२०८२ जेष्ठ ३२ शनिबार
LATEST NEWS
२०८२ जेष्ठ ३२ शनिबार

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय भरतपुर चितवनका कार्यालय सहायकसहितका कर्मचारीलाई आज नियन्त्रणमा लिएको छ।

यातायात व्यवस्था कार्यालय, भरतपुर, चितवनमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा भ्रष्टाचार गरेको आरोपमा यातायात व्यवस्था कार्यालय चितवनका कार्यालय सहायक ईन्द्रजित गुरुङको कार्यकक्षबाट रु एक लाख ८५ हजार नगदसहित बिचौलिया सुरज पाठक र गुरुङसमेतलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

उनका अनुसार आयोगको टङ्गालबाट खटिई गएको टोलीले उनीहरूलाई यातायात व्यवस्था कार्यालय परिसरबाट रु एक लाख ८५ हजार नगदसहित नियन्त्रणमा लिइएको हो।

यातायात कार्यालयका कर्मचारी र महालक्ष्मी, गुरुङ, तथा कुमार ड्राइभिङ सेन्टरका सञ्चालकको मिलेमतोमा लाइसेन्स परीक्षामा असफल भएका परीक्षार्थीलाई पास गराउन रकम लिने गरिएको तथा सवारीको वर्गअनुसार रु १५ हजारदेखि २५ हजार लिएर असफल प्रशिक्षार्थीलाई पास गराउने गैर कानुनीकार्य भएको उजुरीका आधारमा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

यसैगरी कार्यालय प्रमुख बिष्णु भट्टराई तथा अन्य कर्मचारी र विभिन्न ड्राइभिइ सेन्टरका सञ्चालकको विद्युतीय उपकरण मोबाइल ३१ थानभन्दा बढी, ल्याप्टप दुई थान र अन्य कागजातसमेत आज नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताए।


सामाग्री श्रोत :

अख्तियारद्वारा यातायात व्यवस्था कार्यालय भरतपुरका सहायकसहितका कर्मचारी नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ इन्जिनियरिङ कलेजमा सम्पन्न ‘रोबोटिक्स फर गुड युथ च्यालेन्ज- नेपाल राष्ट्रिय प्रतियोगिता’ बाट विजयी भएका टोलीहरूले सन् २०२५ मा स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने ‘एआई फर गुड ग्लोबल समिट’ मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।

रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्‍यान)ले अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयू) र काठमाडौँ इन्जिनियरिङ कलेजको सहकार्यमा आयोजना गरेको प्रतियोगितामा देशभरिका युवाले बाढी, पहिरो, विपद् व्यवस्थापन, स्वास्थ्य, शिक्षा र समावेशी प्रविधिसँग सम्बन्धित सामाजिक समस्याहरू समाधान गर्ने प्रविधिमा आधारित नवीनतम समाधान प्रस्तुत गरेका थिए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कार्यक्रमको उद्घाटन गर्दै युवामुखी प्रविधि प्रवर्द्धन कार्यक्रम आयोजना गरेबापत र्‍यानलाई धन्यवाद दिए । मन्त्री गुरुङले प्रविधिमा राज्य र निजी क्षेत्र दुवैले गम्भीर ढंगले लगानी गर्नुपर्ने आवश्यकता रहेको बताए । उनका अनुसार मन्त्रालयले प्रविधि, एआई, रोबोटिक्स र आईसीटी पूर्वाधार विकासका लागि ३० अर्ब रुपैयाँको बजेट माग गरेपनि सातदेखि आठ अर्ब मात्र स्वीकृत भएको छ । उनले भने, “यदि हामी विद्यार्थीबाट इनोभेसन चाहन्छौं भने उनीहरूको भविष्यमा लगानी गर्नुपर्छ ।”

कार्यक्रममा संघीय सरकारका नीति निर्माता, अनुसन्धानकर्ता, शैक्षिक संस्थाका प्रतिनिधि, विद्यार्थी र युवा उद्यमीको सहभागिता थियो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) का सचिव डा. रविन्द्रप्रसाद ढकालले ‘AI for Good’ को अर्थ प्रविधिको समाजमैत्री प्रयोग भएको उल्लेख गर्दै प्रविधिले समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले नेपालमै बनेको स्याटलाइट ‘डाँफे’ को सफल प्रयोग उदाहरणस्वरूप प्रस्तुत गरे ।

पुल्चोक क्याम्पसका डीन डा. सुशील बज्राचार्यले प्रविधिमा आधारित नवप्रवर्तनलाई सघाउन १८-१९ तले प्रविधि इन्क्युबेसन टावर निर्माणको प्रस्ताव मन्त्रालयमा पठाइसकिएको जानकारी दिए । झन्डै ९ अर्ब रुपैयाँको पूर्वाधार विकास योजना शिक्षा मन्त्रालयमा पेस गरिएको उनले बताए ।

कार्यक्रममा र्‍यानका महासचिव ओमकार जैसवालले सरकारले सञ्चालनमा ल्याएको डिजिटल नीतिको प्रशंसा गर्दै दीर्घकालीन संस्थागत सहकार्य र सशक्त संलग्नताको आवश्यकता औंल्याए । उनले नास्टसँगको सहकार्यमा तयार पारिएको ‘नेसनल इनोभेसन डिजिटल नेटवर्क’ को जानकारी दिँदै नवप्रवर्तनकर्तालाई राष्ट्रिय स्तरमा समाधान प्रदर्शन र विस्तार गर्न प्लेटफर्म प्रदान गरिने बताए ।

प्रतियोगिताको वरिष्ठ तहतर्फ प्रथम स्थान Team Panchkhal (नारायण श्रेष्ठ र प्रवीण श्रेष्ठ), द्वितीय स्थान Team Innovator’s (प्रिजल बस्नेत, सम्पना केसी र श्रेयश आचार्य) र तृतीय स्थान Blockbuddy (काजोल चन्द, शेरोन थापा र मुना बुढाथोकी) ले प्राप्त गरे ।

यी टोलीहरू सन् २०२५ को जुलाई ९ मा जिनेभामा हुने सम्मेलनमा सहभागी हुँदै ६० भन्दा बढी देशका प्रतिनिधिसँग अन्तरक्रिया र प्रतिस्पर्धा गर्नेछन् ।

यसैबिच, कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूको लागि आयोजना गरिएको जुनियर तहको प्रतियोगिता युनाइटेड स्कुल, ललितपुरमा सम्पन्न भएको थियो । सो प्रतियोगिताबाट छनोट भएका टोलीहरू युनाइटेड स्कुलका आरव गौतम र परीधी श्रेष्ठ, केएमसी स्कुलका अनुपम भुजेल तथा समृद्ध स्कुलका ऋद्धि मानन्धरलाई समेत जेनेभा पठाइनेछ । उनीहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालका सामाजिक चुनौतीहरूप्रति संवेदनशील दृष्टिकोणसहित देशको प्रतिनिधित्व गर्नेछन् ।

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८२ १८:५४





सामाग्री श्रोत :
टेक पाना

प्रिय गुरु दाई जय नेपाल 

हुन त तपाईंले मलाई प्रत्यक्ष रुपमा त चिन्नुहुन्न । र कहिलेकाँहि हुने पार्टीका कार्यक्रमहरूको भेटघाटमा जयनेपाल फर्काउनेसम्म गर्नुहुन्छ। आज म तपाईंलाई यही जेष्ठ २७ गतेको लोकान्तर अनलाइन दैनिक दैनिकमा महामन्त्रीद्वयलाई कम्तीमा यत्ति गर्नुहोस् भन्ने शीर्षकको पत्र पढेर मनमा लागेका कुराहरु यो पत्रमा लेख्ने प्रयत्‍न गरेको छु ।

हुन त मेरो तपाईंको जत्तिको राजनीतिक हैसियत छैन र तपाईँलाई सल्लाह सुझाव दिनु ईन्द्रका अगाडि स्वर्गको बयान गरेझैं हो तर पनि क्याम्पस पढ्ने बेला २०५७/५८ साल देखि २०६२/६३ सालसम्म तपाईंलाई नेविसंघ केन्द्रीय अध्यक्ष र महामन्त्री गगनकुमार थापाले पहिलो पटक गणतन्त्रको आवाज उठाए बापत राजद्रोहको मुद्दा लाएर जेल हालेको र मात्री पार्टीले निर्वाचित केन्द्रीय समितिलाई हठात् भंग गरेर तदर्थ समिति गठन गरेपछि हामी आम विद्यार्थीहरूले तपाईंहरूलाई पार्टीले गरेको अन्याय र राजाले गरेको दमनकाविरूद्ध तपाईँहरूको जायज माग र एजेन्डालाई समर्थन गर्दै सडकमा निस्कियौं । र एक समर्थक र शुभचिन्तक को नाताले यो पत्र लेख्ने प्रयत्‍न गरेको हुँ अन्यथा नलिनु होला । 

नेविसंघबाट तपाईंहरूले सुरु गरेको त्यो आँट ,साहस र मुद्दा राष्ट्रिय बहस–बहस बन्दै अन्तत: देश नै गणतन्त्रमय बन्यो र निरङ्कुश शाही सत्ताको अन्त्य भै देशमा गणतन्त्र आई संघीयता र समावेशितासहितको नयाँ संविधान बन्यो । हुन त तपाईंलाई व्यक्तिगत आरोप लगाएको हैन आफ्नो ज्यान र राजनीतिक भविष्य जोखिममा राखेर मुलुक रूपान्तरणको आन्दोलनको नेतृत्व गरेको तपाईंलाई आफ्नै ठानेका नेताहरूले मत नहालेका कारण आम कार्यकर्ताले अपेक्षा गरे बमोजिम प्रदेश सभापतिमा १ मतले पराजित हुँदा साह्रै नराम्रो लाग्यो ।

प्रिय गुरु दाई

नेपाली कांग्रेसको गत महाधिवेशनमा नेपाली जनताहरूले यो देशको परिवर्तनको लागि नेपाली कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने थियो । तर महाधिवेशन प्रतिनिधि र नेपाली कांग्रेसका नेताहरू जसलाई देश र पार्टीभन्दा आफू र आफ्नो टोकरीको स्वार्थको लागि अन्तिममा केही थान पदको बार्गेनिङ गरी शेरबहादुर देउवा र उहाँको समूहलाई करिब दुई तिहाइ केन्द्रीय समिति पुग्नेगरी विजयी गराए । तत्पश्चात नेपाली जनता र नयाँ युवाहरूमा निराशा मात्र छाएन बैशाखको च्याउ उम्रेझैं नयाँ–नयाँ दलहरू र नेताहरू उम्रे र नेपाली कांग्रेसमा आबद्ध हुन चाहने श्रृजनशील र राष्ट्रिय जीवनका महत्त्वपूर्ण व्यक्तिहरू छरिए । 

नेपाली कांग्रेसका आम कार्यकर्ता, मतदाता र शुभचिन्तकको चाहना विपरीत र महामन्त्रीद्वयको लिखित असहमतिका बाबजुद स्थानीय, प्रदेश र संघीय निर्वाचनमा गठबन्धन लादियो । कुनै पनि मापदण्ड र पद्धति नबनाई जबर्जस्ती दुई तिहाइ बहुमतको धाकले टिकट बाँडियो, पार्टीमा एउटा र निर्वाचन आयोग मा अर्को लिस्ट बुझाइयो । लामो समयदेखि पार्टीमा योगदान गरेका जनताले रुचाएका नेताहरू पाखा लाउँदा पनि महाधिवेशन मा ४०.३४ प्रतिशत मत प्राप्त गरेका सभापतिका निकटतम प्रतिद्वन्द्वी शेखर कोइराला लगायत पदाधिकारीले आफ्नो टिकट पक्का गर्दै आफू निकट २/४ जनाको लागि अडान राख्दा तपाईंहरू जस्ता यूवा नेताहरूले न खबरदारी गरेको सुनियो न विद्रोह को बुलन्द आवाज गरेको देखियो । 

Ncell 2
Ncell 2

संसदीय दलको निर्वाचन मा आफ्नै बफादारले भोट नहाल्दा न त समीक्षा गरियो न त पूर्वयोजना बमोजिम केन्द्रीय समितिको बैठकमा लाइभमार्फत् आफ्नै टिमको महामन्त्रीलाई महाभारतको राज सभामा द्रौपदीको चिर हरण गर्दा धृतरास्ट झैँ बस्दा न कतै बोल्नुभयो न क तै लेख्नु भयो । केन्द्रीय समिति हुँदै गोदावरी महासमिति बैठक अनि संसदमार्फत सहकारी ठगीदेखि सरकारलाई सचेत गराउनेसम्म पुग्दै गर्दा महामन्त्रीद्वयले राखेको अडान र एजेन्डाको कारण पार्टीका कार्यकर्ताको भरोसा बढेको छ । वार्षिक कार्यतालिका बनाई पार्टी केन्द्रदेखि वडासम्म अनेकौं कार्यक्रम भइरहेका छन्, बहस र विमर्षले पार्टी कार्यालय गुञ्जायमान बनेको छ, निर्वाचित को मुखमा बाँडिने र नवीकरण हुने क्रियाशील सदस्य केन्द्रीय नेताहरूको असहयोगका बाबजुद समयमै वडा वडामा वितरण हुन थालेको छ । 

वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेशहरुमा सम्मेलन र प्रशिक्षण हुँदै छन् जहाँ कार्यकर्ता र नेताहरूले महामन्त्रीद्वयलाई बोलाउँदा र स्वत स्फुर्त स्वागत गर्न आउँदा तपाईं उल्टै सामाजिक सञ्जालमार्फत आफ्नो कुण्ठा पोख्नुहुन्छ।

हो हाल नेपालमा बेरोजगारी समस्या बढेको छ, हरेक दिन औसत मा २२०० जति युवाहरू कामको खोजीमा विदेशिन्छन्, औसतमा दैनिक ४ जना बाकसमा नेपाल फर्किन्छन् । भ्रष्टाचार र कुशासनले जनताहरू आजित छन् जताततै विचौलिया हाबि छन्, वैदेशिक ऋण २६ खर्ब पुगिसक्यो र व्यापार घाटा १३ खर्ब पुगिसक्यो, विकाशको गति कछुवा तालमा छ । युवाहरू पुराना दलप्रति वाक्क छन् कहिले स्वतन्त्र र कहिले स्वतन्त्र दलको नाममा आफ्नो असन्तुष्टि पोखेका छन् ।

नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निशाना नेपाली कांग्रेस नै छ । तर नेपाली कांग्रेसका नेताहरू पार्टीको निती र सिद्धान्त विपरीत सत्ताको वरिपरि घुमिरहेका छन् अनि पार्टीको आन्तरिक बैठकदेखि सार्वजनिक ठाउँमा एक अर्कालाई खुइल्याउने, आलोचना गर्ने र गुटबन्दीलाई मात्र बढावा दिने कार्य गरिरहेका छन् ।

प्रिय गुरु दाई 

अब नेपाली कांग्रेसको महाधिवेशनको चटारोले अन्य नेताहरू जस्तै तपाईँलाई पनि छोयो जस्तो देखियो । आफ्नै पार्टीका नेताहरूको आलोचना गरेर नेता भइन्छ भन्ने चिन्तन तपाईंको पक्कै पनि होइन होला । नदी, समय र जोवन कहिल्यै पछाडि फर्किँदैन । इतिहास त्यसको लेखिन्छ र जित्छ जसले असाधारण काम साधारण र फरक तरिकाले गर्छ । २१ औं शताब्दीको राष्ट्रिय, अन्तर्राष्ट्रिय बहुआयाम अनि जेन जि पुस्ताको माग र भावनाको जसले नेतृत्व गर्छ र बुझ्छ समाजले उसैलाई नायक ठान्छ । अब १५ महाधिवेशन नेपाली काँग्रेसको लागि ठूलो परीक्षाको रुपमा आएको छ । एआईको हलचल र कमाल मोबाइल मार्फत गाउँघर पुगिसकेको छ । 

नेपाली काँग्रेसका साधारण सदस्यदेखि कृयाशील सदस्य अनि वडादेखि जिल्ला तहका पदाधिकारीहरूले पार्टीको आमुल रूपान्तरणको लागि यो महाधिवेशन पर्खेका छन् । तपाईं पनि यो समय र कार्यकर्ताको भावना बमोजिम कुनै पनि आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर २००७/२०४७ सालको जस्तो जनताको भरोसा योग्य लोकप्रीय पार्टी बनाउन अनि गुटबन्दीलाई सदाकाल अन्त्य गर्ने र सबैले भरिलो गर्ने, यो देशको आमुल रूपान्तरण गर्न सक्ने नेतृत्व ल्याउन अग्रसर हुनु होस् । यसैमा तपाईंको, पार्टीको र मुलुकको हितमा छ । बाँकी तपाईकै मर्जी । जय नेपाल ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । चिनियाँ मोबाइल निर्माता कम्पनी रियल मीले आफ्नो नयाँ स्मार्टफोन सिरिज रियलमी १४ सार्वजनिक गरेको छ । प्राविधिक उत्कृष्टता, स्टाइल र गेमिङ क्षमताको संयोजन रहेको यस सिरिजमा रियलमी १४ टी फाइभजी र रियलमी १४ फाइभजी जस्ता शक्तिशाली स्मार्ट फोनहरू समावेश छन् ।

रियलमीको यो नयाँ सिरिज आधुनिक प्रयोगकर्ताको आवश्यकता र चाहनालाई ध्यानमा राखी डिजाइन गरिएको कम्पनीले जनाएको छ । जसमा उच्च प्रदर्शन, गेमिङमैत्री फिचर, आधुनिक क्यामेरा सिस्टम र फास्ट चार्जिङ जस्ता सुविधाहरू रहेका छन् ।

रियलमी १४ फाइभजीमा स्नापड्रागन ६ जेन ४ फाइभजी चिपसेट, एडभान्स बायोनिक कुलिङ सिस्टम र ६००० एमएएच टाइटन ब्याट्री समावेश छ । जसमा १२० हर्जको एमोलेड ई-स्पोर्ट्स डिस्प्ले, उत्कृष्ट कनेक्टिभिटीका लागि  एन्टेना एरे म्याट्रिक्स २.०एफ (Antenna Array Matrix 2.0f), स्मार्ट एआई फिचरका साथै आईपी ६६, आईपी ६८/ आईपी ६९ सर्टिफाइड मजबुत डिजाइन छ ।

स्लिम र प्रिमियम डिजाइन

आकर्षक रूप र सजिलो ह्यान्डलिङ अनुभव प्राप्त गर्न सकिने यो फोनमा एआईमा आधारित क्यामेरा दिइएको छ । फाइभजी डुअल सिम सपोर्ट रहेको रियलमी १४ सिरिजका फोनमा ६.७२ इन्चको फुल एचडी प्लस डिस्प्ले पाउन सकिन्छ ।

स्मुथ स्क्रोलिङ, २००० निट्ससम्मको पिक ब्राइटनेस, प्रभावकारी मल्टी टास्किङ, ४५ वाटको तथा सुपरभोक फास्ट चार्जिङ सपोर्ट जस्ता फिचर पनि यसमा रहेका छन् । ५० मेगापिक्सेलको मेन क्यामेरा रहेको रियलमी १४ सिरिजका फोनमा फ्रन्ट क्यामेरा भने ८ मेगापिक्सेलको दिइएको छ ।

डिजाइनको कुरा गर्नुपर्दा अल्ट्रा स्लिम बडी  (7.89mm), हलुका तौल (190g), आकर्षक र प्रिमियम फिनिश डिजाइनमा आएको छ । फोनमा १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज रहेको छ भने डाइनामिक र्‍याम एक्सपान्सन मार्फत थप २१ जीबीसम्म विस्तार गर्न सकिने सुविधा पनि यसमा पाउन सकिन्छ । थप स्टोरेज चाहिने प्रयोगकर्ताका लागि इक्रोएसडी कार्ड सपोर्ट यसमा छ ।

सुरक्षातर्फ साइड माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर, एआई फेस अनलक यसमा उपलब्ध छ । एन्ड्रोइड १४ मा आधारित यो फोनमा ३.५ एमएम हेडफोन ज्याक र यूएसबी टाइप-सी पोर्ट दिइएको छ ।

रियलमी १४ सिरिजको अग्रिम बुकिङ सुरु भइसकेको छ भने पहिलो बिक्री पनि चाँडै सुरु हुने कम्पनीले जनाएको छ । त्यससँगै नेपालभरका आधिकारिक स्टोरहरू तथा अनलाइन डिजिटल पार्टनरहरू मार्फत खरिद गर्न सकिनेछ ।

रियलमी १४ फाइभजीको मूल्य ४९ हजार ९९९ रुपैयाँ राखिएको छ भने रियलमी १४ टी फाइभजी ३६ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । 

 

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८२ १९:५९





सामाग्री श्रोत :
टेक पाना

एजेन्सी– उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको एक तालमा शोक व्यक्त गर्न मानिसहरूलाई लिएर गएको एक यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु हुनुका साथै अन्य केही बेपत्ता भएका अधिकारीहरूले शुक्रबार बताएका छन् ।

 

उत्तरी इक्वेटुर प्रान्तको तुम्बा तालमा बुधबार भएको उक्त दुर्घटनामा तीनवटा ठूला डुङ्गाहरू रहेका प्रान्तीय गृहमन्त्री क्रिस्पिन एमपुटु मोलियाले जानकारी दिए । 

“हामीले अहिलेसम्म दर्जनौं जीवित व्यक्तिलाई उद्धार गर्नुका साथै ४० वटा शव फेला पारेका छौँ । अझै पनि कैयौँको सङ्ख्यामा मानिसहरू हराइरहेका छन्,” उनले एएफपीसँग भने । 

यसैबीच, उद्धारमा संलग्न स्थानीय बासिन्दा डियु मर्सी अकुलाले मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको बताए । उनले भने, “हिजो हामीले ५२ वटा शव फेला पारेका थियौँ, आज बिहान थप दुई जना मृत शरीर शव फेला परेका छन् ।”

Ncell 2
Ncell 2

उक्त डुङ्गाले इकोको–बोङिन्डा गाउँमा अन्त्येष्टिका लागि एक महिलाको शव र २०० भन्दा बढी मलामी बोकेको थियो । प्रत्यक्षदर्शीहरूले अधिकारीहरूलाई डुङ्गाले एक्कासी ठूलो छालको सामना गर्नुपरेको र यसलाई चालकले थेग्न नसक्दा दुर्घटना भएको बताए ।

दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको उनीहरूले बताए । एमपुटुका अनुसार डुङ्गामा रहेका यात्रुको सूची थिएन, जसले गर्दा डुङ्गामा ओभरलोड थियो कि थिएन भन्न कठिन भएको छ ।

प्राकृतिक स्रोतसाधनले भरिपूर्ण तर दशकौँदेखिको द्वन्द्वको चपेटामा परेको अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा ताल र नदीमा बारम्बार डुङ्गा दुर्घटनाको पीडा व्यहोर्नेगरेको छ ।

यात्री सूचीको अनुपस्थितिले प्रायः खोजी र उद्धार कार्यलाई जटिल बनाउँदछ र मृत्युको सही सङ्ख्या पुष्टि गर्न असम्भव बनाउँछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

खोटाङ। करेन्ट लागेर गम्भीर घाइते भएका ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित सेगेलेमका ५३ वर्षीय रामेश्वर राईको उपचारका क्रममा मृत्यु भएको छ।

सेगेलेमस्थित घरमा जडान गरिएको विद्युत्को तार हटाउने क्रममा आज दिउँसो करेन्ट लागेर गम्भीर घाइते बनेका उनको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचारका क्रममा मृत्यु भएको हो।

करेन्ट लागेर बेहोस भएका राईलाई स्थानीयले गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएका थिए। केन्द्र पुर्‍याएको केही समयपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृतक राई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ऐसेलुखर्क गाउँपालिका कार्यसमितिका सचिवालय सदस्य थिए। उनको शव परीक्षण गृहमा राखिएको छ।


सामाग्री श्रोत :

करेन्ट लागेर एकजनाको मृत्यु, एक घाइते

काठमाडौँ । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा आँप खाएपछि काँक्रो खाँदा ज्यानै जान सक्ने दाबीसहित एउटा भिडिओ सार्वजनिक भयो । “जनबोली टीभी एचडी” नामक फेसबुक पेजले सार्वजनिक गरेको उक्त भिडिओमा काँक्रो र आँपको संयोजन नमिल्ने भएकाले शरीरको लागि घातक हुने दाबी गरिएको छ । 

तर, टेकपानाले तथ्य जाँच गर्दा उक्त भिडिओमा गरिएको दाबी भ्रामक रहेको पाइएको छ ।

 

दाबी 

“जनबोली टीभी एचडी” नामको फेसबुक पेजले बुधबार दिउँसो २:२८ मा “आँप खाएपछि काँक्रो वा काँक्रो खाएपछि आँप खाए स्वास्थ्यमा ग`म्भीर स`मस्या” क्याप्सनसहित एउटा भिडिओ सार्वजनिक गर्‍यो । यो समाचार तयार पार्दासम्म उक्त भिडिओमा १५ लाख बढी भ्युज, १९ हजार बढी लाइक र ३३ सय भन्दा धेरै पटक शेयर गरिएको छ । उक्त भिडिओको थमनेलमा नै “आँप खाएपछि काँक्रो खाए किन मृत्युकै मुखमा पुर्याउँछ?” लेखिएको छ । भिडिओ, आर्काइभ लिङ्क र फोटो ।

 

भिडिओमा आँप र काँक्रो सँगै खान नहुने कुरा समाचार वाचकले बताएका छन् । उनले भनेका छन्, “यसले खोक्यो है, बढी कुरा गर्‍यो है भन्दै बेवास्ता गर्नुभयो भने दुख पाउने तपाईँहरूले नै हो । विनाश काले विपरीत बुद्धि बाहेक म केही भन्न सक्दिनँ । तर यति भन्छु आँप र काँक्रोको अमिल्दो संयोजन छ ।”

उनी पछि थप्छन्, “आँप आफैँमा गर्मी खालको फलफूल हो । …. यही आँपसँग काँक्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ । आँपको गर्मी स्वभाव र काँक्रोको चिसो स्वभावका कारण यी दुई फल एक साथ खानु स्वास्थ्यका लागि हानिकारक हुने पोषणविद्हरू बताउँछन् । यी दुबै फल एकै पटक खाँदा शरीरको पाचन प्रक्रियामा समस्या सिर्जना हुन्छ भने पेटमा ग्यास भरिने र पेट भारी हुने समस्या पनि सिर्जना हुन्छ ।”

तथ्य जाँच

उक्त भिडिओको थमनेलमा नै “आँप खाएपछि काँक्रो खाँदा किन मृत्यु कै मुखमा पुगिन्छ?” भनेर प्रश्न गरिएको छ । तर भिडिओमा भने समाचार वाचकले ज्यान नै जान सक्ने समस्या कसरी हुन्छ भनेर तथ्य/प्रमाण दिन सकेका छैनन् । उनले “यी दुई फल एक साथ खानु स्वास्थ्यका लागि हानिकारक हुने पोषणविद्हरू बताउँछन्” भनेका छन् । तर यस्तो कुरा बताउने पोषणविद् को हुन् भनेर खुलाउन सकेका छैनन् । त्यसैले उक्त दाबी विश्वास गर्न सकिने आधार नै भिडिओमा समाचार वाचकले दिन सकेका छैनन् । 

हामीले पोषणविद्हरूसँग नै कुराकानी गरेर उक्त दाबीमा सत्यता छ कि छैन भनेर बुझ्ने प्रयास गर्‍यौँ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण विभागका प्रमुख लीलाविक्रम थापा र नेपाल मेडिसिटी अस्पतालको डाइटिक्स तथा न्युट्रिसियन विभाग प्रमुख डा रुजु खड्कासँग कुराकानी गर्‍यौँ । यी दुबै पोषणविद्ले उक्त दाबीमा सत्यता नभएको पुष्टि गरेका छन् । 

पोषण शाखा प्रमुख लीलाविक्रम थापा हालसम्मको आफ्नो अध्ययन तथा अनुसन्धानको आधारमा उक्त दाबी पुष्टि हुन नसक्ने आधार नरहेको बताउँछन् । उनी भन्छन्, “मेडिकल साइन्सको अहिलेसम्मको अध्ययन अनुसन्धानमा त्यस्तो प्रमाण देखिएको पनि जानकारी छैन ।”

पोषणविद् थापाका अनुसार आँपमा मालटोज पाइन्छ । काँक्रोको अधिकांश भाग पानीले भरिएको हुन्छ । उनले भने, “काँक्रोको बोक्रामा थोरै मिनरल हुन्छ भनिन्छ त्यसबाहेक ९५ % पानीले भरिएको हुन्छ । यदि बोक्रा तास्ने भने त्यसमा पानी मात्र हुन्छ । त्यसैले दुबै कुरा एकैसाथ खाँदा पनि पोइजन हुँदैन भन्ने कुरा यहीँबाट प्रस्ट हुन्छ ।”

आँप र काँक्रो खानु ज्यानकै लागि खतरा हुनसक्ने कुरा सत् प्रतिशत झुटो भएको उनले सुनाए । “पोषण शाखाको काम नै जनतालाई के खानेकुरा के सँग मिलाएर खान हुन्छ भनेर जानकारी दिनु हो । आँप र काँक्रो एकसाथ खान सकिन्छ भनेर म ढुक्क सँग बताउन सक्छु ।”

नेपाल मेडिसिटी अस्पतालको डाइटिक्स तथा न्युट्रिसियन विभाग प्रमुख डा रुजु खड्का पनि आँप र काँक्रोको सेवनले ज्यानै जान सक्ने किसिमका स्वास्थ्य समस्या नहुने बताउँछिन् । “सलाद बनाएर खाँदा प्राय सबै खालका फलफूलहरू मिसाएर खाइन्छ । यसले समस्या गराउँदैन,” उनले भनिन् । 

तर फलफूलको प्रकृतिअनुसार पाचन प्रक्रिया भने फरक हुन सक्ने उनी बताउँछिन् । डा खड्काका अनुसार एउटै खानेकुरा पनि व्यक्तिअनुसार पच्ने/नपच्ने कुरामा फरक पर्छ । “केही व्यक्तिलाई केही खानेकुरामा एलर्जी हुनसक्छ । केहीको डाइजेसन सिस्टममा सेन्सेटिभिटी धेरै नै हुन सक्छ ।” 

हालसम्म भएका अनुसन्धानले आँप र काँक्रो एकै पटक खाँदा ज्यान कै जोखिम हुने कुरा नभएको उनले बताइन् । “आँपले गर्मी गराउने भएकाले कोहीलाई डाजेसनका बेलामा ब्लोटिङ गराउन सक्छ । यसले पेटमा ग्यास भर्ने सम्भावना बढाउन सक्छ ।” पहिलेदेखि नै कसैलाई गम्भीर स्वास्थ्य समस्या तथा संवेदनशील पाचन प्रक्रिया भएमा पेट फुल्ने जस्ता समस्या देख्न सकिने उनले बताइन् । तर, स्वस्थ व्यक्तिले काँक्रो र आँप एकसाथ खाँदा पनि कुनै समस्या नहुने उनले बताइन् । तर जुनसुकै खानेकुरा पनि निश्चित मात्रामा खानुपर्ने भएकाले आवश्यकता भन्दा धेरै नखाएकै राम्रो हुने उनको सुझाव छ । 

दाबी 

आँप खाएपछि काँक्रो खाँदा मृत्युको मुखमा पुगिन्छ ।

दाबीकर्ता 

“जनबोली टीभी एचडी” नामक फेसबुक पेज

तथ्य 

आँप र काँक्रो एकैसाथ खाँदा पनि स्वास्थ्यमा समस्या पर्दैन । 

निष्कर्ष

आँप खाएपछि काँक्रो खाँदा मृत्युको मुखमा पुगिन्छ भन्ने “जनबोली टीभी एचडी” नामक फेसबुक पेजले गरेको दाबी झुटो हो । उक्त दाबीलाई जनबोली टीभी एचडीले नै प्रमाणित गर्न सक्ने पर्याप्त आधारहरू दिन सकेको छैन ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका पोषण विभाग प्रमुख लीलाविक्रम थापा र नेपाल मेडिसिटी अस्पतालको डाइटिक्स तथा न्युट्रिसियन विभाग प्रमुख डा रुजु खड्कासँगको कुराकानीबाट पनि उक्त दाबीमा सत्यता नरहेको पुष्ट भएको छ । तर, हरेक खानेकुरा निश्चित मात्रामा खानु नै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

 

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८२ २१:१०





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले अग्नि सापकोटालाई साटेको आरोप लगाएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शाहीले गृहमन्त्रीको राजीनामा र छानबिन समिति बनाउने मुद्दाबाट पछाडि हटेर अग्नि सापकोटालाई  पक्राउ गर्नबाट बचाएको बताएका छन्।

Ncell 2
Ncell 2

उनले लेखेका छन्, ‘ल बधाई छ कमरेड प्रचण्ड उर्फ माओवादी साथीहरू भिजिट भिसा प्रकरणमा गृहमन्त्री ज्युको राजीनामा र छानबिन समिति बनाउने मुद्दाबाट पछाडि हटेबापत ज्यान मार्ने व्यक्ति हत्या गर्ने प्रकरणमा पूर्व सभामुख अग्नि सापकोटालाई  पक्राउ गर्न बचाएकोमा…… विडम्बनाका साथ भन्नुपर्छ  संसद जनताको कानुन बनाउने थलो नभएर सेटिङ गर्ने थलो भयो।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- औषधिको मूल्यमा सुझाव दिन गठित औषधि नीति सुझाव समितिको प्रतिवेदनविरुद्ध विभिन्न ९ वटा संगठनले आन्दोलन सुरु गरेका छन्। 

औषधि, स्वास्थ्य सेवा तथा स्वास्थ्य सामग्री सरोकार समितिको अगुवाइमा काठमाडौं सहित औषधि व्यवस्था विभागका कार्यालय रहेका क्षेत्रमा नौवटा संघ–संस्थाका प्रतिनिधिहरूले मुखमा कालोपट्टी बाँधेर मौन धर्ना दिएका छन्।

समितिका अध्यक्ष महेश प्रधानले आफ्नो सहमतिबिना नै प्रतिवेदन तयार पार्दै एक्लौटी ढंगले सरकार अगाडि बढेपछि विरोध गरेको बताए। उनका अनुसार प्रतिवेदनमा सेवाग्राही र व्यवसायीहरुलाई मानसिक त्रास, असुरक्षा, लगानीको जोखिम र अपमानको भावनाका साथै चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई गम्भीर लाञ्छना लगाइएको छ।

आन्दोलनरत पक्षले आन्दोलनमा उत्रनुको कारणमा मुख्य दुई विषय रहेको बताएका छन्। पहिलो औषधि मूल्य नीति सुझाव समितिको प्रतिवेदन तत्काल खारेज गर्नुपर्ने र दोस्रो नयाँ नीति निर्माणमा उत्पादक, आयातकर्ता, वितरक र उपभोक्ता प्रतिनिधिहरूसँग विस्तृत छलफल र समन्वय गर्नुपर्ने रहेको छ।

धर्नामा नेपाल औषधि उत्पादक संघ, नेपाल औषधी व्यवसायी संघ, नेपाल औषधी आयातकर्ता संघ, नेपाल मेडिकल एशोसिएसन, नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ, रसायन तथा मेडिकल आपूर्ति संघ, नेपाल आयुर्वेद औषधी उत्पादक संघ, एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन नेपाल (अफिन) र नेपाल औषधि थोक व्यवसायी संघका प्रतिनिधिहरुको उपस्थिति रहेको छ।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। नेपाल कानुन समाजले न्यायाधीशमाथि कार्यस्थलमै भएको अभद्र व्यवहारप्रति भर्त्सना गरेको छ। समाजले आज विज्ञप्ति जारी गरी बिहीबार उच्च अदालत जनकपुरअन्तर्गतको अस्थायी इजलास वीरगञ्जका न्यायाधीशद्वय डा खुशीप्रसाद थारू र अर्जुन महर्जनको इजलासमा केही व्यक्तिबाट भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका हो।

न्यायाधीशहरूको कामकारबाही र आचरणको अनुगमन तथा सुपरीवेक्षण गर्ने जिम्मेवारी न्याय परिषद्को भएको उल्लेख गर्दै समाजका अध्यक्ष पुष्पा भुसालद्वारा आज जारी विज्ञप्तिमा न्याय सम्पादनको सिलसिलामा गरिएका निर्णयलाई लिएर दुर्व्यवहार गरिनु न्यायपालिकाप्रतिको आक्रमण भएको बताए। यसखालका घटनाबाट न्यायपालिकाको स्वच्छता र मर्यादामा प्रतिकूल प्रभाव पार्ने समाजको ठम्याइ छ।

समाजले उक्त घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाहीको माग गरेको छ।


सामाग्री श्रोत :

न्यायाधीशमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट