काठमाडौँ । माइक्रोसफ्टले जेमिनाई लाइभजस्तै सुविधा भएको एआई फिचर ‘कोपाइलट भिजन’ सार्वजनिक गरेको छ । माइक्रोसफ्ट एआईका सीईओ मुस्तफा सुलेमानले हालै ब्लुस्काईमार्फत जानकारी दिँदै ‘कोपाइलट भिजन’ अब सबै माइक्रोसफ्ट एज प्रयोगकर्ताका लागि निःशुल्क भएको घोषणा गरेका हुन् ।

यो सुविधा पहिलोपटक गत अक्टोबरमा बेटा भर्सनमा सार्वजनिक गरिएको थियो । त्यसपछि डिसेम्बरदेखि मात्र कोपाइलट प्रो ग्राहकका लागि सशुल्क उपलब्ध गराइएको यो सेवा अब माइक्रोसफ्ट अकाउन्ट भएका कुनै पनि एज प्रयोगकर्ताले निःशुल्क उपयोग गर्नसक्ने छन् ।
‘कोपाइलट भिजन’ यस्तो एआई टुल हो, जसले वेबपेजको स्क्रिन स्क्यान गरी त्यसको विश्लेषण, सारांश र प्रयोगकर्ताको जिज्ञासाको जवाफ दिन सक्छ ।
अमेजनमा विभिन्न सामग्री भएको पेज खोल्दा आवश्यकताअनुसार उपयुक्त उत्पादन सिफारिस गर्ने, कुकिङ वेबसाइटमा रेसिपीका स्टेपहरू व्याख्या गर्ने र रोजगारीसम्बन्धी पेजमा कभर लेटर लेख्न सल्लाह दिने जस्ता काम गर्न सकिने कम्पनीले जनाएको छ ।

यो सुविधा प्रयोग गर्न माइक्रोसफ्ट एजमा साइन इन गरी कोपाइलट साइडबारमा रहेको माइक्रोफोन आइकन थिच्नुपर्छ । त्यसपछि ‘ब्राउज विथ कोपाइलट भिजन’ अप्सन चयन गरेर चश्मा आइकन थिचेपछि वेबपेजको विश्लेषण वा सारांश जानकारी लिन सकिन्छ ।
पछिल्लो अध्यावधिक: बैशाख ६, २०८२ ९:४३
सामाग्री श्रोत :
टेक पाना