काठमाडौँ । विद्युत आपूर्ति नहुँदा कर्णाली प्रदेशका केही स्थानमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै टेलिकमले सेवा अवरुद्ध भएको जानकारी दिएको हो ।

कम्पनीका अनुसार विद्युत आपूर्ति अवरुद्ध हुँदा टुजी, थ्रीजी, फोरजी र वायरलाइन एफटीटीएच सेवा शुक्रबार बिहानैदेखि अवरुद्ध भएको छ । टेलिकमका अनुसार नेपाल विद्युत प्राधिकरणको कोहलपुर-सुर्खेत ३३ केभी प्रसारण लाइनमा समस्या आएकाले विद्युत आपूर्ति बन्द भएको हो ।
प्राधिकरणलाई उद्धृत गर्दै टेलिकमले जनाए अनुसार निकुञ्ज क्षेत्रको देउरालीदेखि हर्रेसम्मको लाइनमा फल्ट (समस्या) देखिएको छ र पैदल हिँडेर मर्मत गर्नुपर्ने भएकाले समय लाग्ने देखिएको छ । यस्तै लम्की–सुर्खेत ३३ केभी लाइनको चिसापानी-बाबियाचौर खण्डमा पनि समस्या देखिएको र मर्मतका लागि टोली खटाइएको छ ।
विद्युत अवरुद्ध हुनुका साथै मौसम प्रतिकूल हुँदा सोलारबाट चल्ने साइट पनि प्रभावित भएका छन् । यसले गर्दा दूरसञ्चार उपकरणका ब्याट्री ब्याकअप सकिँदै गएकाले सेवा अवरुद्ध हुन पुगेको टेलिकमले जनाएको छ ।

टेलिकमले सम्भव भएसम्मका स्थानमा पोर्टेबल जेनेरेटरमार्फत सेवा सञ्चालन गर्ने प्रयास गरिरहेको जानकारी दिएको छ । विद्युत आपूर्ति नियमित भएपछि सेवा पुनः सञ्चालनमा आउने कम्पनीले उल्लेख गरेको छ ।
पछिल्लो अध्यावधिक: जेठ ३०, २०८२ १३:३५
सामाग्री श्रोत :
टेक पाना