विश्व स्वास्थ्य संगठनका अनुसार- मानसिक स्वास्थ्यले मानिसहरूलाई जीवनका तनावहरूसँग सामना गर्न, आफ्नो क्षमताहरू महसुस गर्न, राम्रोसँग सिक्न वा कार्य गर्न तथा समुदायमा योगदान गर्न सक्षम बनाउँछ। मानसिक स्वास्थ्य आधारभूत मानव अधिकार हो। मानसिक स्वास्थ्य भन्नाले मानसिक समस्याहरूको अनुपस्थिति मात्र नभई यो एक जटिल अवस्था हो जुन व्यक्ति-व्यक्तिमा फरक हुनसक्छ। यो व्यक्तिगत तथा सामुदायिकको सम्वृद्धिको लागि महत्त्वपूर्ण पक्ष हो।
विश्वव्यापी रूपमा मानसिक स्वास्थ्य एक अदृश्य जनस्वास्थ्य समस्या बनेको छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार, विश्वभर करिब १० जनामा १ एकजना व्यक्ति कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त छन् जसमा डिप्रेशन र चिन्ता सबैभन्दा बढि देखिने मानसिक स्वास्थ्य समस्याहरू हुन। सन् २०२४ को तथ्यांक अनुसार, विश्वव्यापी करिब ३० करोड मानिस डिप्रेशनबाट पीडित छन् भने २८ करोडभन्दा बढी मानिसमा चिन्ताजन्य समस्याहरू देखिएका छन। प्रत्येक वर्ष करिब ८ लाख मानिसले आत्महत्या गर्छन जुन मृत्युको प्रमुख कारणमध्ये एक हो। विशेष गरी तल्लो र मध्यम आय भएका देशहरूमा मानसिक स्वास्थ्य समस्या भएका १५–२९ वर्ष उमेर समूहका किशोर=किशोरीहरू मध्ये ७५% भन्दा बढीले उपचार लिएको पाइदैन। कोविड–१९ महामारीपछि मानसिक स्वास्थ्य समस्याहरू झन् तीव्र रूपमा बढेका छन्।
नेपालमा पनि मानसिक स्वास्थ्य समस्याहरू गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखा परेका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को २०७७ को राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण अनुसार, १०% वयस्क र ५.२% किशोर किशोरीहरू मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन्। यी समस्याहरूमा चिन्ता र डिप्रेशन प्रमुख छन्। नेपाल प्रहरीको तथ्यांक अनुसार, आर्थिक वर्ष २०२२–२३ मा ६,९९३ व्यक्तिहरूले आत्महत्या गरेका छन् जुन दैनिक औसत १९ भन्दा बढी हुन्छ। यसका साथै महिला र पुरुष बीच मानसिक स्वास्थ्य समस्याको दरमा भिन्नता पनि देखिन्छ; महिलाहरूमा चिन्ता र डिप्रेशनको दर पुरुषहरूको तुलनामा उच्च छ। यद्यपि, उपचारको पहुँच र जनचेतनाको कमीले गर्दा धेरै व्यक्तिहरू उपचारबाट बञ्चित छन्। यस समस्यालाई सम्बोधन गर्न नेपाल सरकारले ११६६ राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन सञ्चालनमा ल्याएको छ र मानसिक स्वास्थ्य सेवाहरूलाई सम्पूर्ण स्वास्थ्य सेवामा समाहित गर्ने प्रयासहरू गरिरहेको छ। २०७२ सालको भूकम्प र कोविड–१९ महामारीपछि नेपालमा मानसिक स्वास्थ्य समस्याहरू झन् तीव्र रूपमा बढेको देखिन्छ।
नेपालमा मानसिक स्वास्थ्य अवस्थामा अझै धेरै सुधार गर्न बाँकी छ। विश्व स्वास्थ्य संगठनका अनुसार, नेपालमा करिब १५-२०% मानिस कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन्। तर, उपचार लिने दर भने निकै कम छ – करिब ९०% मानिसले आवश्यक मानसिक स्वास्थ्य सेवा लिएका छैनन्। नेपालमा देखिने मुख्य मानसिक रोगहरू: डिप्रेशन (उदासीपन), चिन्ता, बाइपोलार डिसअर्डर, पोस्ट-ट्राउमेटिक स्ट्रेस डिसअर्डर, लागुऔषध दुर्व्यसनी हुन्।
नेपालमा मानसिक स्वास्थ्य समस्याहरू बढ्नुमा सामाजिक, साँकृतिक, आर्थिक तथा राजनीतिक कारणहरू जिम्मेवार देखिन्छन। धेरै मानिसहरूमा मानसिक स्वास्थ्य के हो भन्ने सचेतना र शिक्षाको कमी देखिन्छ। समाजमा मानसिक स्वास्थ्य समस्यालाई पागल भन्ने गलत धारणा अझै प्रचलनमा छ। मानसिक स्वास्थ्य सेवाहरू केवल सरकारी अस्पतालहरू र सहरी क्षेत्रमा मात्र सीमित छन्। देशमा मनोचिकित्सक र मनोपरामर्शदाताको संख्या अत्यन्तै न्यून छ। समाज तथा कार्यस्थलमा मानसिक समस्या भएका मानिसहरूलाई हेपिन्छ वा नजरअन्दाज गरिन्छ। अत: अधिकांश मानसिक रोगीहरू लाज र डरले उपचार गर्न जादैनन्। त्यसैगरी मानसिक स्वास्थ्य उपचार महँगो हुनसक्छ, विशेष गरी निजी अस्पतालमा विपन्न वर्गको पहुँच सीमित हुन्छ।
मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरू विकसित तथा अल्पविकसित देशहरूमा चुनौतीको रुपमा रहेका छन। त्यसैगरी नेपालमा पनि यो समस्या चुतौतिको रुपमा रहेको छ किनकी सरकारी तथा निजी स्तरमा मानसिक स्वास्थ्यलाई प्राथमिकता दिइएको छैन। देशमा आवश्यक पर्ने प्रशिक्षित जनशक्तिको संख्या न्यून छ – देशभर प्रति १ करोड जनसंख्यामा करिब २०० भन्दा कम मनोचिकित्सकको संख्या रहेको छ। गाउँ/दूरदराजमा सेवाको पहुँच पुगेको छैन र भएका सेवाहरू पनि शहरीक्षेत्रमा सिमित छन। स्कूल–कलेज तथा कार्यस्थलमा विद्यार्थी, कर्मचारी तथा कामदारहरूको मानसिक अवस्थाको निगरानी गरिँदैन।
हाम्रा सामाजिक परिवेशहरू जस्तै घर-परिवार, स्कुल-कलेज, कार्यस्थलहरूमा खोतल्दै जाने हो भने मानसिक स्वास्थ्यसँग थुप्रै लुकेका कथाहरू भेटिन्छन । जस्तै एक प्रतिष्ठित निजी विद्यालयकी छात्रा मनीषा (नाम परिवर्तन) लगातार पढाइको दबाब, सामाजिक मिडिया र आत्मविश्वास अभावका कारण डिप्रेशनमा पुगिन्। उनले धेरै समयसम्म कसैलाई भनिनन्। एकदिन उनले आत्महत्या गर्न खोजिन्। पछि परामर्श सेवा पाएपछि विस्तारै निको हुँदै गइन्। त्यसैगरी २०७२ को भूकम्पपछि सिन्धुपाल्चोक, गोर्खा, काभ्रे लगायतका थुप्रै ठाउँका परिवारहरूले आफन्त गुमाए। शोक, पीडा र त्रासका कारण उनीहरूमा पोस्ट-ट्रमाटिक स्ट्रेस डिसअर्डर (PTSD) देखा पर्यो। तर, धेरैजसोले ‘यो त भगवानको इच्छा’ भन्दै उपचार खोजेनन्। काठमाडौंमा कथित एक कम्पनीमा काम गर्ने धेरै युवाहरूले लगातार डेडलाइन, अनावश्यक प्रतिस्पर्धा, कम तलब र पारिवारिक दबाब झेलिरहेका छन्। बाहिर मुस्कान देखिए पनि भित्र गहिरो तनाव र एक्लोपन छ।
मानसिक स्वास्थ्य समस्याहरूलाई प्राय: हिमशिला (बरफको पहाड) को टुप्पो भनिन्छ, जुन अत्यन्त अर्थपूर्ण उपमा हो। यसको अर्थ हो – समाजमा देखिएका मानसिक समस्याहरू केबल थोरै मात्र हुन्, जबकि अझ धेरै समस्याहरू भित्र–भित्रै लुकेका हुन्छन्। धेरै मानिसहरू आफ्नो मानसिक पीडा खुलेर बताउँदैनन्, डर, लाज, सामाजिक कलङ्क वा आत्मसम्मान गुम्ने डरका कारण चुप लाग्छन्। जसले गर्दा वास्तविक अवस्था झनै भयावह हुन्छ। जस्तो कि डिप्रेशन, चिन्ता, आत्महत्याको सोच, लागु पदार्थको दुर्व्यसनी जस्ता समस्याहरू घरभित्र मात्र सीमित रहन्छन्, समाजले देख्ने त केवल बाह्य व्यवहार वा चरित्रमा देखिएको असर मात्र हो। जबसम्म हामी लुकेका समस्याहरू चिन्न सक्दैनौं र खुलेर छलफल गर्न सक्दैनौं, तबसम्म मानसिक स्वास्थ्य सुधारको प्रयास अधुरो रहन्छ।
मानसिक स्वास्थ्य समस्याको व्यवस्थापनको लागि मानसिक स्वास्थ्य शिक्षा विद्यालय-कलेजदेखि समुदायसम्म फैलाउनु पर्छ, सर्वसुलव परामर्श सेवा उपलब्ध गराउनु पर्दछ, सरकारी नीतिमा सुधार गरी मानसिक स्वास्थ्य सम्बन्धि जनशक्ति तथा पूर्वाधार वृद्धि गर्नु पर्दछ, सुमुदाय स्तरमा सेवाकेन्द्रहरू स्थापना गर्नु पर्दछ, सकारात्मक कथाहरू तथा प्रेरणादायी उदाहरणहरू प्रचार गर्नु पर्दछ। नेपालमा मानसिक स्वास्थ्य एक मौन महामारी जस्तै बनिरहेको छ। बोल्न नसक्ने, लुकाएर राखिएको पीडा समाजमा व्यापक छ। समस्या बुझ्ने, कुरा खुलाउने र सही सहयोग खोज्ने संस्कार बनाउनु आजको आवश्यकता हो।
(लेखक डा भण्डारी पोखरा विश्वविद्यालयका सहप्राध्यापक, जनस्वास्थ्य विज्ञ तथा पूर्व परीक्षा नियन्त्रक हुन्)
सामाग्री श्रोत :
swasthyakhabar

