काठमाडौं। त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ। स्कटल्यान्डको ग्लास्गोमा भएको खेलमा नेपाल सुपरओभरमा नेदरल्यान्ड्ससँग पराजित भएको हो। नेपाल तेस्रो सुपरओभरमा पराजित भएको हो।

निर्धारित २० ओभरको खेल बराबरीमा सकिएपछि खेल सुपर ओभरमा पुगेको थियो। पहिलो सुपर ओभरमा नेपालले २० रनको लक्ष्य दिएको थियो। तर नेदरल्यान्ड्सले १९ रन बनाएपछि खेल दोस्रो सुपर ओभरमा गएको थियो। दोस्रो सुपरओभरमा नेदरल्यान्ड्सले नेपाललाई १८ रनको लक्ष्य दिएपनि नेपालले १७ रन जोडेपछि खेल तेस्रो सुपर ओभरमा गएको थियो।
तेस्रो सुपर ओभरमा भने पहिला ब्याटिङ गरेको नेपालले एक रन पनि बनाउन सकेन। एक रनको लक्ष्य पाएको नेदरल्यान्ड्सले पहिलो बलमै नेपाललाई हरायो।
निर्धारित २० ओभरको खेलमा नेदरल्यान्ड्सले दिएको एक सय ५३ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर एक सय ५२ रन बनाएपछि खेल सुपरओभरमा गएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४८ रन बनाए भने कुशल भुर्तेलले ३४ तथा रुपेश सिंहले १९ रन जोडे। नेदरल्यान्ड्सका डेनियल डोरमले तीन विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ५२ रन बनाएको थियो।
नेदरल्यान्ड्सका लागि तेजा निदामनुरुले सर्वाधिक ३५ रन बनाए। यस्तै शाकिब जुल्फिकरले ११ बलमा २४ रन बनाए भने विक्रमजित सिंहले ३० रन बनाए। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। यस्तै नन्दन यादवले दुई तथा ललित राजवंशी र कुशल भुर्तेलले एक एक विकेट लिए।
सामाग्री श्रोत :