
सिरहा। लहान नगरपालिका–१५ मा अवस्थित धार्मिक पर्यटकीय क्षेत्र राजदेवी मन्दिर जाने जीर्ण सडक नगरपालिकाले स्तरोन्नति गर्ने भएको छ।
आज एक कार्यक्रमबीच नगरप्रमुख महेशप्रसाद चौधरीले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त सडकको खाल्डाखुल्डी मर्मत गरी स्तरीय कालोपत्र गर्ने उल्लेख गरे। उनले भने, ‘राजदेवी मन्दिर यहाँको धार्मिक आस्थाको केन्द्र हो। पछिल्लो समय टाढाटाढाबाट भक्तजन उल्लेख्य मात्रामा आउने गर्दछन्। पक्की सडक निर्माणले यहाँको धार्मिक पर्यटनको विकासमा सघाउ पुग्ने विश्वास लिएका छौँ।’
लहानको मुख्यचोकबाट राजदेवी मन्दिरसम्म १० किलोमिटर दूरी रहेको छ। जसमध्ये लहान–१० स्थित ग्रामीण चौकबाट उत्तरतर्फ आठ सय मिटर सडकमा रहेका खाल्डाखुल्डी मर्मत गरी चालु आर्थिक वर्षभित्र सम्पन्न गर्न रु ७२ लाख रकम विनियोजन गरिएको नगरप्रमुख चौधरीले जानकारी दिए। बाँकी खण्डमा यसअघि सहरी विकास तथा भवन कार्यालय सप्तरीले कालोपत्र गरिसकेको छ।
उक्त सडक स्तरोन्नतिले लहानको उत्तरी भेगमा पर्ने वडा नं १०, १४, १५, १८ र २४ कोे आवागमनमा सहजता ल्याउने लहान–१० का वडाध्यक्ष मन्टीकुमार मण्डलले बताए। मधेश प्रदेशको गढीमाई मेलापछि दोस्रो बढी बलि दिने राजदेवी मन्दिरमा वैशाख चण्डी पूर्णिमाको दिन ठूलो मेला लाग्ने गर्दछ। सुरुमा शनिबार मात्रै बढी पर्यटक आउने यस मन्दिरमा सडक सुविधासँगै दिनहुँ धार्मिक पर्यटक आउने क्रम बढ्दै गएको स्थानीय बताउँछन्।
सामाग्री श्रोत :
धार्मिक पर्यटकीयस्थल राजदेवी मन्दिर जाने सडक स्तरोन्नति गरिने
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामै स्मार्टफोन उत्पादन गर्नुपर्ने भन्दै चीन र भारतमा निर्माण गरिरहेका कम्पनीहरूमाथि कडा चेतावनी दिएका छन् । शुक्रबार सार्वजनिक कार्यक्रममार्फत उनले एप्पलजस्ता कम्पनीहरूलाई २५ प्रतिशत आयात शुल्क तिराउन सकिने बताएका छन् ।
ट्रम्पको घोषणाले विशेषतः एप्पल र सामसङजस्ता प्रमुख स्मार्टफोन निर्माताहरू दबाबमा परेका छन् । यद्यपि सामसङ कोरियन कम्पनी भएकाले उसलाई अमेरिकी उत्पादनस्थल आवश्यक छैन भन्ने आलोचना पनि उठेको छ ।
ट्रम्पले एप्पलका प्रमुख कार्यकारी टिम कुकसँगको हालैको छलफलमा भारतमा निर्माण केन्द्र बनाउने योजनाप्रति असन्तुष्टि जनाएका थिए । ‘टिम कुक भारतभरि निर्माण गरिरहेका छन्, तर म त्यो चाहन्न,’ ट्रम्पले भनेका छन् ।
तर, प्राविधिक विश्लेषकहरूका अनुसार ट्रम्पको चाहना पूरा गर्नु अहिलेको अवस्थामा प्रायः असम्भव छ ।
विश्लेषकहरूका अनुसार स्मार्टफोन अमेरिकामै बनाउन तीन असम्भवजस्तै चुनौती छन् । पहिलो, त्यसका लागि आवश्यक कारखाना, प्रविधि र पूर्वाधार अमेरिकाभित्रै छैनन् । त्यस्ता संयन्त्र स्थापना गर्न अर्बौं डलर लाग्नेछ र दशकौं समय लाग्न सक्छ ।
दोस्रो, चुनौती कुशल श्रमिकको अभाव हो । यस्ता उत्पादनमा दक्ष जनशक्ति अमेरिकाभित्र नभएको र विदेशी श्रमिक ल्याउन पनि खर्चिलो र जटिल हुने विज्ञहरूको धारणा छ ।
तेस्रो चुनौती हो, कच्चा पदार्थ । स्मार्टफोन निर्माणमा प्रयोग हुने स्कान्डियमजस्ता दुर्लभ तत्वहरू अमेरिकाभित्र कमै पाइन्छन् । ती तत्व उत्खनन, प्रशोधन तथा उत्पादनको लागि छुट्टै संयन्त्र आवश्यक हुन्छ ।
यदि कुनै कम्पनीले यी चुनौती पार गरेर उत्पादन गर्न सके पनि त्यसले तयार हुने फोन अत्यन्त महंगो हुने विज्ञहरूको निष्कर्ष छ । यस्तो फोनको मूल्य १० हजार डलरसम्म पर्न सक्छ, जुन अहिलेको ३०० डलरको फोनभन्दा गुणस्तरमा पनि कमजोर हुने सम्भावना छ ।
केही विश्लेषकले ट्रम्पको प्रस्तावमा पूर्ण अमेरिकी उत्पादनको साटो अधिकांश भाग अमेरिकामै बन्ने बिचको समाधान खोज्ने प्रयास पनि हुनसक्ने बताए । तर त्यस्तो स्थितिमा पनि लागत अत्यधिक हुने र उपभोक्ताले अझ महंगो मूल्य तिर्नुपर्ने अवस्था आउनेछ ।
अब एप्पल, सामसङलगायत कम्पनीहरूले के गर्छन् भन्ने अझै प्रस्ट छैन । विश्लेषकहरू भन्छन्- उनीहरू ट्रम्पको प्रस्ताव कार्यान्वयन गर्नु असम्भव भएको देखाएर समझाइरहेका होलान् । तर ट्रम्प अझै आफ्नै अडानमा छन् ।
यस्तो अवस्थामा उनीहरूले २५ प्रतिशत करको भार ग्राहककै काँधमा थोपर्न सक्ने सम्भावना प्रबल देखिन्छ । जसअनुसार ७९९ डलर पर्ने फोनको मूल्य ९९९ डलरसम्म पुग्न सक्छ ।
अबको केही साताभित्र यस विषयमा थप प्रस्टता आउने अपेक्षा गरिएको छ । तर ट्रम्पको सपना अनुसार अमेरिकामै बनेको स्मार्टफोन अहिलेका लागि दूरदराजको सम्भावना मात्रै हो ।
-एन्ड्रोइड अथोरिटीको सहयोगमा
पछिल्लो अध्यावधिक: जेठ १०, २०८२ २२:५९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेको सबै आरोप गलत भएको दाबी गरेका छन् । काठमाडौंमा पत्रकारसँग सक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
गृहमन्त्री र उनका सचिवालय नै ‘भिजिट भिसा’मार्फत मानव तस्करीमा संलग्न रहेको कुरा आएपछि लेखकको आलोचना भइरहेको छ । उनले आरोप साँचो भए राजनीति नै छोड्ने बताए ।
‘मलाई लागेको सबै आरोप गलत हुन् । आरोप साँचो सावित भए मन्त्री पदमात्र होइन, राजनीति नै छोड्छु’, उनले भने ।
यसअघि जनकपुरमा भएको एक कार्यक्रममा पनि गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोप सही ठहरिए राजनीतिमै देखा नपर्ने बताएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
मोरङ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालालले उच्चपदस्थ कर्मचारीहरूलाई दुई वर्ष ‘कुलिङ पिरियड’मा राख्ने व्यवस्था गरिनुपर्नेमा जोड दिएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। एक अर्को विषयमा नेता कोइरालाले हिन्दू राष्ट्र तथा राजतन्त्रको बहस गर्नुको साटो मुलुकमा सुशासन कायम गरी आर्थिक समृद्धि ल्याउनेतर्फ लाग्न सबैको ध्यान जानु आवश्यक भएको विचार राखे।
यसैगरी उनले पार्टीको महाधिवेशन तोकिएकै समयमा गराउन आमपार्टी कार्यकर्ताले दबाब दिनुपर्नेमा जोड दिए। नेता डा कोइरालाले हाल चर्चामा रहेको अध्यागमन ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्रीको नाम जोडिएको कुरा बाहिर आएकाले यस विषयमा आफूलाई निष्पक्ष देखाउन पनि मन्त्री रमेश लेखकले छानबिन समिति बनाएर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताए। त्यतिञ्जेल पदबाट राजीनामा दिए राम्रो सन्देश जाने उनको जिकिर थियो।
सामाग्री श्रोत :
‘उच्चपदस्थ कर्मचारीहरूलाई दुई वर्ष ‘कुलिङ पिरियड’मा राख्ने व्यवस्था आवश्यक छ’
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले आउँदो ३० जेठ मा ३०औं दीक्षान्त समारोह (दोस्रो चरण) आयोजना गर्दैछ । विश्वविद्यालयले स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, मेडिकल साइन्सेज तथा साइन्स एन्ड टेक्नोलोजीबाट स्नातक, स्नातकोत्तर र एमफिल तह उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि दीक्षान्त समारोह आयोजना गर्न लागेको हो ।
समारहोमार्फत दीक्षित हुन चाहनेले ११ जेठ अर्थात् भोलिसम्म आवेदन फाराम बुझाउने अन्तिम म्याद रहेको छ ।
इच्छुक विद्यार्थीहरूले यहाँ क्लिक गरी आवेदन दिन सक्नेछन् । आवेदनका लागि आवश्यक शुल्क बैंक भौचर र स्क्यान गरिएको कागजातहरू अपलोड गर्नुपर्नेछ ।
दीक्षान्त समारोहको विस्तृत कार्यक्रमबारे जानकारी पछि सार्वजनिक गरिने विश्वविद्यालयले जनाएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १०, २०८२ २१:४३
सामाग्री श्रोत :
टेक पाना
एजेन्सी– संयुक्त राज्य अमेरिकाको साउथ डकोटास्थित एउटा जङ्गलमा बनाइएको प्रयोगशालामा वैज्ञानिकहरू विज्ञानको क्षेत्रमा विद्यमान एउटा ठूलो प्रश्नको उत्तर खोज्ने प्रयासमा छन्।’हाम्रो ब्रह्माण्ड किन अस्तित्वमा छ?’
अमेरिकी र जापानी वैज्ञानिकहरूका छुट्टाछुट्टै समूह त्यो गुह्य पत्ता लगाउन भनेर मेहनतका साथ लागेका छन्।
ब्रह्माण्डको सृष्टिबारे अहिले प्रचलित सिद्धान्तले हामीले देख्ने वा हाम्रो सेरोफेरोमा भएका ग्रह, तारा र आकाशगङ्गाको अस्तित्वको कारणलाई व्याख्या गर्न सक्दैन। उत्तर फेला पर्ने आशामा दुवै टोलीले ‘न्यूट्रिनो’ भनिने सब-एटमिक सूक्ष्मकणको अध्ययन गर्न र त्यस्ता कण फेला पार्न सक्ने एउटा उपकरण ‘डिटेक्टर’ बनाउँदै छन्।
साउथ डकोटामा अमेरिकाको नेतृत्वमा सञ्चालित सहकार्यमा जमिनमुनि निकै तल गरिने विभिन्न प्रयोगले ब्रह्माण्डको सृष्टिको रहस्योद्घाटन हुन सक्ने आशा गरिएको छ। यो प्रयोगका लागि वैज्ञानिकहरू जमिनभन्दा १,५०० मिटर तल तीनवटा विशाल भूमिगत गुफामा जाने छन्।
यो संरचना यति विशाल छ कि त्यससँग तुलना गर्दा निर्माण गर्ने प्राविधिकहरू र तिनले प्रयोग गरेका बुल्डोजरहरू साना खेलौनाजस्ता देखिन्छन्। उक्त प्रयोगलाई ‘डीप अन्डर्ग्राउन्ड न्यूट्रिनो एक्स्पेरिमन्ट’ (DUNE) अथवा ‘ड्यून’ नामकरण गरिएको छ।
यो परियोजनाका विज्ञान निर्देशक डा ज्यारेट हाइजले ती गुफालाई “विज्ञानको गिर्जाघर”को सङ्ज्ञा दिएका छन्।
उनी झन्डै १० वर्षदेखि स्यान्फर्ड अन्डर्ग्राउन्ड रिसर्च फसिलटी (SURF – सर्फ) मा ती गुफाको निर्माणमा संलग्न छन्। ड्यूनमा बाहिरबाट ध्वनि र विकिरण नजाने बनाइएको छ। अहिले ड्यून अर्को चरणका लागि तयार छ।
“हाम्रो अस्तित्वको कारण बुझ्न लालायित, विभिन्न ३५ देशका १,४०० वैज्ञानिकहरूको सहकार्यमा प्रयुक्त उपकरणहरूको सहयोगमा हामी यस्तो ‘डिटेक्टर’ बनाउन लागेका छौँ जसले ब्रह्माण्डबारे हाम्रो ज्ञानलाई परिवर्तन गरिदिने छ,” उनले भने।
ब्रह्माण्डको सृष्टि हुँदा दुई खालका कणहरू उत्पन्न भएका मानिन्छ।
तारा, ग्रह र हाम्रो सेरोफेरोमा देखिने सबै कुरा ‘म्याटर’ अर्थात् पदार्थबाट बनेका छन्। त्यही परिमाणमा विपरीत कणहरू बने, जसलाई ‘एन्टिम्याटर’ अर्थात् प्रतिपदार्थ भनिन्छ।
सिद्धान्ततः तिनले एकअर्कालाई नष्ट गरिदिनुपर्ने हो। त्यसो हुँदा ठूलो परिमाणमा ऊर्जा निस्किन्थ्यो र विस्फोटन हुन्थ्यो। तर त्यसो हुँदैन। पदार्थ जोगिएको छ, हामी बनेका छौँ।
‘पदार्थ’ कसरी जोगियो भन्ने प्रश्नको उत्तर ‘न्यूट्रिनो’ र त्यसको विपरीत गुण भएको प्रतिपदार्थ ‘एन्टि-न्यूट्रिनो’को अध्ययनबाट प्राप्त हुन सक्ने वैज्ञानिकहरू ठान्छन्।
इलिनोईमा स्थापित भूमिगत संरचनाबाट वैज्ञानिकहरूले ती दुवै खालका कणका पुञ्जहरू प्रसारित गर्ने छन्।
तिनलाई ८०० माइल टाढा साउथ डकोटामा भएका ‘डिटेक्टर’हरूले पत्ता लगाउने छन्।
आफ्नो यात्राका क्रममा न्यूट्रिनो र एन्टि-न्यूट्रिनोमा केही परिवर्तन हुन्छ।
वैज्ञानिकहरू न्यूट्रिनो र एन्टि-न्यूट्रिनोमा हुने परिवर्तनहरू भिन्न हुन्छन् कि हुँदैनन् भनेर पत्ता लगाउन चाहन्छन्।
त्यस्तो परिवर्तनमा भिन्नता रहेछ भने उनीहरूले पदार्थ र प्रतिपदार्थले एकअर्कालाई किन नष्ट गर्दैनन् भन्ने प्रश्नको उत्तर प्राप्त हुने बताएका छन्।
ड्यूनमा सहभागी ससिक्स यूनिभर्सिटीकी डा केट शअ अब पत्ता लाग्न सक्ने तथ्य ब्रह्माण्डबारे हाम्रो ज्ञान र मानिसको आफूबारे विद्यमान धारणालाई “रूपान्तरण” गरिदिने ठान्छिन्।
“यी ठूला प्रश्नहरू खोतल्न हामीसँग अहिले प्रविधि, इन्जिनिअरिङ र कम्प्युटरको सीप छ। यो निकै रोचक कुरा हो,” उनी भन्छिन्।
प्रतिस्पर्धा
उता ९,६५० किलोमिटर टाढा जापानमा वैज्ञानिकहरू तिनै प्रश्नको उत्तर खोज्न सुनौला ‘ग्लोब’ प्रयोग गर्दै छन्। यो प्रयोगशालाको भव्यताले यसलाई ‘विज्ञानको मन्दिर’ जस्तो बनाइदिएको छ।
जापानी वैज्ञानिकहरू ‘हाइपर-के’ निर्माण गर्दै छन्। यो प्रयोगशाला त्यहाँ जापानमा अहिले विद्यमान ‘सूपर-के’ न्यूट्रिनो डिटेक्टरभन्दा विशाल र अझ उन्नत हुने बताइन्छ।
जापानी वैज्ञानिकहरूको नेतृत्वमा रहेको प्रयोगशाला तीन वर्षभित्र न्यूट्रिनोको पुञ्ज प्रसारित गर्न सक्ने अवस्थामा पुग्ने छ। तर त्यो चरणमा पुग्न अमेरिकी परियोजनालाई अझ केही वर्ष लाग्ने छ।
ड्यूनजस्तै हाइपर-के पनि अन्तर्राष्ट्रिय सहकार्यको परियोजना हो।
लन्डनस्थित इम्पिरिअल कलेजका डा मार्क स्कट आफ्नो टोली ब्रह्माण्डको उत्पत्तिबारे अहिलेसम्मकै एउटा गुह्यतम कुरा पत्ता लगाउन सक्ने “बलियो अवस्थामा भएको” ठान्छन्।
“हामीले पहिला काम थाल्यौँ र हामीसँग एउटा अझ ठूलो ‘डिटेक्टर’ छ। त्यसैले हामीले ड्यूनले भन्दा चाँडै बढी सङ्केत पाउन सक्छौँ,” उनी भन्छन्।
“यी दुइटै प्रयोग एउटै समयमा हुनु भनेको वैज्ञानिकहरूले एउटाबाट मात्र भन्दा बढी ज्ञान पाउँछन् भन्ने हो,” उनले भने, “म पहिला त्यो स्थानमा पुग्न चाहन्छु!”
तर ड्यून परियोजनामा संलग्न तथा क्वीन मेरी यूनिभर्सिटि अफ लन्डनकी वैज्ञानिक डा लिन्डा क्रेमोनेसीका अनुसार पहिलो हुनु भनेको जापानको नेतृत्वमा रहेको टोलीले ब्रह्माण्डमा के हुँदै छ भन्ने कुराको पूरै भेउ पाउँछ भन्ने होइन।
“त्यहाँ प्रतिस्पर्धाको भाव छ। तर न्यूट्रिनो र एन्टि-न्यूट्रिनोले किन भिन्न गुण देखाउँछन् भन्ने कुरा बुझ्न आवश्यक पर्ने सबै अवयव अझै ‘हाइपर-के’सँग छैन,” उनी भन्छिन्।
दुइटा परियोजनाबीच प्रतिस्पर्धा चलेको छ। परिणाम केही वर्षभित्र हात पर्ने अपेक्षा गरिएको छ। तर अहिले भने हामीलाई अस्तित्वमा ल्याउने समयको आरम्भ हुँदा के भएको थियो भन्ने कुरा भने रहस्यकै गर्भमा छ।बीबीसीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले तोकिएको समयभन्दा एक वर्ष ढिलागरी सबै जिल्ला कमिटीका अधिवेशन सम्पन्न भएका छन्।
धनुषा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएसँगै पार्टी सबै जिल्लाका अधिवेशन सम्पन्न भएका हुन्। विसं २०८१ जेठ महिनाभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने समय तोकिएको थियो। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले धनुषामा अधिवेशन सम्पन्न भएसँगै सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको जानकारी दिए। यही जेठ महिनाभित्र जनसंगठनको महाधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको उनले बताए।
निर्वाचन आयोग अध्यक्ष डा सुब्बाका अनुसार अनेरास्ववियु, अखिल नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल खेलकुद महासंघ, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघलगायतको महाधिवेशन गर्न बाँकी रहेको छ। ठूला जनसंगठनको १५१ केन्द्रीय कमिटी र साना जनसंगनठको ९९ केन्द्रीय कमिटी बनाउन पार्टीले निर्देशन दिएको छ।
सामाग्री श्रोत :
काठमाडौँ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले नयाँ स्मार्टफोन ‘१५एस प्रो’ सार्वजनिक गरेको छ । कम्पनीले पहिलो पटक आफ्नै चिपसेट ‘एक्सरिङ ओ-वन’ प्रयोग गर्दै यो फोन बिहीबार सार्वजनिक गरेको हो ।
फोनमा १२० हर्ज रिफ्रेस रेट भएको ६.७३ इन्चको टुके ओएलईडी एलटीपीओ डिस्प्ले दिइएको छ । यसमा एल्युमिनियम फ्रेम प्रयोग गरिएको छ ।
साओमी १५एस प्रो मा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५० मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा र ५० मेगापिक्सेलकै फाइभ एक्स टेलिफोटो क्यामेरा जडान गरिएको छ । सबै क्यामेरामा लाइका सुमिल्क्स लेन्स प्रयोग गरिएको कम्पनीले जनाएको छ । साथै, तस्वीरको गुणस्तर उत्कृष्ट बनाउनका लागि ‘एक्सरिङ ओ-वन आईएसपी भी४’ इमेजिङ प्रोसेसर समावेश गरिएको छ ।
पछाडिको क्यामेराले एटके (8K) २४ एफपीएस, फोरके ३०/६० एफपीएस र १०८०पिक्सेलमा ९६० एफपीएस सम्मको भिडिओ खिच्न सक्ने दाबी कम्पनीले गरेको छ । फ्रन्टमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ, जसले फोरके ६० एफपीएस भिडिओ रेकर्ड गर्न सक्छ ।
यस स्मार्टफोनमा अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानर, ६१०० एमएएच क्षमताको ब्याट्री र ९० वाट वायर्ड तथा ५० वाट वायरलेस चार्जिङ सुविधा छ ।
फोनमा १६ जीबी र्याम दिइएको छ भने ५१२ जीबी र १ टीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ । यसमा दुई ओटा सिम प्रयोग गर्न सकिन्छ । साथै, एन्ड्रोइड १५ र हाइपर ओएस २.० अपरेटिङ सिस्टम समावेश गरिएको छ ।
अडियो पक्षमा फोनमा स्टेरियो स्पिकर, डल्बी एट्मस सपोर्ट र चार ओटा माइक्रोफोन छन् । यसले आईपी ६८ रेटिङ पाएकोले पानी र धुलोबाट सुरक्षित रहने बताइएको छ । फोनले ब्लुटुथ ५.४, वाईफाई ७ (८०२.११), डुअल फोरजी भीओएलटीई र एनएफसी जस्ता फिचरहरू सपोर्ट गर्छ ।
यस फोनको सुरुवाती मूल्य ५,४९९ चिनियाँ युआन (झन्डै एक लाख पाँच हजार नेपाली रुपैयाँ) तोकिएको छ । यो फोन बिहीबारदेखि चिनियाँ बजारमा उपलब्ध भइसके पनि विश्वबजारमा कहिले उपलब्ध हुन्छ भन्नेबारे कम्पनीले जानकारी दिएको छैन ।
पछिल्लो अध्यावधिक: जेठ १०, २०८२ १७:५७
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारको लागि भन्दै आम नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता भएको बताएका छन् ।
शनिबार नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
जनताको अधिकारकानाममा समाज विकासका लागि महत्त्वपूर्ण प्रभाव खेल्नसक्ने व्यक्तिहरूमाथि गोली प्रहार गर्नु तत्कालीन समयमा माओवादीको हिंसाको चरम कायरताको चिन्ह भएको बताए ।
‘जनताको अधिकारको लागि जिल्लामा जनताको अधिकारको लागि, समाज विकासको लागि महत्त्वपूर्ण प्रभाव खेल्नसक्ने मानिसमाथि उनीहरूको गोली प्रहार माओवादीको हिंसाको चरम कायरताको चिन्ह थियो त्यसबेला,’ सिटौलाले भने ।
त्यस प्रकारका घटनाहरुबारे चर्चा गर्दा माओवादीका नेताहरूले गल्ती गरेको महसुस गर्ने गरेको उल्लेख गरे ।
‘यस्ता प्रकृतिका घटनाहरुबारे चर्चा गर्दा माओवादीका नेताहरुले गल्ती गरेको रियलाइज पनि गर्दछन् । कतिपय ठाउँमा गल्ती भएको छ भन्छन्,’ उनले भने, ‘कति हृदयदेखि भन्छन् । कति हाम्रो सामुन्ने कुरा गर्दछन् । तर जे होस्, पञ्चायत कालदेखि जनताको अधिकारको लागि नेपाली काँग्रेस संगठित भएर लागेको छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। नपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पछिल्लो समय कम्युनिष्ट पार्टीमा आएको सैद्धान्तिक विचलनका कारण राष्ट्रिय राजनीतिमा विभिन्न संकट उत्पन्न भएको बताएका छन्।
पार्टीको काठमाडौं निर्वाचन क्षेत्र नं ८ कमिटीद्वारा आज आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले देश र जनताका पक्षमा क्रियाशील कम्युनिष्ट पार्टीले विगतका अनुभवबाट सिक्दै गल्ती तथा कमजोरीलाई सच्याएर राष्ट्र निर्माणमा लाग्नुपर्ने बताए।
सम्मानित नेता खनालले सिद्धान्त, नीति तथा कार्यक्रमको आधारमा वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने बताउँदै आफ्नो पार्टीका तर्फबाट नेपाली मौलिकता र विशेषतालाई दृष्टिगत गरी ल्याइएका नीति तथा कार्यक्रम देश र जनताका पक्षमा रहेको उल्लेख गरे। उनले आर्थिक र सामाजिक विकासको आधारमा समानता, सामाजिक निष्पक्षता एवं न्याय निश्चित गर्न आवश्यक संस्था विकास गर्नुपर्नेमा जोड दिए।
सांगठनिक विचार, सिद्धान्त र लक्ष्यलाई जनतासमक्ष प्रस्ट पार्न नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै नेता खनालले सांगठनिक हितका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।
सामाग्री श्रोत :
सिद्धान्त, नीति तथा कार्यक्रमको आधारमा वामपन्थी शक्ति एकताबद्ध हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल