालिम दिएर आफैँ उद्यमी बन्न सक्ने क्षमता विकास गराउनेछ । न्युरल भिसाको फिनटेक फास्टट्रयाक प्रोग्राममा पनि स्वीकृत भइसकेको छ ।

पछिल्लो अध्यावधिक: असार १२, २०८२ १३:५१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट