२०८२ आश्विन २८ मंगलवार
२०८२ आश्विन २८ मंगलवार

भक्तपुर- भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटमा सोमबार सम्पन्न उपत्यका मेयर्स फोरमको ११औँ बैठकले आगामी वैशाख १ गतेदेखि चाँगुनारायण नगरपालिकाले आयोजना गर्न लागेको ‘नगरकोट भ्रमण वर्ष’ सफल पार्ने निर्णय गरेको छ ।

चाँगुनारायण नगरपालिकाको आयोजनामा नगरकोटमा सम्पन्न उपत्यका मेयर्स फोरमको बैठकमा सहभागी बागमती प्रदेशका मुख्यमन्त्री, प्रदेश मन्त्रीहरू, नगर प्रमुखहरू, उपप्रमुखहरूलगायत जनप्रतिनिधिहरूको बैठकले तीनै तहका सरकारले भ्रमण वर्ष सफल पार्न सहयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नगरकोट भ्रमण वर्ष सफल बनाउन प्रदेश सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। उपत्यका मेयर्स फोरमसँग सहकार्य गर्दैै अगाडि बढ्न तयार रहेको भन्दै उनले त्यसका लागि नियमित छलफल आवश्यक रहेकामा जोड दिए ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले स्थानीय तह र प्रदेश सरकारबीच सहकार्य भए धेरै क्षेत्रमा अगाडि बढ्न सकिने औंल्याए । उनले सहकार्य र समन्वयका आधारमा भ्रमण वर्ष सफल बनाउनुपर्नेमा जोड दिए।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले पर्यटकीय नगरी नगरकोटको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गर्न लागिएको नगरकोट भ्रमण वर्ष सफल पार्न प्रदेश सरकारको सहयोग रहने बताए। उनले पर्यद्धन प्रवर्द्धनका माध्यमबाट नागरिकको जीवनस्तर सुधार गर्नुका साथै समृद्ध मुलुक निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

काठमाडौँ उपत्यकामा सञ्चालित सवारीसाधनको धुवाँ प्रदूषण परीक्षण प्रविधि कार्यान्वयनमा ल्याउने, उपत्यकाका अस्पाललजन्य फोहरमैला व्यवस्थापन गर्नेलगायत निर्णय बैठकले गरेको छ ।

प्रदेश सरकार र स्थानीय तहबीच वित्तीय हस्तान्तरण, राजस्व बाँडफाट र अन्तरतह समन्वयसम्बन्धी विषयमा छलफल गर्नुका साथै स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारबीचको आपसी सहकार्य, समन्वय गर्दै अगाडि बढ्नेबारे सहमति भएको थियो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पर्यटकीय क्षेत्र नगरकोटलाई मेयर्स फोरमका माध्यमबाट चिनाउने अवसर पाएको चर्चा गर्दै समग्र नगरपालिकाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरकोट भ्रमण वर्ष मनाउन लागिरहेको जानकारी दिए। उनले मेयर्स फोरमलगायत प्रदेश सरकारलाई निमन्त्रणा दिँदै भ्रमण वर्ष सफल पार्न सहयोगी भूमिका निर्वाह गरिदिन आग्रह गरे ।

चाँगुनारायणका उपप्रमुख रमेश बुढाथोकीले नगरकोट भ्रमण वर्ष चाँगुनारायणको मात्रै नभइ बागमती प्रदेशका साथै मुलुकको पहिचान र पर्यटकीय गन्तव्य भएकाले स्वदेशी तथा विदेशी पर्यटकलाई नगरकोटको बसाई लम्ब्याउन पर्यटन वर्ष सफल हुने विश्वास व्यक्त गरे ।


श्रोत : deshsanchar.com

काठमाडौं । भारतको ओडिसा स्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु भएको छ।

उनले आफूलाई मानसिक यातना दिँदै आएका सहपाठी अद्विक श्रीवास्तव विरुद्ध कलेज प्रशासनमा दुई पटक लिखित उजुरी दिए पनि कुनै कारबाही नभएपछि प्राण त्यागेको खुल्न आएको छ । कुनै समय निकट रहँदाका तस्बिर र भिडियोहरुलाई भाइरल गराउँने भन्दै उनले ब्ल्याक मेलिङ गर्ने गरेको प्रकृतीको उजुरीमा उल्लेख छ ।

आरोपीले धम्की दिँदै आएपछि प्रकृतिले आत्महत्या गरेकी हुन्। घटनापछि नेपाली विद्यार्थीहरुले कलेज प्रशासनको लापरबाही र दमनको विरोध गर्दै प्रदर्शन गरेका छन्। आरोपी श्रीवास्तवलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। नेपाली दूतावासले पनि घटनामा चासो देखाएको छ। बाँकी सबै भिडियोमा छ ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार


श्रोत : www.janaboli.com

झापा। नेपाल सरकारले मिर्गौला रोगीका लागि हेमोडायलायसिस सेवा निःशुल्क दिन थालेपछि धेरै बिरामी लाभान्वित भएका छन्।

झापाको भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा दैनिक ६० जना बिरामीले निःशुल्क सेवा पाइरहेका अस्पतालका प्रशासन प्रमुख मनोज दाहालले जानकारी दिए। सरकारले सञ्चालन गरेको विपन्न नागरिक उपचार कोषमार्फत मिर्गौलाका बिरामीले अस्पतालबाट निःशुल्क सेवा पाइरहेका छन्। ‘बिरामीले कुनै शुल्क तिर्नुपर्दैन। एक जनाको एकपटक डायलायसिस गरेबापत नेपाल सरकारले अस्पताललाई कोषमार्फत रु दुई हजार पाँच सय उपलब्ध गराउँछ। यसबाट विपन्न नागरिकहरू निकै लाभान्वित भइरहेका छन्’, दाहालले भने।

दुवै मिर्गौलाले काम नगरेको अवस्थामा शरीरको रगत शुद्धीकरणका लागि चिकित्सकको सिफारिसमा बिरामीको हेमोडायलायसिस गराउनुपर्ने हुन्छ। झापामा यो सेवा उपलब्ध गराउने ओमसाई पहिलो र सबैभन्दा बढी क्षमताको अस्पताल हो। हाल सेवा दिने अरु पाँचवटा स्वास्थ्य संस्था थपिएका छन्।

ओमसाई पाथिभरा अस्पतालमा हेमोडायलायसिसका लागि २१ वटा मेसिन सञ्चालनमा छन्। एक जना बिरामीलाई सेवा दिन चार घण्टाको समय लाग्ने र दैनिक तीन सिफ्टमा औसत ६० जनाले सेवा पाइरहेको दाहालले बताए। अस्पतालबाट हाल एक सय ६७ जनाले नियमित डायलायसिस सेवा लिइरहेका छन्। सरकारको स्वास्थ्य बिमामा आबद्ध नरहेका बिरामीले समेत पालिकाको सिफारिसमा सेवा प्राप्त गर्ने अस्पतालले जनाएको छ।

मिर्गौलाका बिरामीको उपचारमा सरकारले निःशुल्क डायलायसिस सेवा दिएर नागरिकको प्राण बचाइरहेको भद्रपुर नगरपालिका–७ लेखनाथ चोकका ७० वर्षीय मनोरञ्जन न्यौपानेले बताए।

उनले विगत १० वर्षदेखि नियमित रूपमा हेमोडायलायसिस सेवा लिइरहेको बताए। ‘हप्ताको तीनपटक डायलायसिस गर्नु परिरहेको छ’, उनले भने, ‘अस्पताल र सरकारले दिएको निःशुल्क सेवा सुविधाप्रति आभारी छु।’

मेचीनगर–७ की सीता निरौलाले आफ्ना पति विष्णुप्रसाद निरौलाको डायलायसिस गराउन साताको दुईपटक अस्पताल धाउनुपरेको बताइन्। सरकारले डायलायसिस निःशुल्क गरिदिएता पनि घरबाट अस्पताल ओहोरदोहोर गर्न एम्बुलेन्स सुविधा नदिएकामा केही समस्या भने रहेको उनले बताइन्।

‘माथिको सरकारले डायलायसिस निःशुल्क गरिदियो, स्थानीय सरकार (पालिका) ले एम्बुलेन्स सुविधा निःशुल्क गरिदिए बिरामीलाई सहज हुन्थ्यो’, उनले भने।

कोशी प्रदेशकै सबैभन्दा ठूलो डायलायसिस उपचार थलोका रूपमा परिचित ओमसाई पाथिभरा अस्पतालमा १८ देखि ८२ वर्षसम्मका बिरामीले नियमित रूपमा सेवा लिइरहेका छन्। फिस्टुला राख्ने सुविधासमेत स्वास्थ्य बिमामार्फत दिने हुँदा उक्त अस्पतालमा मिर्गौला डायलायसिस गराउन आउने बिरामीको सङ्ख्या बढिरहेको छ।


श्रोत : www.dcnepal.com

पाटन (बैतडी) – बैतडीको सिगास गाउँपालिका–९ जालहाल्लाका ४१ वर्षीय दीपक चन्दका साथीहरु रोजगारीको खोजीमा भारततिर छन्। गाउँका अधिकांश युवा तेस्रो मुलुक छन्। दीपक भने गाउँमै बाख्रापालन व्यवसायमा छन्। उनलाई बाख्रापालन व्यवसायले घरायसीसहित छोराछोरीको पढाइ खर्च व्यवस्थापन गर्न कुनै समस्या छैन।

“मलाई पनि बाहिर जाने सोच नआएको भने होइन, तर गाउँमै केही गर्नुपर्छ भन्ने लागेर व्यावसायिक रुपमा बाख्रा पाल्न थाले”, उनले भने, “मेहनतअनुसारको आम्दानी पनि राम्रै भइरहेको छ।” विगत छ वर्षदेखि व्यावसायिक बाख्रापालन गरीरहेका दीपकको फार्ममा अहिले स्थानीय र बोयर क्रस जातका गरि ७० बढी बाख्रा छन्। तिमध्ये ४७ माउ, आठ खसी र बाँकी पाठापाठी छन्। उनीहरुका लागि व्यवस्थित खोर पनि निर्माण गरिएका छन्।

“चार वर्ष रोजगारीका लागि भारत गए, सेक्युरेटी गार्डको काम थियो, तलब तीन हजार ५०० भारु मात्रै थियो, त्यहाँ श्रमको उचित मूल्याङ्कन नभएको महसुस हुन्थ्यो, अहिले गाउँमै बाख्रा फार्म दर्ता गरेर व्यावसायिक रुपमा अघि बढे”, उनले भने, “अहिले वार्षिक रु छ लाखसम्म आम्दानी हुन्छ।”

बाख्रापालन व्यवसाय पहिले पनि गर्दै आएको भए पनि २०७५ मा उदयदेव कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर व्यावसायिक रुपमा अघि बढेको उनले जानकारी दिए। “दुई हप्ताअघि मात्रै खसी र माउ गरी ४० जति बिक्री ग¥यौँ, ग्राहक खोज्न पनि कुनै समस्या छैन, अधिकांश व्यवसायी घरसम्मै खरिद गर्न आइपुग्छन्”, उहाँकी श्रीमती नरेन्द्रा चन्दले भने, “चरनको समेत त्यस्तो समस्या छैन, व्यवसायबाट सन्तुष्ट छौँ।”

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनबाट बाख्रामा लाग्ने पिपिआर रोग नियन्त्रणका लागि खोप तथा व्यवसाय प्रवद्र्धनका लागि आवश्यक प्राविधिक सहयोग प्राप्त हुँदै आएको चन्द दम्पतीको भनाइ छ। उनीहरुले बाख्रापालन व्यवासयबाट राम्रो आम्दानी गर्न थालेपछि गाउँका अन्य व्यक्ति पनि यस पेसातर्फ आकर्षित हुन थालेका छन्।

सोही ठाउँका स्थानीय कृष्ण चन्द पनि बाख्रा दीपकसँग आवश्यक सहयोग लिएर बाख्रा पालन व्यवसायमा लाग्नुभएको छ। आम्दानीको राम्रो सम्भावना भएकाले २०७८ सालदेखि व्यावसायिक रुपमै बाख्रा पाल्न थालेको उनले बताए। “खोर निर्माण गर्दा झन्डै रु चार लाख जति खर्च लाग्यो, स्थानीय र बोयर गरी ४० बाख्रा छन्, आम्दानी पनि ठिकठिकै छ”, उनले भने, “घरायसी खर्चको व्यवस्थापन यसैबाट भइरहेको छ।”

बाख्रामा देखिने अज्ञात रोगले भने सताउने गरेको उनले बताए। “गत वर्ष मात्रै २० बाख्रा बिरामी परेर मरे, केही घाटा बेहोर्नु पर्यो, चुनौती यही छ”, कृष्णले भने। यो आर्थिक वर्षमा बाख्रापालन व्यवसाय गरिरहेका किसानका लागि बाख्रा मोडेल फार्म कार्यक्रम कार्यान्वयनको चरणमा रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्रका प्रमुख गुमानी पन्तले जानकारी दिनुभयो। सो कार्यक्रमका लागि आवेदन माग गरेको तथा छनोटको प्रक्रियामा रहेको उनले बताए।


श्रोत : deshsanchar.com

देउखुरी (दाङ)। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमाले नेतृत्वमा मात्रै दाङको समृद्धि सम्भव हुने बताएका छन्। एमाले दाङले घोराहीमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले एमाले सरकार बनेपछि लामो समयदेखि रोकिएका विकास योजनाहरू कार्यान्वयन हुन थालेको उल्लेख गरे।

‘घोराही–तुलसीपुर चारलेन सडकको निर्माणकार्य पुनः थालनी भएको छ भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको पठनपाठन सुरु भइसकेको छ। टरिगाउँ विमानस्थलको स्रोत सुनिश्चित गर्न सरकारलाई आवश्यक पहल गर्न आग्रह गरिएको छ’, महासचिव पोखरेलले भने, ‘यसले दाङको भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र यातायात क्षेत्रमा महत्वपूर्ण परिवर्तन आउने विश्वास छ।’

सरकारले भूमि समस्या समाधान र अन्य दीर्घकालीन महत्व राख्ने छ वटा अध्यादेश ल्याएको र यी संसद्बाट पारित भएरै छाड्ने उनले दाबी गरे। अन्य प्रक्रिया अपनाउँदा कानुन बनाउन ढिलाइ हुने भएकाले अध्यादेश ल्याउनुपरेको जिकिर गर्दै महासचिव पोखरेलले ती अध्यादेशहरू संसद् छल्न नभई जनताका लागि प्रभावकारी नीति कार्यान्वयन गर्न ल्याइएका बताए।


श्रोत : www.dcnepal.com

काठमाडौं । नेपालले किर्गिस्तानलाई १–० ले हराउँदै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा जित हासिल गरेको छ । विमला चौधरीले १०औं मिनेटमा गरेको गोलले नेपाललाई अग्रता दिलाएको थियो । तर, फिनिसिङमा कमजोर प्रदर्शनले थप गोल हुन सकेन।

किर्गिस्तानले डिफेन्समा मजबुत प्रदर्शन गर्यो। यो संघर्षपूर्ण जित देख्दा नेपालले बाँकी खेलमा मिहिनेत गर्नुपर्ने चुनौती देखिएको छ । यो प्रतियोगिता नेपाल, म्यानमार, किर्गिस्तान र लेबनान सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार


श्रोत : www.janaboli.com

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी संयुक्त अधिराज्य, क्यानाडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ३ का दिनेश अधिकारीले एक युवकलाई संयुक्त अधिराज्य पठाउने भनेर ३२ लाख ५७ हजार ठगेको उजुरी परेपछि निजलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी जनाएको छ।

यसैगरी, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ७ का ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ४ काफ्लेचोकका ३९ वर्षीय दिनेश प्रसाद अधिकारीले क्यानाडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै १४ जना पीडितबाट ७१ लाख ७० हजार लिएर सम्पर्कविहीन भएको पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई गत बुधबार पक्राउ गरेको हो।

 

श्रोत : sajhasabal.com

काठमाडौं। ‘नेपाल प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ।

विधेयक सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दै सभामुख देवराज घिमिरेले विधेयकमाथि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ११२ बमोजिम संशोधन पेस गर्न चाहने सांसदलाई संघीय संसद् सचिवालय सिंहदरबारमा पेस गर्नसक्ने जानकारी दिए।

सो विधेयकमाथिको सामान्य छलफलका क्रममा आज ६७ जना सांसदले आ-आफ्नो धारणा राखेका थिए। गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभासमक्ष पेस गरेका थिए। मन्त्री लेखकले विधेयकमाथि उठेका प्रश्नको जवाफ दिएका थिए।


श्रोत : www.dcnepal.com

काठमाडौँ – घरेलु मैदानमा सुरु भएको चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले किर्गिस्तानलाई १-० ले पराजित गरेको छ।

तुलानात्मक रुपमा कमजोर प्रतिद्वन्दीका रुपमा हेरिएको किर्गिस्तानले नेपाललाई अनपेक्षित रुपमा संघर्ष गर्न बाध्य बनायो।

फिफा वरियतामा नेपालभन्दा २५ स्थान पछि रहेको किर्गिस्तानविरुद्ध पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्यो। फराकिलो जित निकाल्ने विश्वास गरिएको खेलमा नेपालले सुरुवातमा दबाब बनाएर निरन्तर आक्रमण गरे पनि दोस्रो हाफमा नेपालले सोही लयलाई निरन्तरता दिन सकेन।

दोस्रो हाफको सुरुवातमै सावित्रा भण्डारीलाई मैदानमा प्रवेश गराएर थप गोलको खोजी गरेको नेपाल पूर्ण रुपमा असफल भयो। आज मात्रै फ्रान्सबाट लामो यात्रा गरेर नेपाल आइपुगेकी सावित्राले केही सीमित प्रयास गरे पनि उनी सफल हुन सकिनन्।

दोस्रो हाफमा केही आक्रमणहरु भएका थिए तर गोलमा परिणत गर्न भने असफल रह्यो। नेपाली खेलाडीहरुको तालमेलमा कमजोरी देखिँदा किर्गिस्तानले दोस्रो हाफमा नेपाललाई गोलविहीन बनाएरै रोक्न सफल भयो।

खेलमा नेपाललाई ११ औँ मिनेटमा विंगर विमला चौधरीले हेडमार्फत अग्रता दिलाएकी थिइन्। उनले सविताको आकर्षक क्रसमा सिक्स यार्डबाट हेडमार्फत गोल गर्न सफल भइन्। उक्त गोल नै निर्णायक बन्यो।

त्यसअघि पहिलो हाफमै अग्रता दोब्बर बनाउने मौका नेपालले गुमायो। पहिलो हाफको इन्जुरी समयमा एकपछि अर्को प्रहार क्रसबारमा लाग्दा नेपाल एक गोलमै सीमित बन्यो।

दोस्रो हाफमा नेपाल थप निरासाजनक प्रदर्शनको सिकार हुँदा पहिलो खेलमा जित हासिल त गर्‍यो तर फाइनल जित्ने लक्ष्य लिएको नेपालको तालमेलमा पूर्णतया कमजोरी देखियो।

Source link

काठमाडौं। भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको छ।

दूतावासले सो इन्स्टिच्युटमा विकसित घटनाक्रमका सम्बन्धमा उक्त शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालिएको सूचनाप्राप्त हुनासाथ संस्थाका रजिष्ट्रारलगायत प्रतिनिधिसँग छलफल गर्दै सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको दूतावासले जनाएको छ।

उक्त संस्थामा रहेका नेपाली विद्यार्थीहरूको कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउनसमेत दूतावासले अनुरोध गरेको छ। “यस राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीलाई छात्रावासमा बस्ने व्यवस्था मिलाइ कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी गराएको छ”, दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

साथै, उक्त शैक्षिक संस्थाकी विद्यार्थी प्रकृति लम्सालको मृत्यु सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धानको विषयलाई संस्थाले गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको छ।

“यस घटनाका सम्बन्धमा राजदूतावासले नेपाली विद्यार्थीलगायत भारतको केन्द्रीय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायसँग निरन्तर सम्पर्क गरिरहेको र उक्त निकायबाट आवश्यक सहयोग एवं समन्वय भइरहेको छ। प्रभावित नेपाली विद्यार्थी एवं अभिभावकले केही समस्या भएमा राजदूतावाससँग सम्पर्क राख्न सक्नुहुनेछ”, विज्ञप्तिमा भनिएको छ।

श्रोत:dcnepal.com

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।