काठमाडौँ–तीनकुने घटनामा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने तयारी भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौँले उनलाई उपचारका लागि छाड्ने तयारी भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।
क्यान्सरका बिरामी राणाको नियमित फलोअप गर्नका लागि भारत जानुपर्ने भएकाले उनलाई हाजिर जमानीमा छाड्ने तयारी भएको स्रोतको भनाइ छ। स्रोतका उनको बयान पूरा भइसकेको छ भने अब मुद्दा लैजाँदा लैजाने गरी अहिलेलाई हाजिर जमानीमा छाड्ने तयारी भएको हो।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत उनलाई प्रहरीले पक्राउ गरेको थियो। उनीसहित वरिष्ठ नेता रवीन्द्र मिश्रलाई पनि प्रहरीले पक्राउ गरेको थियो।

राप्रपाका महामन्त्रीसमेत रहेका राणा क्यान्सर सर्भाइभर हुन्। उनले करिब तीन महिनासम्म भारतको टाटा क्यान्सर अस्पतालमा उपचार गराएका थिए। उपचार गराएर गत पुसको दोस्रो साता मात्रै उनी काठमाडौं फर्केका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ