काठमाडौं । नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर निलम ढुंगानाले आफू गभर्नर बन्न नपाउने निश्चित भइसकेको अवस्थामा गभर्नर बनाइन लागेका गुणाकर भट्टलाई पनि गभर्नर बन्ने बाटो छेकिदिएकी छिन् । उनले भट्टले आफ्नो पदबाट दिएको राजीनामा स्वीकार गर्न अस्वीकार गरेकी हुन् ।

नेपाल राष्ट्र बैंक ऐनअनुसार राष्ट्र बैंकका बहालवाला कर्मचारीहरुमध्ये डेपुटी गभर्नरलाई मात्रै गभर्नर बनाउन मिल्छ । अन्य पदमा भएकाहरुलाई योग्यता पुगेको भए पनि पदमा रहेकै अवस्थामा गभर्नर नियुक्त गर्न मिल्दैन । अन्य पदमा रहेकाहरु गभर्नर बन्ने भए पहिले आफू कार्यरत रहेको पदबाट राजीनामा दिएर राष्ट्र बैंकको कुनै पनि जिम्मेवारीबाट बाहिरिइसकेको हुनुपर्छ ।
यही कानुनी व्यवस्थाका कारण आफू गभर्नर बन्ने पक्का भएपछि भट्टले आफ्नो पदबाट राजीनामा दिएका थिए । भट्ट अहिले राष्ट्र बैंकको कार्यकारी निर्देशक छन् । उनले यो पदबाट राजीनामा दिएर जिम्मेवारीबाट बाहिरिएपछि मात्रै उनी गभर्नर हुने बाटो खुल्ने भएकोले उनले आज बिहान कामु गभर्नरलाई राजीनामा बुझाएका थिए । कामु गभर्नरले राजीनामा स्वीकृत गर्न अस्वीकार गरेपछि भने उनको गभर्नर बन्ने बाटो छेकिएको छ ।
प्रचलित कानुनअनुसार सामान्यतया कसैले पदबाट दिएको राजीनामा अस्वीकृत गर्न भने पाइँदैन । कसैले आफ्नो पदबाट राजीनामा दिइसकेपछि त्यो राजीनामा स्वतः स्वीकृत भएको मानिन्छ । तर, जिम्मेवारीमा रहेको व्यक्तिले जिम्मेवारी हस्तान्तरण गर्ने प्रक्रियागत काममा भने केही समय लाग्न सक्छ । राजीनामा दिएपछि व्यवहारिक रुपमा पदमुक्त भएको मानिने भए पनि राजीनामा औपचारिक रुपमा स्वीकृत नहुँदासम्म भने प्रक्रियामै रहेको मानिन्छ ।

कामु गभर्नर ढुंगानाले भट्टको राजीनामा अस्वीकृत पनि गरेकी छैनन् । उनले राजीनामा अस्वीकृत गरेको भए यसलाई कानुनको उल्लंघन मान्न सकिन्थ्यो तर उनले अस्वीकृत समेत नगरेको हुनाले भट्टले दिएको राजीनामा प्रक्रियामै रहेको अवस्थामा छ । राजीनामा प्रक्रियामै रहेकोले उनी औपचारिक रुपमा पदमुक्त भएको मान्न मिल्दैन । र, पदमुक्त नभएकोले उनी गभर्नर बन्न मिल्दैन । कामु गभर्नर ढुंगानाले राजीनामा स्वीकृत गर्न जति समय लगाउँछिन् भट्टको नियुक्ति त्यति नै पर धकेलिनेछ । राजीनामा स्वीकृत गर्ने समय सीमाबारे कुनै स्पष्ट कानुनी व्यवस्था छैन ।
सामाग्री श्रोत :
आफू गभर्नर बन्न नपाएकी ढुंगानाले भट्टलाई गभर्नर बन्ने बाटो छेकिन्, राजीनामा स्वीकृत गर्न अस्वीकार