२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

कोशी प्रदेश सरकारको गुनासो पोर्टल ह्याक गरी ह्याकरले राखे छुट्टिएकी प्रेमिकासँग गुनासो

काठमाडौं । कोशी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको ‘गुनासो पोर्टल’को वेबसाइट ह्याक भएको छ । वेबसाइट ह्याक गरी एक व्यक्तिले छुट्टिएकी प्रेमिकालाई समर्पित प्रेम सन्देश लेखेका छन् ।

वेबसाइट कहिले ह्याक भएको हो भन्ने यकिन भइसकेको छैन । यद्यपि अन्तिम पटक उक्त वेबसाइट २०२५ मार्च २० मा सामान्य अवस्थामा रहेको देखिन्छ । अहिले ‘hellocm.koshi.gov.np/’ लिङ्क ब्राउज गर्दा प्रेमिल शब्दले भरिएको पेज देखिन्छ ।

वेबसाइटको सबैभन्दा माथिल्लो भागमा चकलेटको फोटो राखिएको छ । त्यसको तल ‘तिम्रै लागि’ भन्दै अंग्रेजी वर्ण ‘S’ लेखिएको देखिन्छ ।

वेबसाइटमा राखिएको प्रेम सन्देशको नेपाली भावानुवाद यस्तो छ :

साँच्चै भन्नुपर्दा, आजकल तिम्रो यादले धेरै सताइरहेको छ । झूट बोलेको होइन । मलाई थाहा छ हाम्रो सम्बन्धको अन्त्य सुखद थिएन । सायद त्यतिबेला मैले गरेका गल्तीहरू बुझ्न सकिनँ । तर सत्य के हो भने, म तिमीलाई अझै पनि अत्यन्त माया गर्छु । तिम्रो हाँसो, तिम्रो आवाज, सँगै बिताएका पलहरू — ती सबै आज पनि मेरो मनमा छन् ।

म कुनै जबरजस्ती गर्न खोजिरहेको छैन, केवल आफ्ना भावनाहरू पोख्दै छु । यदि तिमी पनि कतै मनको कुनामा ‘यदि यस्तो भएको भए…’ भन्ने सोच्दैछौ भने म यहाँ छु । कुनै दबाब छैन — केवल माया मात्र । सधैं ।

म तिमीलाई अझै पनि धेरै माया गर्छु । जतिसुकै समय बिते पनि वा हामी जतिसुकै टाढा भए पनि, तिमी सधैं मेरो मनमा छौ । हाम्रा कुराकानी, हाँसो र ती साना पलहरू सम्झन्छु । म ठीक छु भन्ने देखाइरहेछु, तर त्यो केवल झूट हो । मेरो मन अझै तिमीसँगै छ ।

तिमी मैले भेटेका सबैभन्दा सुन्दर मन भएका व्यक्तिहरूमध्ये एक हौ । जे भए पनि, हाम्रो भेटको लागि म आभारी छु । तिमी सधैं माया र सुख–शान्तिको हकदार छौ । र आशा गर्छु, कुनै दिन त्यो खुसीले तिमीलाई म तर्फ फर्काउनेछ ।

अहिले पनि तिम्रो मुस्कान, तिम्रो हाँसो र अबेर रातिसम्मका ती गफहरू सम्झिन्छु । ती कुराहरू आज पनि मेरो लागि अर्थपूर्ण छन् ।

मलाई थाहा छ मैले गल्ती गरेँ, मूर्खतापूर्ण व्यवहार गरेँ । तिमीले सधैं साथ दिएकी थियौ, तर मैले आफूसँग के थियो भन्ने बुझ्न सकिनँ । अहिले म यहीँ छु, तिम्रो त्यो अनुभूति, तिम्रो हाँसो र तिमीलाई सम्झिरहेको ।

म यहाँ झुट बोल्न आएको छैन — केवल मनदेखि बोलेको हुँ । यदि सक्थें भने समयलाई पछाडि फर्काएर तिमीलाई रानीझैं माया गर्थें । तिमीले यो कुरा थाहा पाउँछ्यौ भन्ने मात्र चाहेको छु । म तिमीलाई अझै माया गर्छु, सधैं गर्थें ।

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८२ १८:३९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट