२०८१ चैत्र २८ बिहीबार
२०८१ चैत्र २८ बिहीबार

के हो चिपफेक प्रविधि, अनि डिजिटल दुनियाँलाई कसरी बनाउँदैछ कुरूप ?

काठमाडौं । हालै प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमा एक अनौठो भिडिओ भाइरल बन्यो । उक्त भिडिओमा प्रधानमन्त्री ओली सुँगुर चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको देखिन्छ । भिडिओमा प्रधानमन्त्रीको वास्तविक फोटो र चलायमान सुँगुरको भिडिओलाई मिलाएर बनाइएको देखिन्छ । भिडिओमा प्रयोग गरिएको टेक्स्ट र आवाजले पनि भ्रम सिर्जना गर्ने खालको प्रस्तुति दिएको छ । यसरी बनाइएको भिडिओलाई ‘चिपफेक’ Cheapfake)’ भनिन्छ ।

के हो चिपफेक ?

चिपफेक भनेको सस्तो प्रविधि र सामान्य एडिटिङ टुलहरू प्रयोग गरी बनाइएको बनावटी भिडिओ वा सामग्री हो । कसैको अभिव्यक्ति, गतिविधि वा घटना झूठो ढंगले प्रस्तुत गर्न यस्तो सामग्री तयार पारिन्छ । डिपफेकजस्तो जटिल एआई प्रविधि नभई चिपफेकमा सामान्य फोटोशप, भिडिओ कट-पेस्ट, अडिओ मिक्सिङ, टेक्स्ट ओभरले, स्पीड मोडिफिकेसन जस्ता सजिला तरिकाले सामग्री परिवर्तन गरिन्छ ।

किन बनाइन्छ ?

चिपफेक सामग्री बनाउनुका पछाडि विभिन्न उद्देश्य हुन सक्छन् । अचेल यस्ता भिडिओहरू राजनीतिक उद्देश्य प्रेरित भएर तयार हुन थालेका छन् । कुनै नेताको छवि बिगार्न, उनीप्रति जनतामा घृणा र अविश्वास फैलाउन चिपफेक सामग्री एक किसिमको हतियारको रूपमा प्रयोग हुन थालेको छ । हालै प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणसँग जोडिएको चिपफेक भिडिओ राजनीतिक नियतले प्रेरित सामग्री हो भन्ने बुझ्न सकिन्छ ।

सामाजिक मनोरञ्जनको नाममा पनि चिपफेक बनाइने क्रम बढेको छ । व्यङ्ग्य, ट्रोल वा रमाइलोका लागि बनाइने यस्ता भिडिओले कहिलेकाहीँ हँसाउने प्रयास गर्छन् । तर त्यसले कुनै व्यक्तिको सम्मानमा आँच पुर्‍याउने खतरा पनि बोकिरहेको हुन्छ । सामाजिक सञ्जालमा लाइक, शेयर र भ्युजको प्रतिस्पर्धामा यस्ता सामग्री धेरै तयार हुने गर्छन् ।

चिपफेक निर्माणको अर्को उद्देश्य दुष्प्रचार फैलाउनु हो । गलत सूचना तथा भ्रमपूर्ण सन्देशमार्फत समाजमा द्वेष, आक्रोश वा आस्था कमजोर पार्ने खालका चिपफेक भिडिओहरू बनाइन्छन् । यस्ता सामग्रीले जनमानसमा अनावश्यक डर, तनाव वा असन्तोष फैलाउने कार्य गर्छन् ।

पछिल्लो समय धार्मिक आस्थामाथि प्रहार गर्ने उद्देश्यले पनि चिपफेक भिडिओ निर्माण भइरहेको देखिन्छ । मठमन्दिरका देवतालाई हिँडेको वा नाचेको देखाउने भिडिओहरू यसका उदाहरण हुन् । यस्ता सामग्रीले धार्मिक आस्थामाथि चोट पुर्‍याउने र सामाजिक सद्भावमा असर पार्ने सम्भावना रहन्छ ।

चिपफेक सामग्री निर्माण गर्न अहिलेका सामान्य व्यक्ति वा साना क्रिएटरलाई पनि सहज पहुँच हुने धेरै टुल/एप उपलब्ध छन् । क्यापकट, काइनमास्टर, इनशट जस्ता भिडिओ एडिटिङ एप चिपफेक बनाउन प्रयोग भइरहेका छन् । यसमार्फत प्रयोगकर्ताले भिडिओ काट्ने, छाँटकाँट गर्ने, विभिन्न भागहरू मिलाउने, आवाज थप्ने जस्ता कार्य सजिलै गर्न सक्छन् । 

अनुहार फेरबदल गर्नका लागि ‘फेसस्वाप’ भन्ने प्रविधिको दुरुपयोग भइरहेको छ । यसमार्फत एउटै व्यक्तिको अनुहार अर्कै व्यक्तिको शरीरमा राखेर भिडिओ वा फोटो तयार पार्न सकिन्छ । यस्तै, ‘क्रेजीटक’ र ‘मग लाइफ’ जस्ता एपले स्थिर फोटोमा पनि हाउभाउ, अनुहारको हाउभाउ तथा बोल्ने शैली जस्ता इफेक्टहरू राख्न सक्ने सुविधा दिन्छन् ।

त्यसैगरी, आवाज नक्कल गर्नका लागि विभिन्न टेक्स्ट टु स्पिच टुलहरूको प्रयोग हुन थालेको छ । यस्ता टुलले सामान्य लेखिएको टेक्स्टलाई मानिसको जस्तै आवाजमा रूपान्तरण गर्न सक्छन् । स्थिर फोटोमा चलायमानता दिन  एआई  मोसन टुलहरू प्रयोग गरिन्छ । यस्ता एपहरूले मानिस नचलिरहेको तस्बिरमा आँखा झिम्क्याउने, टाउको हल्लाउने, गीत गाउनेजस्ता चालहरू थपेर त्यो तस्बिरलाई वास्तविकजस्तो बनाइदिन्छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको प्रधानमन्त्री केपी शर्मा ओलीको चिपफेक भिडिओमा थाइल्यान्ड भ्रमणका क्रममा खिचिएको वास्तविक फोटो प्रयोग गरिएको देखिन्छ । सोही फोटोको एक अंशमा प्रधानमन्त्रीले हात हल्लाइरहेको गतिविधि देखाइएको छ, जुन सामान्य औपचारिक अभिवादन हो । तर यस फोटोसँग सुँगुरको भिडिओ मिसाएर भ्रम सिर्जना गर्ने प्रयास गरिएको छ । भिडिओमा देखिएको दृश्यअनुसार, प्रधानमन्त्री सुँगुरमा चढेर नेपाल फर्किएको जस्तो बनाइएको छ ।

यस्तो भिडियोमा प्रयोग गरिएका टेक्स्ट र आवाजहरू अश्लील तथा अपमानजनक छन्, जुन सार्वजनिक रूपमा प्रयोग गर्न उपयुक्त ठहरिँदैनन् । यस भिडिओलाई केही व्यक्तिले रमाइलो वा व्यङ्ग्यको रूपमा व्याख्या गरिरहेका छन् । तर राजनीतिक पदधारीको गरिमा र मुलुकको छवि माथि यसले प्रत्यक्ष प्रभाव पार्न सक्छ । 

चिपफेक र डिपफेकबिचको भिन्नता

चिपफेक र डिपफेक दुवै प्रविधि विशेषगरी दृश्य सामग्रीलाई परिवर्तन गरेर वास्तविकताको उल्टो बनाउने उद्देश्यले प्रयोग गरिन्छन् । तर यी दुईबिच महत्वपूर्ण भिन्नता छन् । चिपफेक बनाउने प्रक्रिया तुलनात्मक रूपमा धेरै सजिलो हुन्छ । यसमा  क्यापकट, काइनमास्टर, इनशट जस्ता सामान्य भिडिओ एडिटिङ एप टुल प्रयोग गरिन्छन् । फोटो जोड्ने, गति परिवर्तन गर्ने वा आवाज मिलाउनेजस्ता साधारण तरिकाबाट चिपफेक सामग्री तयार पारिन्छ ।

तर डिपफेक चाहिँ अधिक जटिल र प्रविधिमैत्री हुन्छ । यसमा एआई र डिप लर्निङ प्रविधिको प्रयोग गरिन्छ । अनुहार परिवर्तन गर्ने, आवाज क्लोन गर्ने वा वास्तविक दृश्य जस्तै देखिने नयाँ भिडिओ बनाउने क्षमताले डिपफेकलाई अझ खतरनाक बनाउँछ । यसको जोखिम चिपफेकभन्दा गहिरो हुन्छ । किनभने यसले गम्भीर भ्रम, दुष्प्रचार र गलत सूचनाको व्यापक प्रभाव पार्न सक्छ । दुवै प्रविधिको असर छुट्टाछुट्टै भए पनि डिजिटल सूचनाको विश्वसनीयतामाथि प्रश्न उठाउनेगरी यी प्रविधिले खतरा निम्त्याएका छन् ।

 









पक्षहरू

चिपफेक

डिपफेक

प्रविधि

सामान्य एडिटिङ टुल

एआई र डिप लर्निङ

निर्माण

सजिलो

जटिल र समय लाग्ने

उदाहरण

फोटो जोड्ने, गति परिवर्तन, आवाज मिलाउने

अनुहार फेर्ने, आवाज क्लोन गर्ने, पूरै नयाँ भिडिओ बनाउने

जोखिम

सामान्य भ्रम सिर्जना

गम्भीर भ्रम र दुष्प्रचार, व्यक्तिको प्रतिष्ठामा गम्भीर आँच

 

पछिल्लो अध्यावधिक: चैत २५, २०८१ १०:२७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट