२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

एकाधिकार मुद्दाले अमेरिकी अदालतमा प्रविधि कम्पनीको हल्लीखल्ली: गुगल हार्‍यो, मेटामाथि सुनुवाइ

काठमाडौँ । अमेरिकाभित्र ठुला प्रविधि कम्पनीहरू गुगल, मेटा, एप्पल र अमेजनविरुद्ध प्रतिस्पर्धा विरोधी क्रियाकलाप (एन्टी ट्रस्ट) सम्बन्धी कानुनी कारवाही तीव्र बनेको छ । पछिल्लो पटक गुगलले एक ऐतिहासिक मुद्दा हारेको छ भने मेटाको मुद्दा समेत वासिङ्टन डिसीस्थित अदालतमा सुनुवाइ भइरहेको छ ।

अमेरिकी न्याय विभागले गुगलले अनलाइन विज्ञापन बजारमा एकाधिकार कायम गर्न प्रतिस्पर्धा विरोधी गतिविधि गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो । अदालतले गुगलले सर्भर विज्ञापन सेवा बजारमा अवैध रूपमा बजार नियन्त्रण गरेको ठहर गर्दै दोषी ठहर गरेको छ ।

गुगलले उक्त फैसला विरुद्ध पुनरावेदन गर्ने जनाएको छ । अब न्याय विभागले गुगलको विज्ञापन प्रविधि कारोबारको केही भाग विभाजन गर्न अदालतमा माग गर्ने तयारी गरेको छ ।

यस्तै, गुगलले इन्टरनेट सर्च बजारमा समेत प्रतिस्पर्धीलाई निष्काशित गर्न एप्पललाई वार्षिक अर्बौं डलर तिरेर आफ्नो सर्च इन्जिन डिफल्ट बनाएको आरोपमा अर्को मुद्दा पनि भोगिरहेको छ । उक्त मुद्दामा सन् २०२४ अगस्टमा गुगल दोषी ठहर भइसकेको छ भने यसमा के सजाय हुने भन्ने टुंगो लगाउने चरण आगामी साताबाट सुरु हुँदैछ ।

त्यसैगरी, मेटामाथि अमेरिकी फेडरल ट्रेड कमिसन (एफटीसी) ले पनि प्रतिस्पर्धा विरोधी गतिविधिको मुद्दा चलाएको छ । मेटाले फेसबुकमार्फत सामाजिक सञ्जालको बजारमा अवैध रूपमा एकाधिकार कायम गर्दै प्रतियोगी कम्पनीहरूलाई किनेर वा दबाबमा राखेर निष्क्रिय बनाउने प्रयास गरेको आरोप छ । विशेषगरी इन्स्टाग्राम र ह्वाट्सएप किनेर बजार नियन्त्रण गरेको प्रमाण फेला परेको बताइएको छ । अदालतमा अहिले आठ साता लामो सुनुवाइ चलिरहेको छ ।

एप्पल र अमेजन समेत अहिले प्रतिस्पर्धा विरोधी मुद्दामा तानिएका छन् । न्याय विभाग र केही राज्यले एप्पलमाथि स्मार्टफोन बजारमा एकाधिकार कायम गरेको आरोपमा सन् २०२४ मार्चमा मुद्दा हालेका थिए । अमेजनमाथि अनलाइन बजार र तेस्रो पक्षीय विक्रेताहरूमाथि आफ्नो सर्त थोपरेर एकाधिकार गरेको आरोपमा सन् २०२३ सेप्टेम्बरमा मुद्दा परेको थियो ।

यी सबै कानुनी कारवाहीलाई अमेरिकामा पछिल्लो तीन दशकयताको सबैभन्दा ठुलो प्रविधि नियमनको प्रयासका रूपमा हेरिएको छ । यदि यी मुद्दामा दोष पुष्टि भएमा प्रविधि कम्पनीहरूको संरचना भंग गर्ने वा व्यावसायिक गतिविधिमा कडाइ गर्ने निर्णय समेत हुन सक्ने अनुमान गरिएको छ । यसले प्रविधि क्षेत्रको भविष्य र नवप्रवर्तनमा विश्वव्यापी प्रभाव पार्ने प्रक्षेपण गरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८२ २१:३७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट