काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्राचीन सम्पदा तथा पुरातात्विक महत्वका वस्तुले देशको ऐतिहासिकता, सभ्यताको अवस्थालाई अध्ययन तथा अनुसन्धानमा सहयोग पुग्ने बताएका छन्। उनले तिनको संरक्षण तथा सम्बद्र्धन गर्नुपर्नेमा जोड दिएका छन्।

विश्व सम्पदा दिवसका अवसरमा स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्वयम्भूनाथ चैत्य तथा त्यस आसपासका क्षेत्रमा आयोजना गरिएको सरसफाइ कार्यक्रममा मन्त्री पाण्डेले सो कुरा बताएका हुन्।
सो अवसरमा महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले स्वयम्भूको संरक्षण तथा स्थानीय जात्रा पर्व, संस्कृतिको जगेर्नामा महासमितिले विभिन्न धार्मिक तथा सामाजिक कार्यमा सहयोग गर्दै आएको मन्त्री पाण्डेलाई जानकारी दिए। सोही उपलक्ष्यमा स्वयम्भूबाट वसन्तपुरसम्म पदयात्रा गरिएको थियो।
पुरातत्व विभाग, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति, विभिन्न सांस्कृतिक संघसंस्थालगायतको सहभागितामा भुइँखेलबाट सुरु भएको उक्त पदयात्रा विभिन्न सम्पदा मार्ग हुँदै वसन्तपुर पुगेको थियो।

सामाग्री श्रोत :
प्राचीन सम्पदाले मुलुकको सभ्यता अध्ययनमा सहयोग पुग्छ: मन्त्री पाण्डे