काठमाडौँ । गुगललाई एन्टिट्रस्ट मुद्दाको समाधानका रूपमा क्रोम ब्राउजर बेच्न बाध्य पारिए ओपनएआईले त्यसलाई खरिद गर्ने चाहना व्यक्त गरेको छ । मङ्गलबार ओपनएआईको च्याटजीपीटीका प्रडक्ट लिड निक टर्लीले एक अदालतको सुनुवाइमा क्रोम ब्राउजर किन्ने आशय व्यक्त गरेका हुन् ।

रोयटर्सका अनुसार गुगलको एन्टिट्रस्ट उल्लङ्घनको समाधान (रेमेडी) निर्धारण गर्ने अदालतको सुनुवाइका क्रममा टर्लीले यस्तो प्रस्ताव प्रस्तुत गरेका हुन् । अमेरिकी न्याय विभागले गत वर्ष गुगलविरुद्ध एन्टिट्रस्ट मुद्दा जितेपछि गुगललाई क्रोम बेच्न दबाब दिइरहेको छ ।
अदालतले गुगलको सर्चमाथि अवैध एकाधिकार रहेको ठहर गरेको थियो । त्यसका साथै मुद्दा हेरिरहेका न्यायाधीश अमित मेहताले अहिले गुगलले भोग्नुपर्ने सजायबारे निर्णय गरिरहेका छन् । न्याय विभागले गुगलको सर्चमाथिको पकडले गर्दा ओपनएआईजस्ता प्रतिस्पर्धी कम्पनीको विकासमा बाधा पुगेको उल्लेख गरेको छ ।
टर्लीका अनुसार गत वर्ष ओपनएआईले सर्चजीपीटीलाई बलियो बनाउन गुगलसँग सर्च डेटामा पहुँच मागेको थियो । तर गुगलले उक्त प्रस्ताव अस्वीकार गरेको उनको आरोप छ ।

टर्लीले गुगलको रियल टाइम डेटामा पहुँचले ओपनएआईलाई ‘छिटो राम्रो उत्पादन बनाउन’ मद्दत पुग्ने बताएका छन् । क्रोम बिक्री गर्ने त छँदै छ, साथसाथै गुगललाई आफ्ना प्रतिस्पर्धीलाई यसको सर्च डेटामा पहुँच दिन बाध्य पारिने सम्भावना उच्च भएको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
गुगललाई एप्पल र अन्य कम्पनीसँग सर्च–सम्बन्धित सम्झौता गर्न पनि प्रतिबन्ध लगाइने सम्भावना छ । गुगलले एप्पलको सफारीमा डिफल्ट सर्च इन्जिन बन्नका लागि लामो समयदेखि एप्पललाई वार्षिक अरबौं डलर तिर्दै आएको छ । यसले गर्दा गुगललाई सर्चको मामलामा महत्त्वपूर्ण फाइदा पुगेको छ ।
न्याय विभागले गुगललाई एन्ड्रोइड पनि बेच्न सिफारिस गरिरहेको छ । तर, यदि अन्य प्रस्तावित समाधान पर्याप्त भएनन् वा गुगलले अन्य आवश्यकतालाई छल्न खोजेमा मात्र यो प्रक्रिया अगाडि बढ्ने बताइएको छ ।
ओपनएआईले सिरीमा च्याटजीपीटीलाई इन्टिग्रेट गरेबापत प्राप्त हुने आम्दानीको केही अंश एप्पललाई तिर्ने प्रस्ताव गरेको टर्लीले बयानका क्रममा बताएका छन् । तर एप्पलले भुक्तानी स्वीकार गरेको हो वा होइन भन्ने स्पष्ट छैन । र, विभिन्न रिपोर्टका अनुसार यो यस्तो सम्झौता थियो जहाँ न एप्पलले ओपनएआईलाई भुक्तानी गर्छ न ओपनएआईले एप्पललाई ।
ब्लुमबर्गका अनुसार ओपनएआईले आफ्नै सर्च इन्डेक्स विकास गरिरहेको छ । यससँगै कम्पनीले २०२५ को अन्त्यसम्म आफ्ना ८० प्रतिशत प्रयोगकर्ताले उक्त फिचर प्रयोग गरून् भन्ने कम्पनीको चाहना छ । तर, त्योभन्दा धेरै भरपर्दो गुगल सर्च भएकाले ओपनएआईलाई यो चाहना पूरा गर्न वर्षौं लाग्ने बताइएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १०, २०८२ १४:७
सामाग्री श्रोत :
टेक पाना