काठमाडौँ । इन्स्टाग्रामले बालबालिकालाई प्राथमिकता दिएर सञ्चालन गरिएका अकाउन्टहरूका लागि नयाँ सुरक्षाका उपायहरु अबलम्बन गर्ने भएको छ । मेटाले बुधबार घोषणा गरेअनुसार वयस्कहरूद्वारा प्रयोग गरिएका तर बालबालिकाका सामग्री राख्ने अकाउन्टहरू अब थप सुरक्षित हुनेछन् ।

यस्ता अकाउन्टहरूमा अब इन्स्टाग्रामको सबैभन्दा कडा सुरक्षा उपायहरु सेटिङमा स्वतः राखिनेछ । यस्तो फिचरले अपरिचित व्यक्तिबाट आउने अनावश्यक मेसेजहरू रोकिने मेटाले जनाएको छ । यस्ता अकाउन्टहरूमा हिडन वर्ड्स; (Hidden Words) सुविधा पनि स्वतः अन हुनेछ, जसले आपत्तिजनक शब्द भएका कमेन्टहरूलाई फिल्टर गर्नेछ ।
कम्पनीले किशोरकिशोरीका लागि पनि नयाँ सुरक्षा सुविधाहरू विस्तार गरिरहेको जनाएको छ । बालबालिकाका तस्बिर र भिडिओ नियमित रूपमा शेयर गर्ने वयस्कहरूले चलाएका अकाउन्टहरूलाई यो नयाँ कडा सुरक्षा सेटिङमा राखिनेछ ।
मेटाले किशोरकिशोरी प्रयोगकर्ताहरूका लागि ‘टिन अकाउन्ट’ (Teen Account) नामक नयाँ परीक्षण पनि सुरु गरेको छ । यसअन्तर्गत १६ वर्षमुनिका प्रयोगकर्ताहरूले आफ्ना सुरक्षा सेटिङहरू परिवर्तन गर्न अभिभावकको अनुमति लिनुपर्नेछ । यी अकाउन्टहरूबाट कसकसलाई मेसेज पठाउन मिल्छ र कस्ता सामग्री हेर्न मिल्छ भन्ने कुरामा पनि सीमितता तोकिएको छ ।

सबै किशोरकिशोरीका अकाउन्टहरूलाई स्वतः प्राइभेट बनाइनेछ राति नोटिफिकेसन नआउने गरी ‘स्लिप मोड’ मा राखिने मेटाले जनाएको छ । यदि कुनै प्रयोगकर्ताले आफ्नो उमेर बढाएर यी नियमहरूबाट बच्न खोजे इन्स्टाग्रामले एआईको सहायताले पत्ता लगाउने र अकाउन्टलाई थप प्रतिबन्धित बनाउने बताएको छ ।
यी नयाँ फिचरहरु आगामी ६० दिनभित्र अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियामा लागु हुने मेटाले जनाएको छ । बालबालिकाको अनलाइन सुरक्षाका लागि सामाजिक सञ्जालमाथि चौतर्फी दबाब बढिरहेको बेला इन्स्टाग्रामले यी नयाँ सुरक्षाहरू ल्याएको हो ।
टेकक्रन्चको सहयोगमा
पछिल्लो अध्यावधिक: साउन ८, २०८२ ७:४८
सामाग्री श्रोत :
टेक पाना