२०८२ जेष्ठ २६ आईतवार
२०८२ जेष्ठ २६ आईतवार

ट्रम्प र मस्कबिच विवाद चर्किंदा स्पेसएक्सको २२ अर्ब डलरको सरकारी सम्झौता जोखिममा

काठमाडौँ । अर्बपति उद्यमी एलन मस्क र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको वाकयुद्धले स्पेसएक्सको करिब २२ अर्ब डलरको सरकारी सम्झौता जोखिममा परेको छ । मस्कले ट्रम्पको कर कटौती र खर्चसम्बन्धी विधेयकको आलोचना गरेपछि सुरु भएको विवादले अमेरिकी अन्तरिक्ष कार्यक्रममा ठूलो परिवर्तन ल्याउन सक्ने देखिएको हो ।

गत हप्ता मस्कले ट्रम्पको कर-कटौती र खर्चसम्बन्धी विधेयकको आलोचना गरेपछि सुरु भएको यो विवादले बिहीबार उग्र रूप लिएको थियो । राष्ट्रपति ट्रम्पले ओभल अफिसबाटै मस्कको आलोचना गरे । त्यसपछि मस्कले सामाजिक सञ्जाल एक्समा श्रृङ्खलाबद्ध रूपमा पोस्टमार्फत ट्रम्पमाथि व्यङ्ग्यात्मक टिप्पणी गरे । त्यही पोस्टको जवाफमा ट्रम्पले मस्कका कम्पनीसँगको सरकारी सम्झौता रद्द गर्ने चेतावनी दिएका थिए ।

ट्रम्पको चेतावनीलाई गम्भीर रूपमा लिँदै मस्कले सुरुमा नासाले प्रयोग गर्दै आएको स्पेसएक्सको ‘ड्र्यागन’ अन्तरिक्षयानलाई ‘सेवाबाट हटाउने’ घोषणासमेत गरेका थिए । तर, त्यसको केही घण्टापछि नै उनी आफ्नो भनाइबाट पछि हटे । एक्समा एक प्रयोगकर्ताले दुवैलाई ‘शान्त हुन र केही दिन पछि हट्न’ आग्रह गरेपछि मस्कले जवाफ दिंदै भने, “राम्रो सल्लाह । ठीक छ, हामी ड्र्यागनलाई सेवाबाट हटाउँदैनौं ।”

नासाको एक प्रमुख व्यावसायिक साझेदारबाट यस्तो धम्की आउनुलाई अभूतपूर्व घटनाका रूपमा हेरिएको छ । करिब पाँच अर्ब डलरको सम्झौताअन्तर्गत ड्र्यागन क्याप्सुल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा अन्तरिक्षयात्रीलाई लैजान र ल्याउन सक्ने एकमात्र अमेरिकी यान हो । यसले मस्कको कम्पनीलाई अमेरिकी अन्तरिक्ष कार्यक्रमको एक महत्त्वपूर्ण हिस्सा बनाएको छ ।

यो विवादले राजनीतिक प्रतिशोधका लागि राष्ट्रपति ट्रम्प कतिसम्म जान सक्छन् भन्ने प्रश्न उठाएको छ । यदि उनले नासा र पेन्टागनसँग भएका अर्बौं डलरका सम्झौता रद्द गरे भने यसले अमेरिकी अन्तरिक्ष अभियानको प्रगतिलाई सुस्त बनाउन सक्ने बताइएको छ ।

नासाकी प्रेस सेक्रेटरी बेथानी स्टिभन्सले रोयटर्सलाई भनिन्, “हामी अन्तरिक्षमा राष्ट्रपतिका उद्देश्य पूरा गर्न हाम्रा औद्योगिक साझेदारसँग काम गरिरहनेछौं ।”

यो विवादले ‘विश्वकै शक्तिशाली’ राष्ट्रपति र विश्वकै धनाढ्य उद्योगपतिबिचको निकट सम्बन्धलाई तोडेको छ । यसअघि ट्रम्प र मस्कको निकट सम्बन्धबाट स्पेसएक्सले फाइदा उठाउँदै आएको थियो । विवादपछि मस्कको सम्पत्ति निरन्तर ओरालो लागिरहेको छ ।

ट्रम्पसँगको विवादले स्पेसएक्सलाई केही हदसम्म असर गरे पनि यो विनाशकारी नहुने रोयटर्सले विश्लेषकको भनाइ राख्दै लेखेको छ । खासगरी कम्पनीले रकेट प्रक्षेपण र स्याटलाइट सञ्चार उद्योगमा बलियो बजार हिस्सा बनाइसकेजको अवस्थामा यस्तो विश्लेषण गरिएको हो । स्पेसएक्सका लगानीकर्ता फोर्टुना इन्भेस्टमेन्टका सीईओ जस्टस परमारले रोयटर्सलाई भने, “यो विनाशकारी त हुने छैन । तर यसले पक्कै पनि आम्दानी र सम्झौताका अन्य अवसर गुमाउनेछ ।”

नासाकी पूर्व उपप्रशासक लोरी गार्भरले स्पेसएक्सको सम्झौता रद्द गर्नु कानुनी रूपमा सम्भव नहुने बताइन् । “एक अनियन्त्रित सीईओले अन्तरिक्षयान बन्द गर्ने धम्की दिनु र अन्तरिक्षयात्रीको जीवन जोखिममा पार्नु अस्वीकार्य छ,” उनले भनिन् ।

पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ १६:१३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट