२०८२ जेष्ठ १२ आईतवार
LATEST NEWS
२०८२ जेष्ठ १२ आईतवार

वैज्ञानिकहरूले मलेरिया रोकथामका लागि पत्ता लगाए नयाँ उपाय

काठमाडौं- अमेरिकी अनुसन्धानकर्ताहरूको भनाइ अनुसार, लामखुट्टेहरूमा संक्रमण हटाउनका लागि तिनीहरूलाई मलेरियाको औषधी दिनु उपयुक्त हुनेछ। जसले गर्दा तिनीहरूले यो रोग फैलाउन सक्ने छैनन्।

पोथी लामखुट्टेले टोकेपछि मलेरियाका परजीवी (पारासाइट) मानव शरीरमा प्रवेश गर्छन्। यो रोगका कारण हरेक वर्ष विश्वभर करिब छ लाख मानिसहरूको मृत्यु हुन्छ, जसमा अधिकांश बालबालिका हुन्छन्।

हालसम्म लामखुट्टेहरूमा रहेका परजीवीहरूलाई मार्ने सट्टा कीटनाशक (पेस्टिसाइड) को प्रयोग गरिंदै आएको छ।

तर हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले दुईवटा यस्ता औषधी पत्ता लगाएका छन् जसले लामखुट्टेभित्रै रहेका मलेरियाका परजीवीहरूलाई नष्ट गर्न सक्छ। साथै, ती औषधिहरूलाई झुल मा प्रयोग गर्ने दीर्घकालीन योजना बनाइएको छ।

मलेरियाबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेको राति झुलको प्रयोग गर्नु हो, किनकि मलेरिया फैलाउने लामखुट्टेहरू रातमा सक्रिय हुन्छन्। उच्च जोखिम भएका क्षेत्रहरूमा बालबालिकालाई खोप दिने सल्लाह पनि दिइन्छ।

केही झुलहरूमा इनसेक्टिसाइड प्रयोग गरिन्छ, जसले लामखुट्टेहरूलाई मार्दछ। तर धेरै देशहरूमा लामखुट्टेहरूले ती रसायनप्रति प्रतिरोध क्षमता विकास गरिसकेका छन्, जसका कारण तिनीहरू अब पहिलेजस्तो प्रभावकारी छैनन्।

डा अलेक्जेन्द्रा प्रोबस्टका अनुसार, ‘यसअघि हामीले लामखुट्टेहरूमा भएका परजीवीहरूलाई मार्ने प्रयास नै गरेका थिएनौं, हामी त केवल लामखुट्टेहरूलाई मार्नेमा केन्द्रित थियौं।’

तर अब त्यो दृष्टिकोण प्रभावकारी नरहेको उनी बताउँछिन्। शोधकर्ताहरूले मलेरियाको डीएनएमा के कमजोरीहरू छन् भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन्। सही औषधि फेला पार्नका लागि, वैज्ञानिकहरूले धेरै सम्भावित औषधिहरूको सूची बनाए, जसबाट २२ वटा छानिए। ती औषधिहरू मलेरियाग्रस्त मादा लामखुट्टेहरूमा प्रयोग गरिए।

‘नेचर’ नामक वैज्ञानिक पत्रिकामा प्रकाशित यस अनुसन्धानमा दुईवटा औषधिहरू उल्लेख गरिएका छन्, जसले १०० प्रतिशत परजीवीहरूलाई नष्ट गर्न सफल भए।

‘यदि लामखुट्टे झुलसँग सम्पर्कमा आएपछि बाँचिहाल्छ भने पनि, तिनको शरीरमा भएका परजीवी मर्छन्। त्यसैले ती लामखुट्टेले मलेरिया फैलाउन सक्दैनन्,’ डा प्रोबस्ट भन्छिन्।

उनी भन्छिन् कि यो नयाँ र अनौठो दृष्टिकोण हो, जसमा लामखुट्टे मार्ने सट्टा परजीवीहरूलाई लक्षित गरिएको छ।

परजीवीहरूमाथि प्रतिरोध विकास हुने सम्भावना कम हुन्छ, किनभने मानव शरीरमा तिनीहरूको संख्या अर्बौंमा हुन्छ तर लामखुट्टेभित्र ५ भन्दा कम मात्र हुन्छन्।

शोधकर्ताहरूका अनुसार, झुलमा राखिएको औषधिको प्रभाव कम्तीमा एक वर्ष रहन्छ। यो रसायनको तुलनामा सस्तो र दीर्घकालीन उपाय बन्न सक्छ।

हाललाई यो प्रयोग प्रयोगशालामा सफल देखिएको छ। मलेरिया-प्रतिरोधी झुलहरू साँच्चै प्रभावकारी छन् वा छैनन् भन्ने बुझ्नअब यसलाई इथियोपियामा वास्तविक प्रयोगमार्फत् परीक्षण गरिनेछ। ।

यस अध्ययनको पूर्ण निष्कर्ष आउन कम्तीमा ६ वर्ष लाग्ने अनुमान छ। तर प्रारम्भमा नै, झुलमा दुबै (मलेरियाविरोधी औषधि र इनसेक्टिसाइड) प्रयोग गर्ने रणनीति अपनाइनेछ, ताकि कम्तीमा एक उपाय त सफल होस्।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट