काठमाडौँ । करिब एक दशकदेखि सामाजिक सञ्जालमा एक जना जुँगा भएका भारतीय व्यक्तिको तस्बिर प्रयोग गरेर बनाइएका हास्यास्पद मिमहरू निकै भाइरल भइरहेका हुन्छन्, जसलाई ‘जेभियर’ नामले चिनिन्छ । फेसबुक, एक्स (पहिलेको ट्वीटर), रेडिट जस्ता प्लेटफर्महरूमा जेभियरका अनेकौँ मिमहरू निकै देख्न सकिन्छ । तर धेरैको मनमा यो प्रश्न उठिरहेको हुन्छ, आखिर यी जेभियर को हुन् ?

वास्तवमा, यो भाइरल मिम पेज ट्वीटरमा शेयर गरिएका जानकारीहरूको प्यारोडी हो । जेभियरको फेसबुक प्रोफाइलमा प्रयोग गरिएको तस्बिर ‘पकालु पपिटो’ नामक एक व्यक्तिको प्रोफाइल तस्बिर भनिएको छ । ‘नो योर मिम्स‘ वेबसाइटका अनुसार, पकालु पपिटो (@pakalupapito) सन् २०१३ मा सुरु भएको एउटा नयाँ ट्वीटर अकाउन्ट थियो । १३ जुलाई, २०१३ मा त्यसमा पहिलो ट्वीट आयो, जसमा लेखिएको थियो, “Hello Twitter, I’m single (हेलो ट्वीटर, आइ एम सिंगल) ।”
उक्त अकाउन्टलाई एक हास्यास्पद भारतीय स्टोर क्लर्कको रूपमा प्रस्तुत गरिएको थियो, जो ठट्यौली र अप्रासङ्गिक हास्य ट्वीट पोस्ट गर्नका लागि परिचित थिए । पकालु पपिटोले आफ्नो हास्यपूर्ण ठट्टा र कमेडीका कारण सन् २०१५ मा ठुलो लोकप्रियता हासिल गरे ।
दुई वर्षमा उनको पहिलो ट्वीट १७ हजार भन्दा बढी रिट्वीट भइसकेको थियो । उक्त अकाउन्टमा ७ लाख भन्दा बढी फलोअर पुगे । २ सेप्टेम्बर, २०१३ मा पकालु पपिटोको फेसबुक पेज पनि सुरु भयो, जहाँ @pakalupapito ट्वीटर अकाउन्टका पोस्टहरूलाई नै पुन: पोस्ट गरिन्थ्यो । दुई वर्षमै उक्त पेजले ४ लाख ७८ हजार भन्दा बढी लाइक बटुल्यो ।

दुर्भाग्यवश, उनको लोकप्रियता धेरै समय टिकेन । पकालुको ट्वीटर अकाउन्ट सन् २०१८ मा सस्पेन्ड भयो र उनको फेसबुक प्रोफाइल पनि हटाइयो । तर, दुवै सामाजिक सञ्जाल अकाउन्ट किन हटाइए भन्ने कुरा अहिलेसम्म स्पष्ट छैन ।
@pakalupapito को अकाउन्ट बन्द भएपछि, @pakalupapitow नामक एक नक्कली अकाउन्ट अनलाइनमा चर्चित भयो, जसले उही शैलीमा सामग्रीहरू पोस्ट गर्न थाल्यो । यद्यपि, त्यो अकाउन्ट पनि उही व्यक्तिले चलाएको हो कि होइन भन्नेमा स्पष्टता छैन ।
पछिल्लो समय जेभियर नामले चिनिने अकाउन्टले पनि उही तस्बिर र शैली प्रयोग गरिरहेको छ । र, त्यसमा पनि ठुलो सङ्ख्यामा फलोअर जम्मा भएका छन् । जेभियरको फेसबुक पेजमा ५.७ मिलियन (५७ लाख) भन्दा बढी फलोअर छन् । तर, जेभियरको वास्तविक पहिचान भने अज्ञात छ । यद्यपि, जेभियरको परिचय अज्ञात रहेको भएपनि विभिन्न स्रोतहरूले पकालुलाई मिन्नेपोलिस मिन्निसोटका एक व्यक्ति भएको दाबी गर्दै आएका छन् । तर, यो पहिचान अहिलेसम्म आधिकारिक रूपमा पुष्टि भने भएको छैन ।
पकालु पपिटोको प्रोफाइलमा प्रयोग गरिएको तस्बिर भारतको आईआईटी कानपुरमा कार्यरत ओम प्रकाश नामक एक प्राविधिक सुपरिटेन्डेन्टको भएको दाबी समेत गरिएको छ । आईआईटीको वेबसाइटमा उनी शिक्षण सहायक रहेको र नयाँ वेबसाइटमा वरिष्ठ प्राविधिक सुपरिटेन्डेन्टमा बढुवा भएको उल्लेख छ । तर उनको परिचय राखिएको वेब पेज अहिले खुल्दैन । जेभियर नामका अकाउन्टहरू ओम प्रकाशले चलाएका हुन् कि होइनन् भन्ने कुरा पनि स्पष्ट छैन ।
जेभियरका मिमहरूलाई लिएर कतिपयले भने उनको चरित्र पूर्ण रूपमा बनावटी र जातीयवादी समेत भएको दाबी गर्छन् । किनकि पपिटोले टुटफुट अङ्ग्रेजीमा आईटी पेसेभर, ग्यास स्टेसन क्लर्क र ऊँटहरूको मालिक भएको जस्ता कुराहरू गर्थे । जुन केटाकेटीको ‘हास्यास्पद’ मजाक जस्तो सुनिन्छ ।
यद्यपि, धेरै प्रयोगकर्ताहरू जेभियरका हास्यास्पद जवाफ र पोस्टलाई मनोरञ्जनात्मक रूपमा लिइरहेका हुन्छन् । तर, पकालु पपिटोका केही प्रशंसकहरूले जेभियरको कन्टेन्ट अन्य कमेडियनकै नक्कल गरेको र मौलिकताको कमी रहेको भन्दै आलोचना समेत गर्छन् । उनीहरूका अनुसार जेभियरका ठट्टाहरू प्रायः अन्य लोकप्रिय कमेडी सामग्रीहरूको कमेन्ट सेक्सनबाट लिइएको जस्तो देखिन्छ । रेडिटमा /r/fuckxavier नामक कम्युनिटी बन्नुले पनि धेरै मानिसहरूले जेभियरको चरित्रप्रति असन्तुष्ट रहेको देखाउँछ ।
जेभियरले प्रायः व्यङ्ग्यात्मक मजाकहरू शेयर गर्छन् र मानिसहरूलाई हँसाउनु उनको मुख्य उद्देश्य हो । तर कतिपयले उनको हास्यलाई /r/ComedyCemetery सामग्रीको रूपमा लिन्छन् । जेभियरको फेसबुक पेज बाहेक @xavierkomedy नामक इन्स्टाग्राम र “We are Xavier” नामक फेसबुक ग्रुप पनि छ । जसमा उनीसँग सम्बन्धित हास्यास्पद मिम र सामग्रीहरू शेयर गरिन्छ ।
यद्यपि जेभियर एक विवादास्पद र भाइरल मिम बनेका छन्, जसको वास्तविक पहिचान अज्ञात छ । तर उनको हास्य शैलीले धेरैलाई आकर्षित गरेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ २०:९
सामाग्री श्रोत :
टेक पाना