काठमाडौँ । एआई चिप निर्माता एनभिडिया विश्वको इतिहासकै सबैभन्दा मूल्यवान् कम्पनी बन्न सफल भएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रतिको बढ्दो आकर्षण र आशाका कारण कम्पनीको बजार पुँजीकरण ३९.२ खर्ब अमेरिकी डलरको ऐतिहासिक उचाइमा पुगेको हो ।

यससँगै एनभिडियाले एप्पलले कायम गरेको ३९.१५ खर्ब डलरको कीर्तिमानी बजार मूल्यलाई पनि उछिनेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार बिहीबारको कारोबारमा कम्पनीको शेयर मूल्य २.४ प्रतिशतले बढेर प्रतिशेयर १६०.९८ डलर पुगेको थियो । यद्यपि, कारोबारको अन्त्यतिर शेयर मूल्य केही घटेर १५९.६० डलरमा सीमित हुँदा यसको कुल बजार मूल्य ३८.९ खर्ब डलर कायम भयो ।
माइक्रोसफ्ट, अमेजन, मेटा (फेसबुक), अल्फाबेट (गुगल) र टेस्लाजस्ता प्रविधिका दिग्गज कम्पनीहरूले एआई डेटा सेन्टर निर्माण र यस क्षेत्रमा प्रभुत्व जमाउन गरेको प्रतिस्पर्धाले एनभिडियाको उच्च-स्तरीय प्रोसेसरको माग अकासिएको छ । यही कारण कम्पनीको बजार मूल्य बढेको हो ।
हाल वाल स्ट्रिटमा ३७ खर्ब डलरसहित माइक्रोसफ्ट दोस्रो र ३१.९ खर्ब डलरसहित एप्पल तेस्रो सबैभन्दा मूल्यवान कम्पनीका रूपमा रहेका छन् ।

पछिल्लो चार वर्षमा एनभिडियाको बजार मूल्य लगभग आठ गुणाले बढेको छ । सन् २०२१ मा ५ खर्ब डलर रहेको कम्पनीको मूल्य अहिले ४० खर्ब डलर नजिक पुगेको छ । एलएसईजीको तथ्यांकअनुसार एनभिडियाको हालको मूल्य क्यानडा र मेक्सिकोको समग्र शेयर बजारको कुल मूल्यभन्दा बढी हो । साथै, यो बेलायतमा सूचीकृत सबै कम्पनीहरूको कुल मूल्यभन्दा पनि धेरै छ ।
“कुनै कम्पनी पहिलो पटक एक ट्रिलियन डलर पार गर्दा नै अचम्म लागेको थियो । अहिले हामी चार ट्रिलियनको कुरा गर्दैछौं, जुन अविश्वसनीय छ । यसले एआईमा कति ठुलो लगानीको दौड छ भन्ने देखाउँछ,” थेमिस ट्रेडिङका सह-प्रबन्धक जो सालुजीले भने ।
एनभिडियाको यो वृद्धिले अमेरिकी शेयर बजारको मुख्य इन्डेक्स एस एन्ड पी ५०० मा पनि ठुलो प्रभाव पारेको छ । हाल एनभिडिया एक्लैको हिस्सा उक्त इन्डेक्समा ७ प्रतिशत छ भने एनभिडिया, माइक्रोसफ्ट, एप्पल, अमेजन र अल्फाबेट गरी पाँच कम्पनीको कुल हिस्सा २८ प्रतिशत पुगेको छ ।
पछिल्लो अध्यावधिक: असार २०, २०८२ ११:५
सामाग्री श्रोत :
टेक पाना