२०८२ जेष्ठ १३ सोमबार
२०८२ जेष्ठ १३ सोमबार

गल्कोटमा पोषण सप्ताह  : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड

नेपाल सरकारले पोषणलाई राष्ट्रिय प्राथमिकताको रूपमा लिँदै जेठ १ गतेदेखि ७ गतेसम्म देशभर मनाइने पोषण सप्ताह अन्तर्गत गल्कोट नगरपालिकाका ११ वटै वडाहरूमा सात दिनसम्म विविध कार्यक्रमहरू आयोजना गरिए। सोही सन्दर्भमा, वडा नं. ४ बौर आधारभूत स्वास्थ्य सेवा केन्द्रको आयोजना र गोल्डेन फ्युचर इंग्लिस बोर्डिङ स्कुलमा समन्वयमा गरिएको विद्यालयस्तरीय विज्ञान तथा पोषण प्रदर्शनी कार्यक्रम एक पृथक र नविन प्रयासको रूपमा प्रस्तुत गरिएको थियो। यस कार्यक्रमले विद्यार्थीहरूलाई पोषण, स्वास्थ्य तथा सरसफाईका विषयमा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्य राखेको थियो, जसले उनीहरूलाई स्वस्थ जीवनशैलीतर्फ अभिप्रेरित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

प्रदर्शनीमा विद्यार्थीहरूले सिर्जनात्मक क्षमताको उत्कृष्ट परिचय दिँदै एम्बुलेन्स, स्वास्थ्य चौकी, शरीरका अङ्गहरू, झरना, फुड पिरामिड, फुड बास्केट लगायतका थुप्रै शैक्षिक तथा व्यवहारिक मोडेलहरू निर्माण गरी प्रदर्शन गरेका थिए। साथै सन्तुलित आहारको महत्त्व, कुपोषण र अतिपोषणका कारणहरूबारे तयार पारिएका विविध पोस्टर, तस्बिर तथा चित्रकलाले पोषण सन्देशलाई सरल र प्रभावकारी ढंगले सम्प्रेषण गरेको थियो। नेपाली ग्रामीण जीवनशैली र कृषि संस्कृतिको झल्को दिने डोको, जाँतो, हलो जस्ता परम्परागत उपकरणहरूको प्रदर्शनले कार्यक्रमलाई अझ सन्देशमूलक बनाएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले पाएको सहभागिता र प्रस्तुतीले उनीहरूको ज्ञानवृद्धि मात्र नभई आत्मविश्वास अभिवृद्धिमा पनि सकारात्मक प्रभाव परेको शिक्षक र अभिभावकहरूको प्रतिक्रिया रहेको छ। स्थानीय स्वास्थ्यकर्मी, स्रोत व्यक्ति, विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालाहरूको उपस्थिति र सहकार्यले कार्यक्रमको प्रभावकारिता अझ बढाएको थियो। यसैक्रममा विद्यालय स्वास्थ्य तथा सरसफाई समितिको समेत समीक्षा गरिएको थियो।

गल्कोट नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न पोषण सप्ताहले नगर क्षेत्रका सम्पूर्ण ११ वटै वडामा स्वास्थ्य संस्थामार्फत विविध कार्यक्रमहरू प्रभावकारी ढंगले सञ्चालन गर्यो्। पहिलो दिन पोषण प्रदर्शनी तथा फर्सीको खिर लगायतका पोषिला खानेकुराहरु विद्यार्थीकै अगाडि तयार गरी उनिहरुलाई दिवा खाजाको रुपमा प्रदान गर्दै पोषण नाङ्लोको प्रदर्शन गरियो। दोस्रो दिन पोषण शिक्षा कार्यक्रम अन्तर्गत स्थानीय खानाको महत्त्व र पोषण सिद्धान्तबारे जानकारी दिइयो। तेस्रो र चौथो दिन सम्पूर्ण विद्यार्थीलाई जुकाको औषधि खुवाइयो भने पाँचौं दिन विद्यालय सरसफाइ, बाल क्लब गठन र स्वास्थ्य परीक्षणको समन्वय गरिएको थियो। छैठौं दिन हाजिर–जवाफ, गीत, नृत्य, वक्तृत्वकला, लेखन तथा विज्ञान प्रदर्शनी जस्ता अतिरिक्त क्रियाकलाप समावेश गरिए, जसमा विद्यार्थीहरूले अत्यन्त प्रेरणादायी र ज्ञानमूलक प्रस्तुतीहरू दिएका थिए। सातौं दिन समापन सत्रसहित विद्यालय स्वास्थ्य तथा सरसफाई समितिको समिक्षा गरिँदै सप्ताहको औपचारिक समापन गरिएको थियो।

नेपालको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०१६ र २०२२ का तथ्यांकले पोषण सुधारको दिशामा उल्लेखनीय प्रगति देखाएका छन्, तर अझै पनि देशका हजारौँ बालबालिका र महिलाहरू कुपोषणको चपेटामा छन्। जीवनका प्रारम्भिक हजार दिनमा गरिएको पोषणको लगानीले दीर्घकालीन रूपमा स्वास्थ्य, शिक्षा र आर्थिक उत्पादनमा सकारात्मक असर पार्ने विभिन्न अध्ययनहरूले देखाएका छन्। यही सन्दर्भमा नेपाल सरकारले बहु–क्षेत्रीय पोषण योजना (MSNP), सुनौलो हजार दिन कार्यक्रम, स्कुल हेल्थ नर्स कार्यक्रम लगायतका थुप्रै पहलहरूमार्फत पोषण सुधारमा लागिपरेको छ।

यसरी विद्यालय र समुदायको सक्रिय सहभागितामा सम्पन्न पोषण सप्ताहजस्ता कार्यक्रमहरूले पोषणप्रति जनचेतना अभिवृद्धि गर्दै व्यवहार परिवर्तनमा समेत उल्लेखनीय टेवा पुर्याूउने विश्वास लिइएको छ। विद्यालयहरुले आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै पोषण सुधारको अभियानमा आफ्नो सक्रियता थप बलियो बनाउने आशा गरिएको छ।

(पंगेनी गलकोट नगरपालिका जनस्वास्थ्य अधिकृत हुन्)

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट