काठमाडौं। उपत्यकामा बढ्दो सहरीकरण र सवारीको चापलाई व्यवस्थापन गर्न ६९ स्थानमा ट्राफिक लाइट जडान गरिए । तर, २८ वटा ट्राफिक लाइट बिग्रिएर थन्किएको महिनौं भयो । यी लाइट मर्मत गरेर सञ्चालनमा ल्याउन कुनै पनि सरकारी निकाय तयार छैनन् ।

काठमाडौं उपत्यकामा जडान गरिएका ६९ ट्राफिक लाइटमध्ये २८ वटा पूर्णरूपमा बिग्रिएका छन्। पैदल यात्रुका लागि छुट्टै ‘पेनिकल लाइट’ समेत समावेश गरिएका मध्ये अधिकांश लामो समयदेखि मर्मत नहुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर चुनौती थपिएको छ।
उपत्यका ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक गिरीका अनुसार बिग्रिएका लाइटमध्ये केही आन्दोलनकारीको तोडफोड, केही चट्याङका कारण र कतिपय प्रविधिगत वा विद्युत प्रणालीको समस्याका कारणले बिग्रिएका हुन्।
‘ट्राफिक प्रहरीले लाइट मर्मत गर्ने न बजेट पाउँछ, न प्राविधिक जनशक्ति नै,’ प्रवक्ता दीपक गिरीले भने, ‘बिग्रिएका लाइट सडक विभाग र सम्बन्धित महानगरपालिकाले मर्मत गर्नुपर्छ।’

गिरीका अनुसार, काठमाडौं उपत्यकामा हाल काठमाडौं जिल्लामा ५२ स्थानमा, ललितपुरमा १२ स्थानमा र भक्तपुरमा पाँच स्थानमा ट्राफिक लाइट छन्। तीमध्ये काठमाडौंका २०, ललितपुरका ३, भक्तपुरको १ र पैदल यात्रीका लागि छुट्टिएको काठमाडौंका ४ स्थानमा ट्राफिक लाइट अवरुद्ध छ। प्रयोगमा भएका ६९ वटा ट्राफिक लाइट मध्ये ४१ वटा मात्रै अहिले सञ्चालनमा छन्।
उनले भने, ‘हामीले यी ठाउँमा लाइटहरु विग्रिएका छन् भनेर जानकारी गराएका छौं। काठमाडौंमा अब ५२ ठाउँमा ट्राफिक लाइट जडान भएको छ भने ललितपुरमा १२ ठाउँमा र भक्तपुरमा पाँच ठाउँमा ट्राफिक लाइट जडान छन्। तर अन्य थुप्रै बिग्रिएका छन्। जसमा काठमाडौंको २० ठाउँमा ट्राफिक लाइट बिग्रिएका छन्। ललितपुरमा तीन, भक्तपुरमा एक र पैदल यात्रुहरु बाटो काट्ने ठाउँमा काठमाडौंमा चार ठाउँमा बिग्रिएको अवस्था छ।’
ट्राफिक लाइट नहुँदा ट्राफिक व्यवस्थापनमा मानव जनशक्ति प्रयोग गर्नुपर्ने बाध्यता रहेको गिरीले बताए। ‘लाइट हुँदा चालकहरूले नियम पालना गर्न सजिलो हुन्छ,’ गिरीले भने, ‘तर लाइट नभएको अवस्थामा चोकमा प्रहरी उभिएर हातको इशाराले ट्राफिक चलाउनुपर्छ। घाम, पानी, हावाहुरीले गर्दा प्रहरीमाथि थप दबाब पर्छ।’
यसैगरी प्रवक्ता गिरीले ट्राफिक लाइट नहुँदा दुर्घटना धेरै हुने सम्भावना बढेको बताए । उनले कुनैबेला सवारी आवागमनको र मान्छेको चाप बढि भएको बेला ट्राफिक प्रहरीको हातको इशाराले नपुग्ने भन्दै दुर्घटनाको जोखिम झन बढ्ने गरेको बताए।
उनले भने, ‘ट्राफिक लाइट नहुँदा दुर्घटना धेरै हुने सम्भावना बढि नै हुन्छ। जहाँ लाइटहरु बलिरहेका हुन्छन् त्यहाँ सबैलाई थाहा हुन्छ आफ्नो यात्रा गर्ने समय। लाइट बलिरहेको ठाउँमा जथाभाभी बाटो काट्न सकिँदैन र दुर्घटना कम हुन्छ। तर ट्राफिक लाइट नहुँदा हातको इशाराले प्रहरीले सबैलाई व्यवस्थापन गरिहेको हुन्छ। तर कुनैबेला सवारी आवागमन र पैदलयात्रुको चाप बढि भएको बेला हातको इशाराले पुग्दैन। त्यो बेला पैदल यात्रीहरु बाटो काट्दै जान्छन् र दुर्घटनाको जोखिम बढ्छ।’
उनले प्रविधिमैत्री ट्राफिक व्यवस्थापनको आवश्यकतामा जोड दिँदै भने, ‘२१औं शताब्दीमा हरेक चोकमा प्रहरी उभ्याउनुको सट्टा प्रविधि प्रयोग गर्नु उत्तम हुन्छ। यसले दुर्घटनाको जोखिम घटाउँछ, नियम उल्लंघन प्रमाणित गर्न सीसीटीभीमार्फत सजिलो हुन्छ।’
दैनिक २५ सय चालक कारवाहीमा !
यसैगरी ट्राफिक महाशाखाका प्रवक्ता गिरीले ट्राफिक लाइट उल्लंघन गर्नेहरुमध्ये दैनिक करिब दुई हजारदेखि २५ सयजना चालक कारवाहीमा पर्ने गरेको बताए। उनले मादक पदार्थ सेवन गरेर सवारी चलाउने झन्डै एक सय चालक दैनिक नियन्त्रणमा लिइने गरेको समेत बताए।
उनले भने, ‘ट्राफिक लाइटको उल्लंघन गर्ने दुई हजारदेखि २५ सयजना चालकहरु एकैदिन कारवाहीमा परिरहेका हुन्छन्। कतिपय ठाउँमा प्रहरी पुग्न सक्दैन र छुटेको हुनसक्छ। मादक पर्दाथ सेवन गरेर सवारी चलाउने एकसय जना कारवाहीमा परिरहेका हुन्छन्।’
यसैगरी ट्राफिक प्रहरीले ब्रेथलाइजर र शंकास्पद अवस्थामा अस्पताल तथा युरिन परीक्षणमार्फत मापसे तथा लागुपदार्थ सेवनको चेकजाँच गर्दै आएको समेत उनले बताए।
प्रायः निकै ठूलो तामझाम गरेर ट्राफिक लाइट जडान गर्ने, मर्मत संभार नगर्ने र जिम्मेवारी नलिने परिपाटी धेरै हुँदा सवारी चालक ट्राफिक प्रहरीकै हातको इसारामा चल्न बाध्य छन्।
ट्राफिक लाइट नभएका स्थानमा सवारीको चाप बढ्ने, नियम उल्लंघन हुने, सवारी भद्रगोल हुने जस्ता समस्या देखिएका छन्।
सामाग्री श्रोत :
काठमाडौं उपत्यकामा बल्नै छाडे ट्राफिक लाइट, हातको इशारामा प्रहरी