काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले निषेधित क्षेत्र तोड्ने बताएपछि गृह मन्त्रालयले त्यस्तो गरे कारबाही गर्ने चेतावनी दिएको छ।

आज एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले निषेधित क्षेत्र तोडे कानुन बमोजिम कारबाही गर्ने जनाएको हो।
‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२/०१/०७ गतेका दिन प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरु प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ गृह मन्त्रालयले भनेको छ।
संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने गृह मन्त्रालयले भनेको छ।

‘संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ,’ गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
साथै, समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालयले अनुरोध गरेको छ।
लोकतान्त्रिक व्यवस्था नै फालेर राजसंस्था र हिन्दु राष्ट्र पुनः स्थापना गर्न आन्दोलन गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले सरकारलाई निषेधित क्षेत्र तोड्ने ठाडो चुनौती दिएको छ। बिहीबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट निर्णय नै गरेर राप्रपाले वैशाख ७ गते निषेधित क्षेत्र तोड्ने भनेको छ।
राप्रपाको उक्त चुनौतीपछि गृह मन्त्रालयले कारबाही गर्ने चेतावनीसहितको विज्ञप्ति जारी गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ