काठमाडौँ । तपाईँ आफ्नो मोबाइल फोन कति वर्षसम्म प्रयोग गर्नु हुन्छ ? दुई वर्ष, अढाई वर्ष वा पाँच वर्षभन्दा बढी ?

अब, आईफिक्सिट र ब्ल्याक मार्केट जस्ता कम्पनीहरू छोटो समयमा नयाँ फोन लिने प्रयोगकर्ताको बानी परिवर्तन गर्न चाहन्छन् । यी दुई कम्पनीले मिलेर एउटा अभियान सुरु गरेका छन्, जसले मानिसहरूलाई औसत दुईदेखि तीन वर्षमा नयाँ फोन किन्नुको साटो पाँच वर्ष वा त्योभन्दा बढी समयसम्म चलाउन प्रोत्साहन गर्दछ ।
पृथ्वी दिवस (अप्रिल २२) को अवसरमा सुरु भएको यो अभियानको मुख्य उद्देश्य मोबाइल फोनको आयु बढाउनु हो । कम्पनीहरूले नीति निर्माता र मोबाइल फोन निर्माताहरूलाई स्मार्टफोनका पार्ट्स र सफ्टवेयरको सपोर्टलाई १० वर्षसम्म पुर्याउन आग्रह गरेका छन् ।
अहिले एप्पल, गुगल र सामसङ जस्ता ठुला कम्पनीले लगभग सात वर्षसम्म सपोर्ट दिने गरेका छन् । तर अन्य धेरै कम्पनीहरूको फोनमा त्यो भन्दा कम समयको लागि मात्र सपोर्ट उपलब्ध हुने गरेको छ ।

आईफिक्सिटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) काइल विएन्स र ब्ल्याक मार्केटका सीईओ थिबाउड हग डे लारौजले पुरानो डिभाइसलाई लामो समयसम्म टिकाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् । उदाहरणका लागि, यदि कसैले आईफोन १३ को ब्याट्री बदलेर साढे दुई वर्षमा नयाँ फोन किन्ने बानीलाई पाँच वर्षसम्म लम्ब्याउँछ भने त्यसबाट हुने कार्बन उत्सर्जन ४९ प्रतिशतले कम हुन्छ ।
यदि फोनलाई मर्मत र रिफर्बिस गरेर १० वर्षसम्म चलाउन सकियो भने कार्बन उत्सर्जन ६८ प्रतिशतले घट्न सक्छ । ब्ल्याक मार्केटका अनुसार यी तथ्याङ्कहरू एप्पलको प्रोडक्ट इन्भाइरोमेन्ट रिपोर्ट र अन्य विभिन्न अध्ययनमा आधारित छन् ।
यो साझेदारी अझ अगाडि बढेको छ । रिफर्बिस्ड फोन, ल्यापटप र गेम कन्सोल जस्ता सामानहरू बेच्ने ब्ल्याक मार्केटले अब आफ्नो एप र वेबसाइटमा आईफिक्सिटका हाउ-टु-रिपेयर (कसरी मर्मत गर्ने) गाइडहरू पनि राख्नेछ, जुन सुरुमा आईफोनका लागि हुनेछन् ।
यसले गर्दा अब प्रयोगकर्ताहरूले तुरुन्तै आफ्नो पुरानो फोन बेचेर नयाँ फोन किन्नुको साटो आफैँ मर्मत गर्ने प्रयास गर्न सक्नेछन् । धेरैजसो मर्मतहरू सामान्य र सजिलो हुन्छन्, जस्तै स्क्रिन वा ब्याट्री बदल्ने ।
प्रयोगकर्ताले आईफिक्सिटको रिपेयर टुलकिट सिधै ब्ल्याक मार्केटबाट पनि किन्न सक्नेछन् । र यदि कसैले आईफिक्सिटको वेबसाइटमा गएर मर्मत गर्ने सोच बनाए पनि समय वा जाँगर नभएमा, त्यहाँ ब्ल्याक मार्केटमा आफ्नो पुरानो डिभाइस बेचेर रिफर्बिस्ड मोडेल लिने विकल्प पनि देखाइनेछ ।
ब्ल्याक मार्केटका सीईओ थिबाउड हग डे लारौज भन्छन्, “हाम्रो लक्ष्य एउटै हो । हामी प्राविधिक उत्पादनहरूको आयु लम्ब्याउन चाहन्छौँँ, ताकि मानिसहरूलाई ब्याट्री सकिएको वा स्क्रिन फुटेको स्मार्टफोन हुँदा पनि नयाँ किन्नुभन्दा मर्मत गर्ने सजिलो विकल्प मिलोस् ।”
–वायर्डबाट
पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ १४:२१
सामाग्री श्रोत :
टेक पाना