काठमाडौँ । भारत सरकारले नागरिकको पहिचान व्यवस्थापन गर्न सघाउने नयाँ ‘आधार’ एप सार्वजनिक गरेको छ । मङ्गलबार भारतका केन्द्रीय मन्त्री अश्विनी वैष्णवले सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै आधार एप सार्वजनिक भएको जानकारी दिएका हुन् ।

मन्त्री वैष्णवका अनुसार अहिले यो एप बेटा भर्सनमा सार्वजनिक भएको छ । र, अहिले एपको परीक्षण गर्ने काम भइरहेको छ । ‘आधार सेवा’सँग सम्बन्धित विभिन्न सेवालाई कडा गोपनीयताका साथ सहजै उपलब्ध गराउने उद्देश्यले एप ल्याइएको मन्त्री वैष्णवले जनाएका छन् ।
उनका अनुसार आधारकार्डधारी भारतीय प्रयोगकर्ताले अब क्यूआर कोड स्क्यान गरेको भरमा कुन–कुन डेटामा पहुँच दिने भन्ने निर्धारण गर्न सक्नेछन् । अर्थात् व्यक्तिगत जानकारीको पूर्ण नियन्त्रण अब प्रयोगकर्तासँग हुनेछ ।
त्यस्तै यूपीआईमा भुक्तानी गरेजस्तै एपलाई सहजै आधार भेरिफिकेसन गर्न सकिन्छ । प्रयोगकर्ताले डिजिटल माध्यमबाट आधार एपमा भेरिफाई गरी आधारकार्ड विवरण शेयर गर्न सक्नेछन् । कसैले फोन भेटाएमा पनि क्यूआर स्क्यान गरी आधारकार्डको विवरण लिन सक्नेछैन । किनभने आधारकार्डको विवरण साझा गर्नका लागि फेस आईडी भेरिफाइ गर्नुपर्ने हुन्छ । फेस आईडी भेरिफाई गरेको खण्डमा मात्र डेटा शेयरिङको प्रक्रिया अगाडि बढ्छ ।

New Aadhaar App
Face ID authentication via mobile app❌ No physical card
❌ No photocopies🧵Features👇 pic.twitter.com/xc6cr6grL0
— Ashwini Vaishnaw (@AshwiniVaishnaw) April 8, 2025
आधार एप बोकेपछि अब भौतिक रूपमा आधारकार्ड बोकिरहनु पर्ने छैन भने आधारकार्डको फोटोकपी गर्नुपर्ने बाध्यता हुनेछैन । त्यसैगरी यात्राका क्रममा होटेलको रिसेप्सन, पसल वा अरू कसैलाई आधारकार्ड बुझाइरहनु पर्दैन । उनीहरूलाई आवश्यक पर्ने विवरण (पहिचान प्रमाणित गर्ने विवरण) प्रयोगकर्ताले आफैले आधारकार्ड नदिई एपबाटै उपलब्ध गराउन सक्छन् । यो शतप्रतिशत डिजिटल र सुरक्षित हुने दाबी गरिएको छ ।
आधारकार्डको डेटा दुरुपयोग वा लिक हुने कुनै जोखिम नभएको भन्दै मन्त्री वैष्णवले आपराधिक मनस्थितिका व्यक्तिले एडिट गरेर ठगी वा दुरुपयोग गर्ने सम्भावना नरहेको स्पष्ट पारे ।
यो एपका केही फिचर नेपालको नागरिक एपसँग मिल्दो छन् । आधार एप आधारकार्डसँग मात्र सम्बन्धित छ भने नागरिक एप सम्पूर्ण सरकारी सेवासँग सम्बन्धित छ ।
नागरिक एपबाट पनि प्रयोगकर्ताले बैंकमा खाता खोल्दा क्यूआर कोड स्क्यान गरेर आफ्नो कुन–कुन डेटाको पहुँच दिने भन्ने निर्धारण गर्न सक्छन् । आधार एपसँग नागरिक एपको राष्ट्रिय परिचयपत्रको डेटा शेयरिङ फिचर समान भएको देखिन्छ ।
पछिल्लो अध्यावधिक: चैत ३०, २०८१ १८:१६
सामाग्री श्रोत :
टेक पाना