२०८२ बैशाख २२ सोमबार
LATEST NEWS
२०८२ बैशाख २२ सोमबार

एन्ड्रोइड फोनमा तुरुन्तै मिलाउनु होस् यी ६ सेटिङ, जसले जोगाउनेछन् तपाईँको गोपनीयता

काठमाडौँ । आजकल हाम्रो स्मार्टफोनमा व्यक्तिगत कुराकानीदेखि फोटोहरू सम्मका थुप्रै महत्त्वपूर्ण जानकारीहरू राखिएका हुन्छन् । त्यसैले, आफ्नो डेटा सुरक्षित छ भनी सुनिश्चित गर्नका लागि फोनका केही सेटिङ नियमित रूपमा चेकजाँच गर्नु एकदमै आवश्यक छ । 

यसबाट कुन एपले तपाईँको के-के डेटा हेरिरहेको छ वा पहुँच गरिरहेको छ भनेर पत्ता लगाउन मद्दत गर्छ । यी सेटिङहरू प्रायः सबै एन्ड्रोइड फोनहरूमा उपलब्ध हुन्छन्, त्यसैले तपाईँको फोन जुनसुकै कम्पनीको भए पनि यी तरिकाहरू काम लाग्छन् ।

१. एपहरूको अनुमति (Permission) सेटिङ जाँच गर्ने

हामीले धेरै एपहरू इन्स्टल गरिरहेका हुन्छौँ र प्रयोग गर्छौ । तिनीहरूलाई इन्स्टल गर्दा कुन अनुमति दिएका थियौँ भन्ने कुरा याद नहुन सक्छ । एपहरूलाई दिइएका सबै अनुमतिहरूको सूची बेलाबेला हेर्नु एकदमै असल अभ्यास हो ।

यसरी तपाईँ कुनै एपले अनावश्यक अनुमति लिएको रहेछ भने पत्ता लगाएर त्यसलाई बन्द गर्न सक्नुहुन्छ । यो कुरा जाँच गर्नका लागि फोनको Settings मा जानुहोस्, त्यसपछि privacy > Privacy dashboard मा जानुहोस्। यहाँ तपाईँले लोकेसन, क्यामेरा, माइक्रोफोन, कल लग, कन्ट्याक्ट्स जस्ता विभिन्न अनुमतिहरूको सूची देख्नु हुनेछ ।

प्रत्येक अनुमतिमा क्लिक गरेर कुन एपले त्यसको पहुँच पाएको छ हेर्नुहोस् । उदाहरणका लागि, वेब ब्राउजर (जस्तै क्रोम) लाई तपाईँको लोकेशनको पहुँच नचाहिन सक्छ । यदि आवश्यक छैन भने, तपाईँले त्यस्ता एपहरूको लोकेसन एक्सेस बन्द गर्न सक्नुहुन्छ ।

२. सटीक लोकेसनको (Precise location) पहुँच नियन्त्रण गर्ने

तपाईँको फोनमा भएका कुन एपलाई आफ्नो एकदमै सटीक ठेगाना (precise location) चाहिन्छ र कुनलाई सामान्य क्षेत्र (approximate location) भए पुग्छ, त्यो छुट्याउनुहोस् । क्षेत्र विशेषका जानकारी दिने केही एपलाई तपाईँको सहर वा राज्य मात्र भए पुग्छ, तपाईँ कहाँ हुनुहुन्छ भन्ने सही लोकेसन चाहिँदैन ।

ट्याक्सी मगाउने (इन्ड्राइभ, पठाओ) वा बाटो देखाउने (गुगल म्याप्स, एप्पल म्याप्स) जस्ता एपलाई भने तपाईँको सही लोकेसन आवश्यक पर्छ । आफ्नो लोकेसन डेटा सुरक्षित राख्नका लागि माथि जस्तै सेटिङ्स हुँदै privacy > Privacy dashboard > Location मा जानुहोस् । यहाँ एपहरूको सूची देखिन्छ ।

त्यसको तल पुछारमा रहेको Manage permission मा गएर एपहरूलाई एक एक गरी छानेर Use precise location भन्ने विकल्प आवश्यकता अनुसार अन वा अफ गर्नुहोस् । एप प्रयोग गरिरहेको बेला मात्र लोकेसन पहुँच दिनको लागि एपको लोकेसन सेटिङमा Allow only while using the app भन्ने विकल्प छनौट गर्नुहोस् ।

३. व्यक्तिगत विज्ञापनहरू बन्द गर्ने

तपाईँले फोनमा के गर्नुहुन्छ, के खोज्नुहुन्छ र कुन सामग्री हेर्नुहुन्छ भन्ने आधारमा इन्टरनेटमा विज्ञापनहरू देखाइन्छ । यो तपाईँको गोपनीयताको लागि चिन्ताको विषय हुन सक्छ । किनकि यसरी तपाईँको बानीको जानकारी गुगल र अन्य विज्ञापन प्रदायकहरूलाई पठाइन्छ ।

एन्ड्रोइडमा यो बानी बन्द गर्ने सुविधा छ । यसलाई बन्द गर्दा तपाईँले देख्ने विज्ञापनहरू तपाईँको सर्च हिस्ट्री (इन्टरनेटमा गरिने सर्च तथा खोज) वा रुचिमा आधारित हुने छैनन् । यो सेटिङ मिलाउन Settings मा गएर privacy > Ads मा जानुहोस् । त्यसपछि Ads privacy भित्र रहेका Ad topics, App-suggested ads, र Ad measurement लाई बन्द गर्नुहोस् । हालसम्म सङ्कलन भएको डेटा हटाउनका लागि Delete advertising ID मा ट्याप गरेर Reset advertising ID गर्नुहोस् ।

४. क्लिपबोर्डको सेटिङ मिलाउने

तपाईँको फोनको क्लिपबोर्डमा कपी गरिएका सामग्रीहरू (जस्तै पासवर्ड, बैँक खाता नम्बर, फोन नम्बर, फोटो) हुन सक्छन् । कुनै एपले तपाईँको क्लिपबोर्डबाट डेटा लिने प्रयास गर्दा फोनले तपाईँलाई जानकारी दिने सुविधा गुगलले ल्याएको छ । यो सुविधा एकदमै महत्त्वपूर्ण छ । यसलाई अन गर्न Settings > privacy मा जानुहोस् र Show clipboard access भन्ने विकल्पलाई अन गर्नुहोस् ।

अब कुनै एपले तपाईँको क्लिपबोर्ड पहुँच गर्दा स्क्रिनको तल सानो सूचना (toast notification) देखिनेछ । यदि तपाईँले कुनै एप चलाइ रहँदा यस्तो सूचना देख्नुभयो भने, त्यसले तपाईँको क्लिपबोर्डको डेटा हेर्न खोजीरहेको हुन सक्छ, त्यसैले त्यस्तो एपलाई हटाएर अर्को सुरक्षित विकल्प खोज्नु राम्रो हुन्छ ।

५. स्क्रिन अफ हुने बित्तिकै फोन लक हुने बनाउने

यो एउटा धेरै महत्त्वपूर्ण सेटिङ हो । जुन धेरै फोनमा डिफल्ट (पूर्वनिर्धारित) रूपमा बन्द गरिएको हुन्छ । सामान्यतया, फोन प्रयोग नगर्दा निश्चित समयपछि स्क्रिन आफैँ बन्द हुन्छ र फोन लक हुन्छ । तर, कतिपय फोनमा स्क्रिन बन्द भएको र फोन लक भएको बीचमा करिब पाँच सेकेन्डको ढिलाइ हुन्छ ।

यो समयमा कोहीले तपाईँको फोनमा पासवर्ड बिना नै तुरुन्तै पहुँच पाउन सक्छ । यो जोखिमबाट बच्नका लागि Settings > Password and security > Screen lock मा पुग्नुहोस् । यहाँ Screen lock छेउमा रहेको सानो गियर (⚙️) आइकनमा ट्याप गर्नुहोस् । Lock after screen timeout भन्ने विकल्पलाई Immediately मा सेट गर्नुहोस् । साथै, Power button instantly locks भन्ने विकल्पलाई पनि अन गर्नुहोस् । यसले पावर बटन थिच्ने बित्तिकै फोन लक गर्न मद्दत गर्छ ।

६. प्राइभेसी ड्यासबोर्ड (Privacy dashboard) जाँच गर्नुहोस्

एन्ड्रोइडको प्राइभेसी ड्यासबोर्डले तपाईँको फोनमा कुन एपले तपाईँको क्यामेरा र माइक्रोफोन जस्ता संवेदनशील अनुमतिहरू कहिले प्रयोग गरे भन्ने देखाउँछ । यसले तपाईँको फोनमा कुन एप भरपर्दो छ र कुन छैन भनेर थाहा पाउन मद्दत गर्छ । प्राइभेसी ड्यासबोर्ड हेर्नका लागि Settings > Privacy > Privacy dashboard मा जानुहोस् । यहाँ तपाईँले Location, Camera, Microphone, जस्ता मुख्य अनुमतिहरू देख्नु हुनेछ ।

प्रत्येकमा ट्याप गरेर कुन एपले त्यसलाई कहिले प्रयोग गरेको थियो भन्ने जानकारी समयरेखामा हेर्न सक्नु हुन्छ । यदि कुनै एपले तपाईँले प्रयोग नगरिरहेको बेला वा बिना कारण तपाईँको क्यामेरा वा माइक्रोफोन प्रयोग गरेको देखियो भने त्यस्तो एपलाई अनइन्स्टल गर्नु राम्रो हुन्छ । सामान्यतया, क्यामेरा चलाउने एप (जस्तै भिडिओ कलिङ एप, इन्स्टाग्राम, फोनको क्यामेरा एप) ले मात्र क्यामेरा प्रयोग गरेको देखिनुपर्छ ।

यी सेटिङहरूलाई नियमित रूपमा जाँच गर्नाले तपाईँको स्मार्टफोनलाई मालवेयर वा बाह्य हस्तक्षेपबाट सुरक्षित राख्न मद्दत गर्छ । यदि तपाईँले यी सेटिङहरूमा कुनै नचिनेको वा शङ्कास्पद एप देख्नुभयो भने, त्यसलाई तुरुन्तै अनइन्स्टल गर्नुहोस् ।

भविष्यमा कुनै नयाँ एप इन्स्टल गर्दा, एपले मागेका सबै अनुमतिहरूलाई बिना सोचेर स्वीकृति नदिनुहोस् । एपलाई त्यसको काम गर्नका लागि जति आवश्यक छ, त्यति मात्र अनुमति दिनुहोस् । उदाहरणका लागि, क्यामेरा एपलाई तपाईँको कन्ट्याक्ट लिस्ट आवश्यक पर्दैन।

 

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८२ १२:३८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट