काठमाडौं । एमजी मोटरले आफ्नो साइबर सिरिज अन्तर्गतको नयाँ ईभी सार्वजनिक गरेको छ । हाल चीनको साङ्घाइमा जारी साङ्घाइ अटो शो २०२५ मा कम्पनीले साइबरको लाइनअपको रुपमा नयाँ एसयूभी साइबर एक्स प्रदर्शन गरेको हो । स्टारडस्ट ग्रे कलरको यो इलेक्ट्रिक एसयूभीमा क्लासिक पप-अप हेडलाइट, फुल-विड्थ एलईडी लाइट बार, डुअल-टोन अलोय ह्वील जस्ता फिचरहरू छन्।

यो गाडीको डिजाइन चर्चित अटो डिजाइनर जोसेफ काबानको निर्देशनमा तयार गरिएको बताइएको छ, जसले यो भन्दा अगाडी बुगाट्टी भेरोनको पनि डिजाइन गरेका थिए । साइबर एक्स एसयूभी एसएआईसी (SAIC) कम्पनीको नयाँ ईथ्री (E3) इलेक्ट्रिक प्लेटफर्ममा आधारित रहेको बताइएको छ । यसमा एमजीको नयाँ जेब्रा ३.० अपरेटिङ सिस्टम प्रयोग गरिएको जनाइएको छ । कम्पनीले यो गाडी विशेष गरी शहरी क्षेत्र तथा अफरोडलाई लक्षित गरि तयार गरेको बताएको छ ।
साइबर एक्ससँगै कम्पनीले साइबरस्टर एमवाई २०२६ र साइबरस्टर ब्ल्याक १०१ एनिभर्सरी इडिसन पनि साङ्घाई अटो शोको क्रममा सार्वजनिक गरेको छ । सन् २०२६ मा यी गाडीहरू बजारमा उपलब्ध हुने अनुमान गरिएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १२, २०८२ १०:२८

सामाग्री श्रोत :
टेक पाना