२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

अस्ट्रेलियामा ५ वर्षसम्म पढेअनुसार काम नपाउँदा खोलेको एक्स्ट्राटेक, बन्दैछ विद्यार्थीको सहारा

 

काठमाडौँ । कम्प्युटर इन्जिनियरिङमा ब्याचलर्स र नेटवर्किङमा मास्टर्स पास गरेको अनुभव । तर हाउसकिपिङको काम गरिरहँदा एक्स्ट्राटेकका संस्थापक विनोद कुँवर सोच्ने गर्थे, “कम्प्युटरको अगाडि बसेर काम गर्न पाए पनि हुन्थ्यो ।”

तर विदेशमा आफ्नो पढाइ अनुसारको काम पाउन सकिरहेका थिएनन् । सन् २०१९ मा कुँवर स्नातकोत्तर गर्न अस्ट्रेलिया पुगेको पनि पाँच वर्ष भइसकेको थियो । विभिन्न आईटीसँग सम्बन्धित कम्पनीहरूमा आवेदन दिइरहेका थिए । तर ४०० भन्दा धेरै कम्पनीमा आवेदन दिइसक्दा पनि कतैबाट पनि उनले खुसीको खबर पाउन सकेनन् । 

त्यसपछि उनी अस्ट्रेलिया नै छाड्ने मनसायमा पुगे । काम पाउन सजिलो हुन्छ की भनेर युएई जाने प्रक्रिया अघि बढाउन थालिरहेका थिए । तर भाग्यवश उनले अस्ट्रेलियाकै एक आईटी कम्पनीमा जागिर पाए । तर काम गर्ने क्रममा “नेपालीहरूले पनि आईटी क्षेत्रमा काम गर्न सक्छन् ?” भन्ने जस्ता प्रश्नहरूको सामना गर्नु परेको उनी सुनाउँछन् । 

यस्ता प्रश्नहरूका कारण अस्ट्रेलियामा आईटी क्षेत्रमा जागिर पाउन समस्या भएका विद्यार्थीलाई जागिर खोज्न सघाउने कम्पनी नै सुरु गरेर धेरै नेपालीलाई आईटी कम्पनीमा भित्र्याउने सोच बनाए । त्यसपछि उनले सन् २०१९ मा अस्ट्रेलियाको सिड्नीबाट “एक्स्ट्राटेक” सुरु गरे । 

“एक्स्ट्राटेक”लाई विश्वविद्यालयको सैद्धान्तिक पढाइ र बजारलाई चाहिने प्रयोगात्मक जानकारीका बिच हुने खाडल पुर्ने संस्थाको रूपमा परिभाषित गर्छन्, कुँवर। उनी भन्छन्, “ संसारभरका विश्वविद्यालय प्रयोगात्मक भन्दा पनि सैद्धान्तिक हुन्छन् । कम्पनीहरूलाई डिग्री भन्दा पनि आबद्ध हुने बित्तिकै काम गर्न सक्ने सक्षम मान्छे चाहिन्छ । एक्स्ट्राटेकलाई एउटा ट्युसन सेन्टरको रूपमा लिए पनि हुन्छ । यहाँबाट तालिम लिएपछि काममा गएको पहिलो दिनबाट नै मज्जाले काम गर्नसक्ने गरी विद्यार्थीहरूलाई तयार पार्ने कोर्स डिजाइन गरेका छौँ ।”

आईटी क्षेत्रमा काम गर्न चाहने जुनसुकै व्यक्तिले जागिरको तयारीका लागि एक्स्ट्राटेकको तालिम लिन सक्ने उनले बताए । उनका अनुसार आईटीसँग सम्बन्धित विषयमा विश्वविद्यालयमा पढेको तर आईटी कम्पनीमा काम गरेको अनुभव नभएका, नेपालमा आईटी कम्पनीमा काम गरिसकेका, तर नेपाल बाहिरका कम्पनीमा रोजगारी खोजिरहेका अनि आईटी क्षेत्रमा कुनै जानकारी नै नभएका व्यक्तिलाई तालिम दिइन्छ।

एक्स्ट्राटेकले आईटी क्षेत्रमा केही जानकारी नभएका व्यक्तिहरूलाई ८ देखि १२ महिनासम्म लाग्ने तालिम प्रदान गरिरहेको छ । आईटी पढेका, तर प्रयोगात्मक ज्ञान-सीप नभएका व्यक्तिहरूले भने तीनदेखि चार महिनाको तालिम लिए पुग्छ । नेपालमा आईटी कम्पनीमा काम गरिसकेको अनुभव भएका व्यक्तिलाई करिअर काउन्सिलिङ समेत प्रदान गरिन्छ । 

क्लाउड, नेटवर्किङ, सिस्टम्स, साइबर सुरक्षा, डिजिटल मार्केटिङ, डेटा एनालिसिस, बिजनेस एनालिसिस, प्रोगामिङ लगायतका आईटीसँग सम्बन्धित विषयमा तालिम उपलब्ध गराउँदै आएको उनले सुनाए । साइबर सुरक्षामा विशेषज्ञता भएका उनले भने, “क्लाउड, नेटवर्किङ, सिस्टम र साइबर सेक्युरिटीको ट्रेनिङ म आफैँ दिन्छु ।”

यस्तै, करिअर काउन्सिलिङ अन्तर्गत रिजुम बनाउने, मक इन्टरभ्यु गराउने तथा डिप्लोमेटिक तरिकाले इन्टरभ्यु दिन तयार पार्ने काम गरिन्छ । प्रोफेसनल ईमेल लेख्ने, व्यक्तिको ब्रान्डिङ गर्ने तथा आत्मविश्वास बढाउने काम गरिन्छ । 

 

हालसम्म एक्स्ट्राटेकबाट १९ सयभन्दा धेरैले तालिम लिइसकेका छन् । त्यसमध्ये १५ सय जतिले काम पाइसकेको उनले बताए । 

कुँवरका अनुसार सन् २०२२ सम्म तालिम लिएका मध्ये ९० प्रतिशतसम्मले काम पाउने सम्भावना रहन्थ्यो ।  तर गत वर्ष एक्स्ट्राटेकमा तालिम लिएका मध्ये ७५% विद्यार्थीले काम ‍पाएको उनले सुनाए ।

समय समयमा सरकारको नीतिका कारणले जागिर पाउन विद्यार्थीहरूलाई समस्या पार्ने गरेको कुँवर सुनाउँछन् । पछिल्लो समय अस्ट्रेलियन सरकारले जागिरको क्रममा पीआर भएका व्यक्तिहरूलाई प्राथमिकतामा राख्ने गरेको छ । “यहाँ चुनाव आउन लागेको भएर विद्यार्थीहरूलाई रोजगारी  पाउन समस्या भइरहेको छ । तर मेहेनत गर्ने व्यक्तिले काम नै नपाउने भन्ने चाहिँ हुँदैन,” उनले भने । 

अस्ट्रेलियाका अन्य सहरमा एक्स्ट्राटेकले आफ्नो फ्रेन्चाइज समेत उपलब्ध गराएको छ । हाल सिड्नीसहित मेलबर्न, ब्रिसबे र पर्थ क्यानबेरामा एक्स्ट्राटेक सञ्चालनमा रहेको कुँवरले सुनाए । यस्तै कम्पनीले भौतिक कक्षाबाहेक अनलाइनमार्फत पनि तालिम उपलब्ध गराउँदै आएको छ । 

हाल नेपालीहरू रोजगारीका लागि जाने ३० देशहरूबाट अनलाइन एक्ट्राटेकको तालिम लिन सकिन्छ । यसमा नेपाली बाहेक दक्षिण एसियाली मूलका व्यक्तिहरूले पनि तालिम लिने गरेका छन् । “१०  भन्दा धेरै देशका व्यक्तिहरूले हामीसँग तालिम लिइरहेका छन् ।” 

संसारभरबाट पछिल्लो तीन महिनामा मात्रै २५० देखि ३०० विद्यार्थीहरू एक्स्ट्राटेकको तालिममा जोडिएको उनले सुनाए । अस्ट्रेलियामा कोर्स पूरा गरेको शुल्क २ लाख ५० हजार रुपैयाँसम्म बुझाउनुपर्छ । अमेरिकामा हुने व्यक्तिलाई त्यसैका लागि २ लाख ७० हजार रुपैयाँ पर्न जान्छ । यस्तै क्यानडाका लागि २ लाख, जापानबाट १ लाख ७० हजार र मलेसिया तथा कतारबाट कोर्स लिन ७० देखि ८० हजार रुपैयाँसम्म शुल्क लाग्ने गरेको उनले सुनाए । देशअनुसार तालिमका विषयवस्तु परिवर्तन गर्ने गरिएको र विद्यार्थीहरूलाई जागिर नपाएसम्म  कम्पनीले नै सपोर्ट गर्दै आएको उनले सुनाए । 

विद्यार्थीलाई तालिम दिने बाहेक एक्स्ट्राटेकले विभिन्न कम्पनीहरूका लागि आईटी सेवा समेत उपलब्ध गराउँछ । कुँवरले भने, “माग अनुसार एप्लिकेसन तथा वेबसाइट बनाउने, अफिस सेटअप गर्ने जस्ता सेवाहरू समेत उपलब्ध गराउँदै आएका छौँ ।”

एक्स्ट्राटेकको तालिम लिनेहरूको करिअरको धार नै परिवर्तन भएको उनको दाबी छ । “यहाँ तालिम लिएर आईटी कम्पनीका विभिन्न पोजिसनमा काम गरिरहनु भएको छ । म्यानेजर-सिनियर म्यानेजरको तहसम्म हाम्रा विद्यार्थीहरू पुगेका छन्,” उनी थप्छन्, “विदेशमा गएर आफ्नो फिल्ड अनुसारको काम पाउनु भनेको ठुलो कुरा हो ।” 

अस्ट्रेलियामा विद्यार्थी भिसामा जाने व्यक्तिका लागि हप्ताको २४ घण्टा मात्र पार्ट टाइम काम गर्ने अनुमति मिल्छ । जसले गर्दा  विद्यार्थी भिसामा जानेहरूलाई सम्बन्धित क्षेत्रमा काम  पाउन समस्या हुने गरेको उनले सुनाए । तर भिसा परिवर्तन भएपछि भने काम गर्न सहज हुन्छ । त्यसैले विद्यार्थीहरूले कलेजको पढाइ पुरा हुनुभन्दा ६ महिना वा एक वर्ष अघिदेखि नै तालिम लिएर आफ्नो अध्ययन अनुसारको काम गर्न तयार भएर बस्नु उपयुक्त हुने उनको सल्लाह छ । 

नेपालमा पनि एक्स्ट्राटेक 

विगत ६ वर्षदेखि आईटी विद्यार्थीहरूलाई जागिरका लागि योग्य बनाउँदै आएका कुँवरले  नेपालमा पनि कम्पनी सुरु गर्ने योजना बुनेको सुनाए । 

त्यसैले यही नयाँ वर्षको अवसर पारेर १ वैशाखदेखि काठमाडौँ, सिनामङ्गलस्थित प्रयागमार्गमा एक्स्ट्राटेकले आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ । उनले भने, “आईटीमा चासो राख्ने धेरै जनाले नेपाली विद्यार्थीहरूलाई पनि सस्तो शुल्कमा तालिम दिने गरी काम गर्न सुझाव दिनुभएको थियो । नयाँ वर्षको अवसर पारेर नेपालमा पनि कम्पनी विस्तार गरेका छौँ ।”

नेपालका आईटी कम्पनीमा काम गर्न चाहने र विदेशमा गएर काम गर्न चाहने दुवै किसिमका विद्यार्थीहरूलाई उनीहरूको चाहनाअनुसार पढाउने गरी नेपालमा कम्पनी सञ्चालनमा ल्याइएको उनले बताए । नेपालमा पनि अनलाइन र भौतिक दुवै माध्यमबाट तालिम लिन सकिन्छ। 

उनले भने, “नेपालका आईटी कम्पनीमा काम गर्ने कोर्स २५ हजार रुपैयाँ शुल्कमा पूरा हुन्छ । विदेशमा गएर काम गर्ने कोर्स लिने हो भने चाहिँ अलि महँगो पर्न जान्छ ।” हाल २० जनाभन्दा धेरैलाई एक्स्ट्राटेकले प्रत्यक्ष रोजगारी दिइरहेको छ। 

आईटी क्षेत्रको भविष्य 

नेपालमा बसेर आउटसोर्सिङको काम गर्ने थुप्रै आईटी कम्पनी रहेको कुँवर बताउँछन् । यसरी काम गर्न चाहनेका लागि प्रोग्रामिङ र डिजिटल मार्केटिङ पढ्न उपयुक्त हुने उनी बताउँछन् । तर नेटवर्किङ, साइबर सेक्युरिटी, डेटा एनालिटिक्स क्षेत्रमा भने नेपालमा अझै मेहेनत गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।  

“नेपालमा साइबर सेक्युरिटीमा काम गरिरहेका टप लेभल कम्पनीहरू छन् । थुप्रै ह्याकरहरू पनि छन्, तर तिनीहरू आउटसोर्सिङ अथवा अरू देशको लागि काम गर्छन् । तर नेपालकै लागि भनेर काम गर्ने चाहिँ एकदमै कम छन्,” नेपालका लागि प्रोगामिङका कोर्सहरू र विदेशका लागि नेटवर्किङसँग सम्बन्धित कोर्सहरू उपयोगी हुने उनले सुनाए । 

दुई वर्षमा फर्किएर नेपालको आईटी क्षेत्र सुधार्ने रहर 

अस्ट्रेलियाबाट नेपालमै बस्नेगरी फर्किएर आईटी उत्पादन बढाउने सपना कुँवरले बोकेका छन् । उनी भन्छन्, “एक्स्ट्राटेक एउटा ब्रान्ड भयो । यसको नामबाट नेपालका लागि आवश्यक प्रविधि स्वदेशमै उत्पादन तथा प्रयोग गर्ने वातावरण तयार पार्ने  मन छ । दुई वर्षपछि नेपालमै बस्ने गरी फर्किने योजना बनाएको छु । ”

नेपालमा फर्किएर प्रयोगात्मक ज्ञान-सीपमा आधारित आईटी कलेज खोलेर प्रविधिको विकास गर्ने योजना बनाएको उनले सुनाए । उनी भन्छन्, “ चीन, अमेरिका र जापान जस्ता देशमा किशोरावस्थामै प्रविधिसँग सम्बन्धित धेरै कुरा सिकिसकेका हुन्छन् । १८ वर्षमा त धेरै माथिल्लो तहमा पुगिसकेका हुन्छन् । तर नेपालमा १८ वर्षमा पनि राम्रोसँग कम्प्युटर चलाउन जानेका हुँदैनन् । हामी त्यो ट्रेन्ड बदल्न चाहन्छौँ ।” 

नेपालीहरूलाई आईटीमा थप सक्रिय बनाउने उद्देश्यले नै नेपालमा तालिम दिन सुरु गरेको उनी बताउँछन् । “केही वर्ष लगाएर भए पनि विदेशमा भएको प्रविधिलाई नेपाल भित्र्याउने योजना छ । बाहिरको जति पनि प्रविधि छ, हामी त्यसलाई नेपाल भित्र्याउन चाहन्छौँ,” उनी थप्छन् ।

कुँवरले रूपन्देहीको तिलोत्तमामा आफ्नै लगानीमा एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला पनि निर्माण गरिरहेका छन् । गत वर्षदेखि सुरु भएको रङ्गशाला निर्माणको काम आधा भन्दा धेरै सम्पन्न भइसकेको छ। उक्त रङ्गशालाका कारण पनि एक्स्ट्राटेक धेरै व्यक्तिहरूसम्म चिनिएको र विद्यार्थीहरूको नजरमा परेको छ। 

यस्तै नेपालमा सुविधा सम्पन्न अस्पताल बनाउने लक्ष्य पनि कुँवरले राखेका छन् । उनले भने, “हामीले हस्पिटल र स्टेडियममा नेपालीले नै बनाएको आईटी प्रयोग गर्न चाहन्छौँ,” उनले भने । 

“नेपालीहरू पनि आईटीमा कम छैनन् भनेर संसारलाई देखाउन मन छ । यसका लागि नेपालमा चाहिने प्रविधिको विकासमा ध्यान दिनुपर्ने हुन्छ ।” त्यसैले प्रविधिले भरिपूर्ण अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, अस्पताल हुँदै आईटी क्याम्पस सञ्चालनमा ल्याउन चाहेको उनले बताए । “एउटा ल्यापटपबाट नै लाखौँ कमाउन सकिन्छ भनेर देखाउन चाहन्छु,” उनी अगाडि भन्छन् ।

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ १२:१४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट