काठमाडौँ । ह्युमनाइड अर्थात् मानवजस्तै देखिने रोबोटले म्याराथनमा मानव धावकसँग प्रतिस्पर्धा गर्न अझै धेरै समय कुर्नुपर्ने देखिएको छ । हालै चीनमा भएको एक म्याराथन प्रतिस्पर्धामा मानव धावकको तुलनामा रोबोटहरूले निकै कमजोर प्रदर्शन गरेका हुन् ।

बेइजिङस्थित ‘ई-टाउन’ टेक हबमा शनिबार हाफ म्याराथन दौड गराइएको थियो । बीबीसी र ब्लुम्बर्गका अनुसार उक्त प्रतियोगितामा २१ ओटा दुई खुट्टे रोबोट सयौं मानव धावकसँगै दौडिएका थिए ।
प्रतियोगितामा ह्युमनाइड रोबोटमध्ये ‘टियानगोङ अल्ट्रा’ नामको रोबोट पहिलो भएको छ । यो रोबोट चिनियाँ सरकारी सहयोगमा स्थापना गरिएको ‘एक्स-ह्युमनाइड’ अनुसन्धान केन्द्रले तयार पारेको हो ।
टियानगोङ अल्ट्राले निर्धारित २१ किलोमिटर करिब २ घण्टा ४० मिनेटमा दौड पूरा गरेको थियो । तर, मानव धावकको तुलनामा यो समय निकै बढी हो । सो म्याराथनमा पुरुषतर्फको विजेता मानव धावकले १ घण्टा २ मिनेटमै दूरी पूरा गरेका थिए ।

दौडन पनि मानिसकै सहयोग चाहियो
प्रतियोगितामा टियानगोङ अल्ट्रा रोबोटले मानिसकै सहयोगमा दौड पूरा गरेको थियो । एक जना मानव धावकले आफ्नो पछाडि सिग्नल दिने उपकरण बोकेर दौडेपछि रोबोटले त्यसलाई पछ्याउँदै दौडिएको थियो । अरू अधिकांश रोबोटचाहिँ रिमोट कन्ट्रोलमार्फत सञ्चालन गरिएको थियो । जसका लागि अपरेटर मानवहरु रोबोटसँगै दौडिरहेका थिए ।
केही रोबोट चाहिँ दौड सुरु गर्ने बित्तिकै लडेका थिए । दौड सुरु भएको १०० मिटरमै महिलाको मास्क लगाएको एउटा रोबोट घुँडा टेकेर लड्यो । पछि दौडिएको चम्किलो चाँदी रङको ७५ सेन्टिमिटर अग्लो रोबोटले उसलाई तुरुन्तै उछिन्यो । ‘जुआनयुआन’ नामको डायग्नोस्टिक र भावनात्मक पहिचान गर्ने एआई क्षमताका लागि चर्चित रोबोट पनि दौड सुरु भएलगत्तै लड्यो । तर भाग्यवश उसले तुरुन्तै आफूलाई सम्हाली विस्तारै भएपनि दौडलाई निरन्तरता दियो ।
‘शेन्नोङ’ नामको रोबोटले एक मानव धावकलाई ठक्कर दिँदै बारसम्म ठोक्किएर फुटेको थियो । सानो आकारको ‘लिटिल जाइन्ट’ भने दौडको बिचमै रोकिएर त्यसको टाउकाबाट धुवा निस्किएको दृश्य पनि देखिएको थियो ।
चार ओटा रोबोटले मात्र दूरी पूरा गरे
प्रतियोगितामा सहभागी २१ मध्ये चार ओटा रोबोटले मात्रै ४ घण्टा भित्र दूरी पूरा गर्न सकेका थिए । कतिपय रोबोट त सुरुबिन्दु पार गर्नसमेत नसकी रोकिएका थिए ।
दौडमा सहभागी रोबोट चिनियाँ कम्पनी तथा विद्यार्थी समूहले बनाएका थिए । दौडमा सहभागी हुन रोबोटले मानवजस्तै देखिनुपर्ने र दुई खुट्टामा दौडन सक्नुपर्ने शर्त थियो । मानवबाट जोगाउन रोबोटका लागि छुट्टै लेन बनाइएको थियो भने स्टार्टिङ टाइम पनि फरक राखिएको थियो ।
ब्याट्री परिवर्तन गर्ने अनुमति दिइएको थियो भने आवश्यक परेमा टाइम पेनाल्टीसहित सब्स्टिच्युट रोबोट पनि दौडाउन पाइने व्यवस्था गरिएको थियो । रोबोटहरूले चिल्लो कालोपत्रे, खाल्डाखुल्डी परेका सडक, पानीका ताल र विभिन्न उकाली ओराली पार गरेका थिए ।
प्रतियोगिता सुरु हुनुअघि प्रत्येक रोबोट धावकलाई तीनदेखि चार जना मेकानिकल र सफ्टवेयर इन्जिनियरहरूले घेरेका थिए । अन्तिम समयसम्म मसिनहरूको विभिन्न भागमा सूक्ष्म समायोजन र डिबगिङको काम चलिरहेको थियो ।
यता मानव धावकहरूमा भने केही अन्योलता थियो । उनीहरूलाई रोबोटहरूले २१ किलोमिटरको दौड पूरा गर्न सक्लान् कि नसक्लान् भन्नेमा शंका थियो र यदि गरे पनि उनीहरूले जित्ने पो हुन् कि भन्ने डर थियो । अधिकांश रोबोटलाई सिधै विकास प्रयोगशालाबाट म्याराथन परिसरमा ल्याइएको थियो । रोबोट विकासकर्ताका अनुसार यसअघि उनीहरूले कहिल्यै पूर्ण परीक्षण दौड गरेका थिएनन् ।
यसैबिच एक्स-ह्युमनाइडका प्रमुख प्रविधि अधिकृत ताङ जियाङले पश्चिमेली देशका कुनै पनि रोबोट कम्पनीले खेलकुदमा टियानगोङले गरेको उपलब्धि पुर्याउन नसकेको दाबी गरेका छन् ।
चीनमा सम्पन्न भएको हाल्फ म्याराथनले एथलेटिक्स र आविष्कारको सीमालाई नयाँ चिरामा बहस गराइदिएको छ । कतिपयले रोबोटिक इन्टेलिजेन्सको नयाँ युगको सुरुवात भएको विश्लेषण गरेका छन् ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ १३:०
सामाग्री श्रोत :
टेक पाना