काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा देखिएको प्रतिगामी षड्यन्त्र सफल हुन नदिने बताएका छन् ।

शनिबार काठमाडौंमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रचण्डले सरकारका गलत काम, क्रियाकलापको कारण प्रतिगामी तत्वले धमिलो पानीमा माछा मार्ने दुष्साहसजस्तो गरेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका हुन् ।
तत्कालीन समयमा संविधान नबन्ने देखिएपछि केही विषयमा सम्झौता गरिएको भन्दै उनले अब यथास्थीतिवाद र प्रतिगामी षडयन्त्रविरुद्ध सबै उत्पीडित वर्ग र जाति समूदाय अगाडी बढ्नुपर्ने बेला आएको धारणा राखे ।
प्रचण्डले अन्य दलसँग तालमेल गरेर अघि बढ्दा त्यसको परिणाम जनतामा राम्रो नभएकाले आफ्नै बलमा निर्वाचन लड्नका लागि पार्टीलाई बलियो बनाउने अभियानमा आफू रहेको बताए ।

उनले राष्ट्रिय विभूति शंखधर साख्वाको सम्मान र आदर्शलाई पछ्याउँदै गरिब किसानहरुको ३० हजारसम्मको ऋण मिनाह गर्ने निर्णय आफू प्रधानमन्त्री हुँदा गरेको स्मरण गरे ।
उनले नेवार समूदायको समूदाय, भाषा, पहिचान स्थापीत नभएसम्म माओवादीले साथ नछाड्ने प्रतिबद्धता जनाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ