काठमाडौँ । पछिल्लो समय अनलाइन ठगी अत्यन्त सामान्य बन्न थालेको छ । कहिले प्रयोगकर्ता सचेत नहुँदा त कहिले सेवाप्रदायकको प्रणालीमा कमजोरी आउँदा विभिन्न किसिमका अनलाइन ठगीका घटना हुने गरेका छन् । कतिपय अवस्थामा भने सुरक्षाका उपाय अपनाउँदा पनि अनलाइन ठगीको सिकार भइनसक्छ ।

‘बैंकको प्रतिनिधि’ भन्दै फोन गरेर व्यक्तिगत विवरण माग्ने, मेसेज वा डिजिटल वालेटको ओटीपी माग्ने जस्ता उपायमार्फत साइबर अपराधीहरूले बैंक तथा डिजिटल वालेटमा भएको रकम चोरी गर्ने गरेका छन् । यदि तपाईं पनि यस्तै समस्यामा पर्नुभएको छ भने तत्काल यी काम गर्नुहोस् :
बैंकलाई तुरुन्त जानकारी दिनुहोस्
सबैभन्दा पहिले आफूले प्रयोग गरिरहेको बैंकलाई खबर गरी आफ्नो बैंक खाता रोक्का गराउनुस् । बैंकहरूले यस्ता आकस्मिक घटनाका लागि टोल-फ्री नम्बर उपलब्ध गराएका हुन्छन् । ठगी भएको थाहा पाउने बित्तिकै बैंकमा सम्पर्क गर्न जरुरी छ ।

डिभाइस अफलाइनमा राख्नुहोस्
आफूले प्रयोग गरिरहेको मोबाइल, कम्प्युटर, ल्यापटप वा ट्याबलाई तुरुन्त इन्टरनेटबाट डिस्कनेक्ट गर्नुहोस् । यसले थप जोखिम रोक्न मद्दत गर्छ ।
ईमेल पासवर्ड परिवर्तन गर्नुहोस्
यदि तपाईंको ईमेल आईडी बैंक खाता वा डिजिटल वालेटसँग लिङ्क गरिएको छ भने तुरुन्त पासवर्ड परिवर्तन गर्नुहोस् ।
प्रहरीमा जानकारी दिनुहोस्
आफू नजिकैको प्रहरी कार्यालयमा जानकारी दिनुहोस् । चाहनुहुन्छ भने १०० मा फोन गरेर पनि गुनासो टिपाउन सकिन्छ । साथै, साइबर ब्युरोको नम्बर ९८५१२८६७७० मा सम्पर्क गर्न सक्नुहुन्छ । पछि साइबर ब्युरो कार्यालयमा उपस्थित भई औपचारिक उजुरी दिन सकिन्छ ।
प्रमाण सुरक्षित राख्नुहोस्
प्रहरीमा उजुरी गर्न जाँदा आफ्नो सक्कल परिचयपत्र र ठगी सम्बन्धी प्रमाणहरू (मोबाइलमा आएका मेसेज, इमेल, फोन कल, कुराकानीका स्क्रिनशट, रेकर्डिङ आदि) सँगै लैजानुहोस् ।
यी सबै प्रक्रिया पूरा गरेपछि प्रहरीले आफ्नो अनुसन्धान प्रक्रिया सुरु गर्छ । समयमै सावधानी अपनाउन सकेमा ठगीबाट जोगिन सकिन्छ र समस्या परेमा पनि छिटो समाधान निकाल्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ २२:४४
सामाग्री श्रोत :
टेक पाना