काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्ने कार्यसूची छ। संघीय संसद नयाँ बानेश्वरमा दिउँसो २ः०० बजे बस्ने कार्यसूची त भएपनि विपक्षी दलकाे अवराेध भयाे भने बैठक बस्ने कि नबस्ने भन्ने निश्चित छैन।

संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले संसद अबरोध गरेपछि बैठक सोमबारसम्मका लागि स्थगित गरिएको थियाे।
हिजो दिउँसो १ः०० बजेका लागि बोलाइएको बैठक साढे ५ घण्टा ढिलो गरी सुरु भएपनि प्रतिपक्षी दलहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरले बैठक स्थगित गरेका हुन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आइरहेका छन्। प्रतिनिधिसभाको बैठक यही जेठ १३ गतेदेखि बस्न सकेको छैन। यसअघि दैनिक बैठक बोलाइए पनि अवरोधका कारण चल्न सकेको छैन।

विपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एकीकृत समाजवादी (नेकपा एस)का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानविन गर्न समिति गठन हुनुपर्ने सदनमा अवरोध गरिरहेका छन्। वैशाख १५ मा बजेट पेस गर्न दिएका प्रतिपक्षीले त्यसयताका कुनै पनि बैठक सञ्चालन गर्न दिएका छैनन्।
आइतबारको बैठकमा सभामुखले दलीय आधारमा बोल्न दिने प्रस्ताव गरेका थिए। तर, विपक्षीले उक्त प्रस्ताव अस्वीकार गरे र विरोध जारी राखे। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन प्रमुख सचेतकहरूसँग छलफल गरे पनि परिणाम आउन सकेको छैन।
आइतबारसम्म आइपुग्दा माओवादी र रास्वपा कांग्रेसको प्रस्तावअनुसार मध्यमार्गी प्रस्तावमा अगाडि बढ्न लचक भएपछि कांग्रेस नेताहरू एमालेसँगको छलफलमा जुटेका छन्। यद्यपि, सहमति जुट्न भने सकेन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सकाएपछि भिजिट भिसा प्रकरणको समग्रतामा अध्ययन गर्नेगरी छानविन समिति बनाउने विषय कांग्रेसले अगाडि सारेको छ। त्यस्तो समितिले २०६४ सालयता भिजिट भिसाको नाममा विदेश जानेसँग अपारदर्शी रूपमा आर्थिक लेनदेन भए-नभएको हेर्नेगरी कार्यक्षेत्र तोक्नेगरी मध्यमार्गी प्रस्ताव अगाडि बढेको हो।
सामाग्री श्रोत :
प्रतिनिधिसभा बैठक बस्ने कार्यसूची, संसद सुचारू गर्न जुटेको छैन सहमति